Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

कक्षाकोठा निगरानीमा सिसी क्यामेरा

बुधबार, ०३ असोज २०७५

काठमाडौं ३ असोज / कक्षाकोठामा विद्यार्थीबीच हुने होहल्ला हरेक विद्यालयका प्रधानाध्यापकका लागि टाउको दुखाइको विषय हो । कक्षामा शिक्षक समयमा नपुग्दा, शिक्षकले विद्यार्थी नियन्त्रण गर्न नसक्दा र विद्यार्थी अनुशासनमा नबस्दा कक्षाकोठा अशान्त हुन कारण हुन् । अब प्रविधि प्रयोगमार्फत कक्षाकोठामा हुने हल्ला नियन्त्रण हुने भएको छ भने प्रधानाध्यापकले पनि यसबाट मुक्ति पाउन थालेका छन्।

खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित सिद्धेश्वरी माविका युवराज कट्वाल यस्तै मुक्ति पाउने प्रधानाध्यापक बनेका छन् । गत असार २२ गते विद्यालयको कक्षा निगरानीका लागि सिसी क्यामेरा जडान गरेयता कक्षाकोठामा विद्यार्थी नियन्त्रणका लागि दगुर्नपर्ने बाध्यता हटेको प्रधानाध्यापक कट्वालले बताए । सिसी क्यामेराको निगरानीमा राखिएको थाहा पाएपछि विद्यार्थीले हल्ला गर्न, आपसमा जुध्न, जिस्कन वा लेखपढ नगरी समय बिताउन छाडेका छन् । ‘सिसी क्यामेरा राखेपछि विद्यार्थी नियन्त्रण गर्न सबैभन्दा सहज भएको छ,’ कट्वालले भने, ‘उनीहरूमा सिसी क्यामेरामार्फत सरले हेरिरहनुभएको छ भन्ने मनोवैज्ञानिक त्रास पर्दो रहेछ।’

पठनपाठन प्रभावकारी बनाउन साकेला गाउँपालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेरा जडान गरिएको हो । सिसी क्यामेराले अनुशासन उल्लंघन गर्दै कक्षामा अवरोध पुर्याउने विद्यार्थीलाई मात्र होइन शिक्षक कक्षामा गए–नगएको समेत निगरानी गर्न सहयोग पुगेको छ । कक्षामा ढिलो पुग्ने र समयअगावै निस्कने शिक्षकलाई सिसी क्यामेराले अप्ठ्यारोमा पारेको एक अभिभावकले बताए।

विद्यालयलाई प्रविधिमैत्री बनाउन गत आर्थिक वर्ष बजेट व्यवस्था गरेर साकेला गाउँपालिकाका पाँच माविमा ई–हाजिरी र सिसी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । गाउँपालिकाका अनुसार सिद्धेश्वरी मावि, राधाकृष्ण मावि बाँझेच्यानडाँडा, साकेला मावि रतन्छा, बालबालिका मावि मात्तिम मानेभन्ज्याङ र सरस्वती मावि मात्तिम बिर्तामा एकैसाथ ई–हाजिरी र सिसी क्यामेरा जडान गरिएको हो । विद्यालयमा कक्षाको वातावरण शान्त बनाउन र अनुशासन कायम गर्न सिसी क्यामेरा प्रधानाध्यापकको सहयोगी बनेको पाइएको छ।

‘हामीले सबै विद्यार्थीलाई अफिसमा पालैपालो बोलाएर सिसी क्यामेराबाट उनीहरुको कक्षाकोठा देखायौं, साथीहरू चिन्न लगायौं, आफ्नो बेन्च, पुस्तक चिन्न लगायौं’, कट्वालले भने, ‘कक्षामा हल्ला गरे, झगडा गरे हामीले देखिरहेका हुन्छौं भनेर पठाएपछि उनीहरू अनुशासित भएर बस्ने गरेको पाएका छौं ।’ ई–हाजिरी र सिसी क्यामेरा अन्य विद्यालयमा पनि विस्तार गर्ने लक्ष्य बनाइएको गाउँपालिकाले जनाएको छ।

आधारभूत शिक्षा सुनिश्चित

ओखलढुंगा – ओखलढुंगाको दुई तह अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका छन् । जिल्लाका सिद्धिचरण नगरपालिका र मोलुंग गाउँपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका हुन्।

विद्यालय उमेरका पाँचदेखि १२ वर्षसम्मका बालबालिका विद्यालय भर्ना भएको सुनिश्चितता भएसँगै यी दुई तहलाई अनिवार्य आधारभूत शिक्षा सुनिश्चित तह घोषणा गरिएको स्थानीय जनप्रतिनिधिहरूले बताए।

सिद्धिचरण नगरपालिकाभित्रका विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भएको र विद्यालय बाहिर नरहेको मेयर मोहनकुमार श्रेष्ठले बताए । ‘नगरपालिका क्षेत्रमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन्,’ उनले भने “उनीहरूलाई विद्यालयमा टिकाइ राख्न चाहिँ चुनौती छ ।’ नगर क्षेत्रभित्रका ५–१२ उमेर समूहका ४ हजार ५ सय ९९ बालबालिका विद्यालयमा भर्ना भएको नगरपालिकाको शिक्षा इकाइको तथ्यांकमा छ।

मोलुंग गाउँपालिकाभित्रका करिब ४ हजार ५ सयभन्दा बढी बालबालिका विद्यालयमा भर्ना भएको स्रोतव्यक्ति रामकुमार ढकालले बताए । विद्यालय उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सिद्धिचरण नगरपालिका र मोलुंग गाउँपालिकाले दाबी गरेका छन् । अझै जिल्लाका छवटा गाउँपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित घोषणा हुन बाँकी छन्।

नागरिकमा प्रकाशित

प्रतिक्रिया