Edukhabar
आइतबार, २८ बैशाख २०८२
अन्तैवाट

'कोठा बाहिरै कक्षा'का विषयमा प्रजिअसँग लिखित जवाफ माग

बुधबार, ०२ पुस २०७६

काठमाडौं २ पुस / ‘महिनावारी हुँदा कोठाबाहिरै कक्षा’ शीर्षकमा मंगलबार नयाँ पत्रिकामा समाचार आएपछि गृह मन्त्रालयले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलाई फोन गरेर लिखित जवाफ मागेको छ । नयाँ पत्रिकामा जुम्लाका सिडिओलाई गृहको निर्देशन–  महिनावारी हुँदा कोठाबाहिरै किन पढाइयो, लिखित जवाफ पठाउनू शिर्षकमा छापिएको खबर अनुसार महिनावारी हुँदा विद्यालयले आँगनमै कक्षा लिनुको कारण बुझेर जवाफ पठाउन भनेको हो । 

तातोपानी गाउँपालिका–८ बारागाउँको जनजागृति आधारभूत विद्यालयका छात्राले ‘देउता रिसाउने र विद्या पनि हराउने डरले महिनावारी हुँदा विद्यालयको आँगनबाट भित्र नजाने गरेको’ नयाँ पत्रिकालाई बताएका थिए । गृहको निर्देशनपछि प्रजिअ श्रेष्ठले दिउँसै विद्यालयका प्रधानाध्यापक अमर रावतलाई फोन गरी जवाफ मागेका छन् । 

‘पत्रिकामा समाचार आएपछि दिउँसो गृहबाट फोन आयो, तत्काल सबै बुझेर लिखित जवाफ बुझाउन आदेश भएको छ,’ श्रेष्ठले भने, ‘माथिको आदेशलगत्तै मैले प्रधानाध्यापक अमर रावतलाई फोन गरेर लिखित जवाफ दिन भनेको छु । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र महिला शिक्षकको धारणा पनि लिन्छौँ । सबै पक्षको धारणा बुझेपछि गृहमा लिखित जानकारी पठाउँछु ।’ 

विद्यालयका प्रधानाध्यापक रावतले सामाजिक कुसंस्कार र आस्थाका कारण छात्रा आफैँ कक्षाकोठाभित्र जान डराउने गरेको बताए । ‘विद्यालयभित्र पुराना मन्दिर छन्, मन्दिरनजिक कक्षाकोठा छन्, त्यसैले छात्राहरू जान मान्दैनन्,’ उनले भने, ‘उनीहरूको सहजताका लागि मन्दिर छलेर कोठा व्यवस्थापन गरे पनि बस्न मान्दैनन् ।’ तर, मन्दिर छलेर कोठा व्यवस्थापन गरेको बताउने प्रअले महिनावारी हुँदा मन्दिर छुँदा पनि फरक पर्दैन भन्ने शिक्षा भने छात्रालाई दिन सकेका छैनन् ।

प्रतिक्रिया