Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

विश्वविद्यालयमा

शनिबार, ०३ असार २०७४

- भोजपुर दिङ्लाका सविन लम्साल कविताबाहेक गजल, निबन्ध र नाटक पनि लेख्छन् । विश्वविद्यालयको शिक्षा प्रणाली, त्यहाँ लुकेर बसेका विकृति र विसंगतिमाथि थप्पड हानेको लम्सालको प्रस्तुत विश्वविद्यालयमा कविता यो साताको शिक्षा साहित्यमा :

प्राध्यापकहरु
शिवलिंगमा जल चढाएर
बुटी बाँधेर घाँटीमा नन्दीमा चढेर आउँछन् ।
र, ताण्डब नृत्य सिकाउँछन्
अनि
विद्यार्थीहरु जगाएर धुनी
हातमा लिएर गाण्डिव
गाईजात्रा देखाउँछन्, यो विश्वविद्यालयमा ।

डाक्टरहरु बेद, पुराण र श्राद्ध गर्ने ठेली बोरामा कोचेर आउँछन् ।
कक्षाकोठामा जप्छन्, बेदका मन्त्र
सुनाउँछन् गरुड पुराण
गर्छन् श्राद्ध गुरुको
र, जान्छन् ।
अनि विद्यार्थीहरु रट्छन्, वेदका मन्त्र
सुन्छन् गरुडको कथा र दिन्छन् पिण्ड आफ्नै गुरुलाई ।
उहिलेदेखि अहिलेसम्म यस्तै यस्तै परम्परा चलिरहेको छ यो विश्वविद्यालयमा ।

उता प्रयोगशालामा दुलो पारेर काकाको मुटु
काकीको पाठेघरमा राखेर कैंची
धमाधम उत्पादन हुँदैछन् डाक्टर भतिजा र भतिजीहरु
आमा र दिदीको कम्मर र बदन हातैले नापेर
इञ्जिनियर बन्दैछन् भाइ
अँध्यारो कोठामा नापेर प्राध्यापकहरुको
रक्तचाप र शरीरको ताप नापेर
रातारात नर्स बन्दैछन् बहिनीहरु यो विश्वविद्यालयमा ।

आगो सल्केर दढेलो बन्यो रे
मेरो नशानशामा फैलिरहेको छ
भकभकी उम्लिरहेको तातो रातो रगतको वाफ
मेरा  कानबाट पटपटी निस्किरहेछ ।
मेरा विचार, आदर्श र उद्देश्य पाकेर
फिलिट्ट भैसके ।
फेरि पनि
प्राध्यापकहरु आएर अगुल्टो ठोस्छन् र जान्छन् ।

भूइँचालो बनेर हल्लाउन सकेको छैन
ज्वालामुखी बनेर विस्फोट हुन सकिरहेको छैन
बम बनेर पड्किन सकिरहेको छैन
चट्यांङ बनेर चड्किन सकिरहेको छैन ।
गुम्सिरहेको छु
पिल्सिरहेको छु
म पाकिरहेको छु भित्रभित्रै यो विश्वविद्यालयमा ।

प्रतिक्रिया