Edukhabar
सोमबार, ०२ भदौ २०८२
अन्तैवाट

विद्यालय भवन निर्माणको रकम व्यापारमा !

शुक्रबार, १८ जेठ २०७५

काठमाडौं १८ जेठ / डोल्पाको एक विद्यालयमा भवन निर्माणको रकम बैंकबाट झिकेर यार्सा व्यापारमा प्रयोग गरिएको खुलासा भएको छ । मुड्केचुला गाउँपालिका– ३ को नवज्योति आधारभूत विद्यालय भवन निर्माणको ११ लाख बैंकबाट निकालेर यार्सा व्यापारमा प्रयोग गरिएको हो ।

विद्यालयको भवन निर्माण भइरहेको र अन्य निर्माणका सामग्री खरिद गर्न भवन निर्माण समितिका पदाधिकारी पैसा निकाल्न जाँदा अर्कै विद्यालयका प्रधानाध्यापकले निकालेको पाइएको भवन निर्माण समितिका अध्यक्ष पदम थापाले जानकारी दिएका नयाँ पत्रिकामा खबर छ ।  उनका अनुसार सामान खरिदका लागि आवश्यक रकम निकासा गर्न बैंकमा पुग्दा मुड्केचुला– १ कै अर्को आधारभूत विद्यालयमा रकम जम्मा गरी प्रधानाध्यापकले यार्सा व्यापारमा लगाएको पाइयो ।

‘शिक्षा विकास तथा समन्वय  एकाइकै लापरबाही’

शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जानाजान एक विद्यालयको भवन निर्माणको रकम अर्को विद्यालयको खातामा जम्मा गरिदिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम थापाले आरोप लगाए । उनले भने, ‘कसरी त्यति धेरै रकम अर्को विद्यालयको खातामा जम्मा गरियो, कसरी अर्काे विद्यालयका प्रधानाध्यापकले अर्काको रकम निकासा गरी यार्सामा लगानी गरे, म अचम्ममा परेको छु ।’ मुड्केचुला गाउँपालिकामा पर्ने नवज्योति आधारभूत विद्यालय रिडिङकोे खातामा जम्मा गर्नुपर्ने भवन निर्माणको ११ लाख २० हजार सोही गाउँपालिकाकै नवज्योति विद्यालय औलको खातामा जम्मा गरी सोही विद्यालयका प्रधानाध्यापक तिलक खड्काले कसैलाई जानकारी नदिई निकालेर यार्सा व्यापारमा लगाएको उनको दाबी छ ।

प्राविधिक त्रुटि भएको स्वीकार

शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले विद्यालयको नाम एकै परेको र कार्यालयबाट प्राविधिक त्रुटि भएको स्वीकार गरे । उनले भने, ‘पुरानो खातालाई नयाँ २० अंकको खातामा परिणत गर्ने क्रममा विद्यालयको नाम एकै परेपछि त्यस्तो समस्या आएको हो ।’

११ लाख निकालेर प्रअ सम्पर्कविहीन

विद्यालयको खातामा जम्मा भएको विनाशीर्षकको ११ लाख निकालेका प्रधानाध्यापक तिलक खड्का सम्पर्कविहीन भएका छन् । शिक्षाले रकम फरक विद्यालयमा गएको थाहा पाएपछि प्रधानाध्यापक खड्का सम्पर्कमा आउन नचाहेको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए । उनले भने, ‘जिल्ला प्रशासनले प्रहरीमार्फत पक्राउ गरी उक्त रकम विद्यालयको खातामा जम्मा गराउनेछौँ ।’

नवज्योति प्रावि रिडिङको भवन निर्माणको रकम मुड्केचुला गाउँपालिकाकै वडा नं. १ को नवज्योति विद्यालय औलको खातामा जम्मा भएपछि प्रधानाध्यापक तिलक खड्का यार्सा व्यापारमा लगाउन सम्पर्कविहीन भएको विद्यालय व्यवस्थापन समितिका लंकबहादुर रोकायाले आरोप लगाए । शिक्षा विकास तथा समन्वय एकाइले भने हाल भवन निर्माण भइरहेको विद्यालय र रकम जम्मा भएको विद्यालयको खाता रोक्का गरेको जनाएको छ । भवन निर्माण उपभोक्ता समितिले भने ब्याजमा रकम निकालेर सामान खरिदमा लगाएको छ ।

विद्यालय भवन निर्माणको रकम यार्सा व्यापारमा शिर्षकमा नयाँ पत्रिकामा रामचन्द्र न्यौपानेले लेखेको खबर ।

प्रतिक्रिया