Edukhabar
शनिबार, २७ बैशाख २०८२
अन्तैवाट

नक्कली प्रमाणपत्र पेस गरी सेवा प्रवेश सहित बढुवा समेत

आइतबार, १९ माघ २०७६

काठमाडौं १९ माघ / अख्यितार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवा सुविधा लिएका र बढुवासमेत भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो ।

नागरिकमा भुवन शर्माले नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर शिर्षकमा लेखेको खबर अनुसार नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकामा शिक्षक, कर्मचारी लगायत प्राविधिक कर्मचारीसमेत छन् ।

आयोगले भारतस्थित माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश इलाहवादको इन्टरमिडिएट परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी निमावि तहको शिक्षकमा बढुवा भई हाल कालिका मावि बन्दिपुरका शिक्षक श्रीप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपपत्र दायर गरेको छ । त्यसैगरी, परीक्षा नै नदिई स्नातक तहको झूठो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सोही आधारमा प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक पदमा समेत बढुवा भई सरकारी लाभ तथा सुविधा लिएको आरोपमा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाह, विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झूठो शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर स्थायी नियुक्ति भई लाभ तथा सुविधासेमत लिएको आरोपमा कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी, तनहुँका शिक्षक शारदा अधिकारी (लामिछाने)माथि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

त्यस्तै, नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साहमाथि पनि मुद्दा दायर गरेको छ । आयोगका अनुसार साहमाथि बिएको शैक्षिक योग्यताको प्रमाणपत्र झूठ रहेको आरोप छ । माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी खरिदार पदमा बढुवा भई लाभ सुविधासमेत लिएको पुष्टि हुन आएको आरोप लगाइ जिल्ला हुलाक कार्यालय, बाँकेमा तत्कालीन खरिदार पदमा कार्यरत निर्मलाकुमारी केसी, माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन युपी भारतबाट उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस प्रहरी सहायक निरीक्षकमा बढुवा भई सरकारी सुविधा तथा लाभसमेत लिएको आरोपमा पूर्वप्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार शाहीमाथि मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया