काठमाडौं ७ कात्तिक / अछाम बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा राजनीतिक दलका स्थानीय नेता र शिक्षकहरूलाई पक्राउ गरेको छ।
अन्नपूर्ण पोष्टका अनुसार जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले सोमबार बेलुका जयगढ बजारको विपना कोल्ड स्टोरमा जुवा खेलिरहेका स्थानीय नेता, शिक्षक, विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, व्यापारी र स्थानीय गरी १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जुवाको खालबाट ६० हजार ४ सय ४० रुपैयाँ नगद सहित ६ गड्डी (प्याकेट) निलो र कालो रंगको तास र थान ३ कापी बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर साउँद, कांग्रेस बान्नीगढी जयगढ गाउँपालिकाका सचिव सुरत रावल, बान्नीगढ जयगढ गाउँपालिकाका नेकपाका नेता टेकेन्द्र साउँद, नेकपाका नेता धर्मराज उपाध्याय, संगम साउँद, सरस्वती मावि जयगढका व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहन ताम्राकार, सरस्वती माविका शिक्षकहरू युवराज शर्मा, गोकुल साउँद, जनज्योति आधारभूत विधालयका शिक्षक विजय शर्मा, व्यापारी गणेश शाह, स्थानीयहरू हिक्मत ताम्राकार, गणेश रावल, रुप स्वार र सिद्धराज शर्मा रहेका छन्।
दसैं तथा दिपावलीमा जिल्लाका व्यापारिक केन्द्रहरूमा जुवातासको बिगबिगी बढेको स्थानीयको गुनासो आधारमा छापा मार्न सुरु गरेको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए।
‘पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ, कानुन अनुसार कारबाही अगाडि बढाउने छौँ। अहिले मुख्य बजारहरूमा प्रहरी युनिट खटाएका छौँ, जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेका छौँ।’
जयगढ बजारमा प्रहरी निरीक्षक टेकबहादुर रावतको नेतृत्वमा खटेको टोलीले छापा मारेको थियो। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मंगलसेनमा राखिएको छ।
जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनको दफा १२५ मा छ। दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था ऐनमा छ।
अन्नपूर्ण पोष्टमा गीता कुँवरले दलका नेता र शिक्षक नै जुवाको खालमा शिर्षकमा लेखेको खबर ।
प्रतिक्रिया