Edukhabar
आइतबार, ०८ असार २०८२
गतिविधि

राजदूतको लविङ् : कोरियन भाषालाई ईच्छाधिन बनाउन आग्रह

शुक्रबार, १८ साउन २०७५

काठमाडौं - आफ्नो भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन कोरियाले लविङ् गरेको छ । बिहिबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर नेपालका लागि दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्कले सिटिईभिटी र टिआई टिआई संगको साझेदारीमा प्रशिक्षण केन्द्र स्थापना गर्न समेत प्रस्ताव गरेका छन् । 

कोरिया जाने नेपालीहरुलाई सीपमूलक तथा व्यवसायिक बनाउन र प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम कार्यक्रमको विस्तार र विकासको लागि सहयोग, साझेदारी र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न कोरिया सरकार तयार रहेको उनले बताए । 

भेटमा मन्त्री पोखरेलले नेपालको समग्र विकासमा कोरिया सरकारको सहयोगको लागि धन्यवाद व्यक्त गरेका उनको निजी सचिवालयले जनाएको छ । शिक्षा तथा विज्ञान प्रविधि क्षेत्रमा प्रत्यक्ष  तथा परोक्ष रुपमा प्राप्त सहयोगले विद्यालय शिक्षादेखी उच्च शिक्षा सम्मको विकासमा कोरिया सरकारको सहयोग महत्वपुर्ण रहेको बताउँदै उनले नेपालको तीब्र विकास गर्न कोरियाको आर्थिक प्राविधिक सहयोग र मार्ग दर्शन कोशे ढुङ्गा हुने बताए । 

उक्त भेटमा पोखरेलले नेपालका कर्मचारी तथा शिक्षकहरुलाई कोरियन सरकारले दिने गरेको व्यवस्थापन तथा सुचना प्रविधि सम्बन्धी तालिम ले नेपालको शिक्षा क्षेत्रको विकासको लागि ठुलो योगदान पुगेको उल्लेख गरे ।

कोरिया सरकार र नेपाल सरकार वीच सन् २००७ मा श्रम सम्झौंता भई नेपाली युवाहरुलाई कोरियामा रोजगारको अवसर प्राप्त हुँदै आएको छ । 

 

प्रतिक्रिया