Edukhabar
बुधबार, २१ साउन २०८२
अन्तैवाट

नेविसंघमा ३२ वर्षे उमेरहद : पौडेल, सिटौला, सिंह र केसीले लेखे ‘नोट अफ डिसेन्ट’

सोमबार, २२ असोज २०७५

काठमाडौं २२ असोज / नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।

नयाँ पत्रिकाका अनुसार आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।
पौडेल र सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा. महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।

झन्डै एक महिनाअघि नेविसंघले ३२ वर्षे उमेरहद हटाउनुपर्नेसहितका वैधानिक व्यवस्था पारित गर्नका लागि पार्टी नेतृत्वलाई बुझाए पनि ढिलो गरी उमेरहदको विषय पार्टीले टुंग्याइदिएको छ । तर, समयमा निर्णय नहुँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यस्तोमा नेविसंघको महाधिवेशनका विषयमा थप निर्णय गर्न आगमी २५ असोजमा केन्द्रीय समितिको बैठक पुनः डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आइतबारको बैठकमा ३३ केन्द्रीय सदस्यले बोलेका थिए । नेविसंघको १२औँ महाधिवेशन १६ कात्तिकदेखि तोकिएको छ । तर, समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यसकारण अब निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कम छ ।

यसअघि नेविसंघले ३२ वर्षे उमेरहद लगाउन माग गरे पनि आइतबार केन्द्रीय समितिको बैठक बस्नुअघि महामन्त्री आनन्द त्रिपाठी, प्रवक्ता प्रेम जोशी, सहमहामन्त्री साधना घिमिरेसहितका नेताले उमेरहद कायम गरेर महाधिवेशन गर्न माग गर्दै पार्टीलाई ज्ञापनपत्र बुझाएका थिए । यसअघि ११औँ महाधिवेशनमा लागू नगर्ने र १२औँबाट नेविसंघमा उम्मेदवार हुन ३२ वर्षे उमेरहद लगाउने गरी वैधानिक व्यवस्था भए पनि नेविसंघको नेतृत्वले मनोमानी गर्दै हटाउने प्रस्ताव गरेकोमा असन्तुष्ट नेताहरूले विरोध गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन् । 

प्रतिक्रिया