Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

विषय शिक्षककै छोरी कमजोर !

बुधबार, ०७ असार २०७४

शिक्षा ऐनमा पछिल्लोपटक संशोधन भए अनुरूप कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षा ठानिएको हुँदा कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी नभनेर एसईई भन्न थालिएको हो । शब्द फेरिए पनि विद्यार्थी र अभिभावकमा फलामे ढोकाको त्रास भने यथावत् नै रहिरहेका सन्दर्भमा हालै सार्वजनिक भएको ग्रेडिङ प्रणालीमा आधारित एसईई परीक्षा २०७३ को परिणामका बारेमा ठाउँ ठाउँमा सान्दर्भिक टीकाटिप्पणीहरू भइरहनु अस्वाभाविक होइन ।

असार २ गते एसईईको परीक्षा परिणाम सार्वजनिक भयो । ए प्लस आउँछ भनेर ढुक्क रहेकी मेरै छोरी आस्थाले आफ्नो ग्रेड ए मात्र आएको भनेर सुनाउँदा म त्यति आश्चर्यमा परेको थिइनँ तर जब नेटबाट उसको विषयगत परीक्षा परिणाम (मार्कसिट) हेर्दा अन्य विषयका तुलनामा नेपाली विषयमा २.८ मात्र आएको देखेँ तब म छाँगाबाट खसेजस्तै भएँ ।

संस्कृत तथा नेपाली विषय शिक्षककै छोरी नेपाली विषयमै अत्यन्त कमजोर भएको देखेर धेरैजना शुभचिन्तक मित्रहरूले फेसबुकमा बधाइसँगै नेपाली विषयमा कमजोर भएकामा दुखेसो समेत व्यक्त गरे, जुन स्वाभाविक पनि थियो । त्यति हुँदाहुँदै पनि छोरी आफ्नो चित्त बुझाएर परिवार, छरछिमेक र साथीहरूलाई गुलियो खुसियाली बाँड्न अग्रसर भई, जसलाई मैले अमिलो बनाउन चाहिनँ ।

त्यसको भोलिपल्ट सञ्चारमाध्यमले अधिराज्यभर अनिवार्य नेपाली विषयमा ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या जम्मा १८१ रहेको र नेपाली विषयमा सबैभन्दा अत्यन्त कमजोर नतिजा आएको भनेर समाचार सम्प्रेषण गर्दा मलाई झनै दुःख लाग्यो ।

समग्रमा देशभरको नजिता सुधारोन्मुख भनेर विश्लेषण गर्न खोजिए पनि गुणस्तरका दृष्टिले नतिजा क्रमशः ओरालो लाग्दै गएको छ । समष्टिगत रूपमा राम्रै ग्रेड ल्याउने विद्यार्थीले पनि जुनसुकै विषय पढ्न अंग्रेजी, नेपाली र सामाजिक शिक्षा विषयमा डी प्लस ल्याउनैपर्ने प्रावधानका कारण एकलाखभन्दा बढी विद्यार्थीहरू उत्तीर्ण भएर पनि अनुत्तीर्ण भएसरह भएका छन् । अधिकांश शिक्ष्ण संस्थाहरूले नेपाली विषयलाई सौतेनी विषयजस्तो ठानेर नेपाली त जस्ता शिक्षकले पनि पढाउन सक्छन् भन्ने मानसिकता अँगाल्दै आएका कारण नेपाली विषयको नतिजा क्रमशः खस्किँदै गएको हो र यसका बारेमा यथासमयमै सम्बद्ध सबै गम्भीर नबनेका खण्डमा आगामी दिनमा खस्किने क्रम अझै बढ्दै जाने कुरा सुनिश्चित छ ।

हरेक प्रश्नपत्रको प्रारम्भमा विद्यार्थीलाई ‘आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस्’ भनेर निर्देशन दिइएको हुन्छ तर धेरैजसो शिक्षणसंस्था र विषयगत शिक्षकले विद्यार्थीलाई आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिने अभ्यासमा जोड दिएका हुँदैनन् । विषयगत शिक्षकले लेखाएका प्रश्नोत्तरमा वा गाइड तथा गेसपेपरमा भएका प्रश्नोत्तरमा विद्यार्थीहरू बढ्ता अभ्यस्त भएका हुन्छन् । शिक्षकले नोट लेखाउँदा विद्यार्थीको सिर्जनात्मक क्षमता कुण्ठित हुन्छ भन्ने कुरामा कसैको पनि गम्भीर ध्यानाकर्षण हुन सकेको छैन । क्षमतावान् विद्यार्थीले पनि शिक्षकले लेखाएको नोट नै सर्वस्व हो भन्ने ठानेर सिर्जनात्मक अभ्यासका लागि अलग्गै परिश्रम गर्न चाहँदैनन् जसका कारण विशेषतः भाषागत नेपाली र अंग्रेजी विषयमा विद्यार्थीको स्वकीय अभिव्यक्ति शैलीको विकास हुन पाउँदैन । फलस्वरूप परीक्षामा प्रतिभावान् विद्यार्थीले पनि भाषागत विषयमा उच्चतम ग्रेड ल्याउन सक्तैनन् ।

अक्षराङ्कन पद्धतिमा नतिजा सार्वजनिक गर्न खोजियो तर परीक्षकहरू परम्परागत अङ्कपद्धतिबाट मुक्त हुन सकेनन् र तिनीहरू अक्षराङ्कन पद्धतिमा अभ्यस्त पनि हुन सकेनन् भने नयाँ पद्धतिको प्रारम्भसँगै प्रश्नपत्रको ढाँचामा समेत सामान्य परिवर्तन गर्न खोजिएन । जसका कारण समग्र विद्यार्थी, अभिभावक र शिक्षकहरू पनि अक्षराङ्कन पद्धतिको परिणाममा आश्वस्त हुन सकेनन् । परीक्षामा सम्मिलित भएका सबै उत्तीर्ण हुने भन्ने मानसिकता विद्यार्थीमा मौलाउँदै गयो र शिक्षकहरूले पनि विद्यार्थीको उत्तीर्णता प्रतिशत बढाउन अभ्यास नगरे हुने भयो भन्ने दुष्प्रवृत्तिको विकास हुँदा अक्षराङ्कन पद्धतिका आधारमा प्रकाशन गरिने परीक्षा परिणाम सन्तोषजनक हुन नसकेको हो ।

सबैजसो संस्थागत विद्यालय र अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइने भएकाले एउटामात्र अनिवार्य नेपाली विषय नेपाली माध्यमबाट पढाइ हुँदा पनि नेपाली विषयको नतिजा खस्कँदै गएको हो । कतिपय विद्यालयले त विद्यालयक्षेत्रमा नेपाली विषयमा कुराकानी गरेका खण्डमा सम्बन्धित विद्यार्थीलाई जरिवाना तिर्न बाध्य बनाउने गरेकाले पनि नेपाली विषयको गुणस्तर खस्कँदै गएको हो । पहिला पहिला नेपाली विषय पढाउने अधिकांश शिक्षकहरू संस्कृतको पृष्ठभूमि भएका हुन्थे र तिनले नेपाली पढाउँदा तुलनात्मक रूपमा विद्यार्थीहरू नेपाली व्याकरणमा बढ्ता दक्ष देखिन्थे । वर्तमानमा संस्कृतको पृष्ठभूमि भएका शिक्षकहरूको रिक्तता देखिँदै गएकाले विद्यार्थीहरू नेपाली व्याकरणमा कमजोर देखिएका हुन् । एकातिर नेपाली व्याकरणमा कमजोर देखिनु र अर्कातिर विद्यार्थीमा सन्दर्भ पुस्तकको त के पाठ्यपुस्तककै पनि साङ्गोपाङ्ग अध्ययन गर्ने रुचि घट्तै गएकाले विद्यार्थीको लिखित अभिव्यक्ति क्षमता कमजोर हुन पुगेको हो । जसका कारण नेपाली व्याकरण र अभिव्यक्तिमा आधारित नेपाली विषयका प्रश्नहरूको समुचित उत्तर लेख्न विद्यार्थीहरू सक्षम नभएका हुन् ।

नेपाली व्याकरण रट्ने होइन बुझ्नुपर्छ भन्ने कुरामा तल्लो कक्षादेखि नै विद्यार्थीहरूलाई अभ्यस्त गराउन सकिएको भए अवश्य पनि सहज रूपमा प्रश्नपत्रबाटै विद्यार्थीले समुचित उत्तर छान्न, शुद्ध गर्न, पदवर्ग छुट्याउन, समास वा विग्रह गर्न र वाच्य परिवर्तन गर्नसक्ने थिए । पाठ्यपुस्तकमा राखिएका व्याकरणका अभ्यासहरूमात्र राम्रोसँग शिक्षण गर्न सकेको भए र पाठ्यपुस्तकको अभ्यासलाई उपेक्षा गरेर पुराना प्रश्नपत्रहरूको अभ्यासमा मात्र बढ्ता जोड नदिएको भए निश्चय नै नेपाली विषयको दक्षताबाट विद्यार्थीहरू विमुख हुने थिएनन् ।

बोध प्रश्नको उत्तर दिँदा पनि अधिकांश विद्यार्थीले प्रश्नपत्रमै रहेका पङ्क्तिलाई हुबहु सार्ने गर्छन् । त्यसलाई निराकरण गर्नका लागि शिक्षकले विद्यार्थीको बोध क्षमतामा बढ्ता जोड नदिएकै कारण विद्यार्थीले बोध प्रश्नको उत्तर समुचित रूपमा दिन नसकेका हुन् । त्यसैगरी बुँदा टिपोट र सारांशको उत्तरलेखनमा पनि विशेषतः बोधक्षमता नै सर्वोपरि रहन्छ भन्ने कुरालाई ख्याल गर्न नसक्ता धेरैजसो विद्यार्थीले प्रश्नपत्रकै पङ्क्तिलाई हुबहु सार्ने गरेका हुन् र आप्mनो ग्रेड खस्काएका हुन् । प्रश्नपत्रमा दिइएका बुँदाहरूका आधारमा कथा वा जीवनी लेख्नका लागि निर्दिष्ट बुँदाहरूलाई कसरी संयोजन गर्ने ? भन्ने बारेमा पनि विद्यार्थीलाई बढ्ता अभ्यास नगराइएकाले नेपालीको नतिजा खस्किन गएको हो ।

वादविवाद र संवादका लागि विद्यालयमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका हुन्छ । जुन विद्यालयले अतिरिक्त क्रियाकलापमा सबैजसो विद्यार्थीलाई वादविवाद, संवादजस्ता प्रयोगात्मक शिक्षाको अभ्यास गराएका हुँदैनन् वा विद्यार्थीले पनि त्यस्ता कार्यक्रममा भाग लिएका हुँदैनन्, त्यस्तै विद्यार्थी परीक्षामा वादविवाद वा संवादको उत्तरलेखनमा कमजोर देखिन पुगेका हुन् ।

स्वतन्त्र अभिव्यक्तिका लागि निबन्धलेखन सर्वाधिक पूर्णाङ्कको प्रश्न हो । अधिकांश विद्यार्थीले निबन्ध पनि रटेर लेख्ने गर्छन् । स्वतन्त्र अभिव्यक्तिमा पनि पराधीन अभिव्यक्ति उल्लेख गरेपछि विद्यार्थीको ग्रेड ओरालो लाग्नु अस्वाभाविक होइन । वादविवाद र संवादजस्तै निबन्धलेखनलाई पनि विद्यालयमा प्रतियोगितात्मक कार्यक्रमबाट अभ्यास गराउन सकिन्छ भने कक्षागत रूपमा पनि पाक्षिक वा मासिक अभ्यास गराउन सकिएमा निबन्धलेखनमा विद्यार्थीहरू कमजोर हुने थिएनन् ।

निर्धारित कथा, कविता आदि पाठ पढेर विद्यार्थीलाई नै महत्त्वपूर्ण अंश टिप्न र सारांश लेख्न लगाउँदै जान सकिएका खण्डमा सप्रसङ्ग व्याख्या गर्न, संक्षित उत्तर दिन र विवेचनात्मक उत्तर लेख्न पनि विद्यार्थीलाई सहज हुने थियो भने विद्यार्थीहरू गाइड, गेसपेपर र शिक्षकका नोटको भर परेर आफ्नो सिर्जनात्मक क्षमतालाई कुण्ठित गर्ने थिएनन् ।

नेपाली विषयको परीक्षा परिणाम ओरालो लाग्नुको मुख्य कारण भनेको नेपाली विषयप्रति अधिकांशको उपेक्षाभाव नै हो । जबसम्म नेपाली विषयप्रति उपेक्षाभाव राखिन्छ, नेपाली विषय पढाउने शिक्षकको मनोबल बढाउने प्रयत्न गरिन्न, विद्यार्थीका मन र मस्तिष्कमा नेपाली विषय भनेको विज्ञान, गणित र अंग्रेजीजस्तै समान विषय हो भन्ने समदर्शी भावनाको विकास गर्न सकिँदैन, नेपालभित्रका विद्यालय परिसरमा नै नेपाली बोलेका खण्डमा विद्यार्थीलाई जरिवाना तिर्ने परिपाटीको अन्त्य गरिँदैन तबसम्म नेपाली विषयको गुणस्तर बढ्न सक्तैन भन्ने बारेमा सबै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरूको समेत गम्भीर ध्यानाकर्षण हुनुपर्ने आवश्यकता देखिन्छ ।

(ढकाल नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगत कालिका विद्यापीठ, गैंडाकोट, नवलपरासीका सहप्राध्यापक हुन्)

प्रतिक्रिया