Edukhabar
आइतबार, ०१ भदौ २०८२
अन्तैवाट

एसईईमा लापरबाही कसको ?

मंगलबार, १२ असार २०७५

काठमाडौं १२ असार / शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक तनाव दिएको उनीहरूले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कार्यालयको लापरबाहीले २४ घण्टामै नतिजा फरक परेको उनीहरूको निष्कर्ष छ । पूर्वशिक्षा सचिव जनार्दन नेपालले उच्चस्तरीय छानबिन जरुरी रहेको बताए । ‘के कसरी त्रुटि हुन पुग्यो, पद्धतिमा त्रुटि हो कि, मानवीय त्रुटि हो, छानबिन गरेर दोषीमाथि कारबाही गर्न जरुरी छ,’ उनले भने । पद्धतिलाई मात्रै दोष दिएर उम्कन नमिल्ने उनले प्रस्ट पारे ।

परीक्षा नियन्त्रण कार्यालय भने वेबसाइटमा प्राविधिक समस्या आएका कारण नतिजा फरक पर्न गएको भनेर उम्कन खोजेको छ । पूर्वशिक्षा सचिव नेपालले नतिजामा त्रुटि हुनु छानबिनको विषयवस्तु भएको बताए । ‘आगामी दिनमा यस्तो गल्ती नहोस् भनेर पनि छानबिन गरिनुपर्छ,’ उनले थपे, ‘छानबिनबाट आएको परिणाम सबैले स्वीकार गरेर जानुपर्छ ।’ उनले छानबिनबाट कस्तो किसिमको गल्ती भएको हो, किटान गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

शनिबार प्रकाशित गरिएको एसईई नतिजामा त्रुटि भएको कार्यालयले स्वीकार गरिसकेको छ । शनिबार प्रिन्ट भएको ग्रेडसिट (मार्कसिट) र आइतबार प्रिन्ट गरेको ग्रेटसिटमा फरक परेको थियो । काठमाडौं परीक्षाकेन्द्र भएका सिम्बोल नम्बर ०३०६३४९ ‘क्यु’ का सौगात जोशी कक्षामा पहिलो, दोस्रो हुने विद्यार्थी हुन् । सुरुमा नतिजा हेर्दा ग्रेडसिटमा गणित विषयको ग्रेडप्वाइन्ट नै उल्लेख थिएन ।

पुन: हेर्दा उक्त विषयमा १.२ जीपीए देखिएको छ । ‘विद्यार्थी र परिवार साह्रै तनावमा छन्,’ जोशीका शिक्षकसमेत रहेका प्याब्सन महासचिव राजेन्द्र बानियाँले भने, ‘यो त हदै लापरबाही हो ।’ परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी र अभिभावकलाई मनोवैज्ञानिक त्रास दिएको उनले बताए । अधिकांश परीक्षार्थीको पछिल्लो पटक ग्रेडसिट प्रिन्ट गर्दा जीपीए बढेर आएको थियो ।

एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले एसईई परीक्षाकै विश्वसनीयता र वैधतामा गम्भीर प्रश्न उठेको बताए । ‘तीन महिना लगाएर नतिजा प्रकाशन गर्दा पनि यस्तो गल्ती हुनुमा चरम लापरबाही मुख्य कारण हो । यसले परीक्षा नियन्त्रण कार्यालयको विश्वास घटेको छ ।’ आगामी दिनमा परीक्षा हल र उत्तरपुस्तिका परीक्षण स्थलमा सीसीटीभीको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

अभिभावक र विद्यार्थीले यस्तो गम्भीर लापरबाहीको जिम्मेवारी लिएर शिक्षामन्त्रीले राजीनामा गर्नुपर्ने र परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका दोषी कर्मचारीलाई समेत कारबाही गरिनुपर्ने माग राखे ।

ओखलढुंगाका विद्यार्थी दीपक खतिवडा दुई दिनदेखि परीक्षा नियन्त्रण कार्यालयमा भौंतारिरहेका छन् । ‘कापी हराएर हो कि किन हो,’ उनले कान्तिपुरसँग भने, ‘मेरो त ग्रेडसिटमा तीनवटा विषयमा नम्बर नै दिइएको छैन ।’ ११ कक्षामा भर्ना हुन पाइने हो कि होइन भनेर उनी पिरोलिइरहेका थिए । एनप्याब्सन अध्यक्ष सापकोटाका अनुसार कतिपय विद्यालयको नतिजा प्रकाशन नै भएको छैन । ‘नतिजा प्रकाशन गर्न नसक्ने र प्रकाशित नतिजामा पनि त्रुटि गर्ने शिक्षामन्त्रीदेखि सबैले गल्ती स्वीकार गर्नुपर्छ,’ परीक्षा नियन्त्रण कार्यालयमै भेटिएकी अभिभावक गीता रानामगरले भनिन्, ‘दोषीलाई कारबाही गर्नुपर्छ ।’ एसईई रिजल्टपछि विद्यार्थी निराश भएको, घरझगडा भएको र मनोवैज्ञानिक रूपमा हीनताबोध बढेको उनको दाबी छ ।

हिसान अध्यक्ष रमेश सिलवालले शिक्षा मन्त्रालयको खेलाँचीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय अन्योलमा परेको बताए । ‘भोलि विद्यार्थी ग्रेडसिट लिएर कक्षा ११ मा भर्ना हुन आउँछन्,’ उनले भने, ‘हामीले कुनलाई आधार मानेर भर्ना लिने ?’ शनिबार परीक्षाफल प्रकाशित गरिएकामा आइतबार साँझसम्म जीपीए बढेको ग्रेडसिट प्रिन्ट भइरहेको थियो । कार्यालयले भने पछिल्लो पटक प्रिन्ट भएको ग्रेडसिट आधिकारिक भएको जनाएको छ । प्रविधिलाई दोष दिएर मात्र उम्कन नमिल्ने उनको तर्क छ । ‘प्रविधिको सही तरिकाले प्रयोग गर्न सक्नुपर्छ । रिजल्ट प्रकाशनको हालत यस्तो छ, उत्तरपुस्तिका परीक्षणको अवस्था झन् कस्तो होला,’ उनले आशंका व्यक्त गरे । सिलवालले त्रुटि गर्नेलाई छानबिन गरी कारबाही दायरामा ल्याउन माग गरे ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया