Edukhabar
आइतबार, ०१ भदौ २०८२
अन्तैवाट

उपत्यकाकै विद्यार्थी जोखिमयुक्त भवनमा पढ्न वाध्य

आइतबार, २४ असार २०७५

काठमाडौं २४ असार / काठमाडौंको झोंछेस्थित बाल सेवा माध्यमिक विद्यालयमा तीन वर्षअघिका भूकम्पमा क्षतिग्रस्त पारेको पाँचतले भवनमा अध्यापन भइरहेको छ। भवनमा एउटा पनि पिलर छैन र पाँचै तलासम्म माटाको गारो मात्र छ। अर्को विकल्प नहुँदा विद्यालयले जोखिमयुक्त भवनमै विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ।

त्यसैगरी नरदेवीस्थित कन्या माविको भवन पनि प्रयोग गर्नै नमिल्ने गरी भूकम्पमा भत्केको छ। विद्यार्थी सुरक्षित ठाउँमा सार्न स्थान अभाव भएकाले विद्यालयले जोखिमयुक्त भवनमै विद्यार्थीलाई अध्यापन गराइरहेको छ। भूकम्पपछि भत्किएका विद्यालयको पुनर्निर्माणको नेतृत्व गर्न गठित जिल्ला योजना कार्यान्वयन इकाइ (डीएलपीआईयू) शिक्षाका प्रमुख गणेश ढकालले भने, ‘हामी विद्यालय निरीक्षण गर्न जाँदा भवनभित्र राम्ररी पस्न पनि सकेनौं तर विद्यार्थीहरू दिनहुँ त्रासमै त्यही भवनमा अध्ययन गरिरहेका छन्। शिक्षक पनि जोखिम मोलेरै पढाउन बाध्य छन्।’

बाल सेवा र कन्या मावि राजधानीका यस्ता प्रतिनिधि विद्यालय हुन् जसको भवन प्रयोग गर्नै नमिल्ने गरी भूकम्पमा क्षतिग्रस्त भए पनि अन्यत्र सर्ने विकल्प नहुँदा शिक्षक विद्यार्थी सबै ज्यान जोखिममा राखेर पठनपाठन गर्न बाध्य छन्। ती विद्यालयमा नयाँ भवन बनाउन बजेट नभएको पनि होइन तर कुनैसँग भवन बनाउन जग्गा अभाव छ भने कतिपय मन्दिर, गुठी तथा क्लबको जग्गामा सञ्चालन भएकाले थप संरचना बनाउन कठिनाइ छ।

पर्याप्त बजेट नहुँदा नयाँ संरचना बनाउन नसकेको गुनासा आइरहँदा राजधानीका विद्यालय स्थान अभावमा बन्द गर्ने वा जोखिम मोलेरै भए पनि क्षतिग्रस्त पुराना भवनमा पढ्नुपर्ने संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्। ढकालका अनुसार बाल सेवा र कन्याबाहेक आरबी कम्प्लेक्ससँग जोडिएको न्युरोडस्थित रणमुक्तेश्वर आधारभूत विद्यालय, वसन्तपुरको नेपाल आदर्श, चाबहिलको मित्र आधारभूत विद्यालय पनि जग्गा अभावकै कारण नयाँ भवन बनाउन सकेका छैनन्।

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले केही स्थानमा विद्यालय पुनर्निर्माणमा समस्या देखिएको बताउँदै भने, ‘समस्या धेरै ठाउँमा छन्। बिस्तारै सल्टाउँदै जान्छौं। आवश्यक ठाउँमा जसरी पनि विद्यालय बनाउँछौं।’

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया