Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

अस्थायीको आमरण अनसनबारे शिक्षक महासँघलाई बल्ल जानकारी !

मंगलबार, ०६ असार २०७४

काठमाडौं - आफूहरुलाई सामान्य प्रकृया पुर्याई स्थायी गर्नु पर्ने लगायतका माग सहित आमरण अनसनमा बसेका अस्थायी शिक्षकको आन्दोलनका बारेमा शिक्षक महासँघले ५ दिन पछि बल्ल जानकारी प्राप्त भएको जनाएको छ । मंगलबार विज्ञप्ति निकालेर महासंघले अस्थायी शिक्षकहरुका मागका बारेमा सार्वजनिक सञ्चार माध्यमबाट जानकारी प्राप्त भएकोले गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।  अस्थायी शिक्षक सङ्घर्ष समितिको अगुवाईमा असार २ गतेदेखि ५ जना अस्थायी शिक्षक भद्रकालीमा आमरण अनशनमा बसेका छन् ।

'अस्थायी शिक्षक साथीहरु आमरण अनसनमा रहनु भएको विषय सार्वजनिक सञ्चार माध्यमबाट जानकारी प्राप्त भई हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ, 'यस सन्दर्भमा अनसनरत अस्थायी शिक्षकहरुको जीवन रक्षा गर्न र उक्त समस्या समाधान गर्न अविलम्ब वार्ता शुरु गर्न नेपाल सरकार शिक्षा मन्त्रालय समक्ष हार्दिक आग्रह गर्दछौं ।' 

महासंघका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुवँर लगायतका जिम्मेवार पदाधिकारी स्थानीय तहको निर्वाचनका लागि आआफ्ना दलहरुको चुनावी प्रचारमा जिल्लामा ब्यस्त हुँदा अस्थायी शिक्षकको आन्दोलनका बारेमा धारणा सार्वजनिक गर्न ढिलाई भएको महासंघ श्रोतले जनाएको छ ।

अनसनमा बसेका अस्थायी शिक्षकहरुको अवस्था कमजोर हुँदै गएपछि महासँघका सह अध्यक्ष रत्न बहादुर ओली र उपमहासचिव लछिराम ढकालद्धारा मंगलबार विज्ञप्ति जारी गरिएको हो । जारी विज्ञप्तिमा अनसनरत शिक्षकहरुको समस्या समाधानमा यस अघि आफूहरुसँग भएका सहमतीका आधारमा यथासिघ्र काम गर्न माग गरिएको छ ।

समितिको अगुवाईमा जारी आमरण अनसनमा बसेका किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।  

समितिले विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नु पर्ने, विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने लगायत माग गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको थियो ।

शिक्षक सेवा आयोगले केही त्रुटि फेला परेको भन्दै सोमबार नै परीक्षाको मिति सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया