Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

विद्यार्थीलाई बहुखतरा जोखिम न्यूनीकरणबारे जानकारी

सोमबार, ०५ असार २०७४

भक्तपुर – स्कुले विद्यार्थीलाई बहुखतरा जोखिम न्यूनीकरण गर्नेबारे अभिमुखीकरण गरेको छ । उत्थानशील नगर प्रवद्र्धन र सहभागिता (स्योर) कार्यक्रम सञ्चालन भएका भक्तपुर र मध्यपुर थिमी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो बारेमा अभिमुखीकरण गरिएको हो ।

कुनै पनि विपत्विरूद्धको प्रतिकार्यमा समुदायको क्षमता अभिवृद्धि गर्दै समयमै र प्रभावकारी रूपमा उद्धार तथा राहत सेवा प्रदान गर्न सक्षम बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले दुई नगरपालिकामा सञ्चालित स्योर कार्यक्रमअन्तर्गत    भक्तपुर नपा ५ स्थित आदर्श आजाद उच्च मावि र मध्यपुर थिमी नपा २ स्थित आदर्श माविमा भएको उक्त कार्यक्रममा प्रकोप र विपद्, विपद् व्यवस्थापन चक्र, विद्यालयको विपद् पूर्वतयारी योजना र विद्यालय सुरक्षा योजनालगायतका विषयमा जानकारी दिइएको थियो ।

अभिमुखीकरणमा  रेडक्रसका वरिष्ठ कार्यक्रम सहायक उद्धवप्रसाद नेपाल, प्रशिक्षक प्रविणा सुजखू, रञ्जना थापालगायतले सहजीकरण गरेका थिए । नगरपालिका तथा समुदायको विपद् उत्थानशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यका दुई नपाका ४० वटा विद्यालयमा उक्त अभिमुखीकरण हुने कार्यक्रम संयोजक दिनेश थापाले जानकारी दिए ।

‘कार्यक्रमअन्तर्गत भक्तपुर र मध्यपुर थिमी नपाका सम्पूर्ण वडासँगै ४० वटा स्कुलमा अभिमुखीकरण गरिनेछ’, उनले भने, ‘नगरको बहुखतरा जोखिम न्यूनीकरण गर्ने कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रम सञ्चालनपश्चात जनसमुदाय र स्थानीय निकायले विपत्को समयमा स्वयम् सेवा प्रदान गर्न सक्षम हुने उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाका अनुसार कार्यक्रमअन्तर्गत नगरको विपत् व्यवस्थापनमा नगरका वडास्तरमा गठित विपत् व्यवस्थापन समिति, नगरपालिकाका कर्मचारी र प्राविधिकहरू, नागरिक समाज, राजनीतिक दल, गैससका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिनेछ ।

ब्रिटिस रेडक्रसको सहयोगमा सेप्टेम्बर २०१६ देखि सञ्चालनमा आएको उक्त कार्यक्रम अगस्ट २०२१ सम्म गरी पाँच वर्षसम्म रहनेछ ।

प्रतिक्रिया