Edukhabar
विहीबार, २५ भदौ २०८३
गतिविधि

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल, रिमाल र सापकोटा सदस्य

यस अघि राजनीतिक नियुक्ति खारेज गर्दा सेवा मुक्त भएका सापकोटा फेरी सदस्य, सात बर्ष अघि आफ्ना श्रीमान सदस्य रहेको आयोगमा सदस्यकै रुपमा रिमालको नियुक्ति

विहीबार, २५ भदौ २०८३

काठमाडौ - शिक्षक सेवा आयोगमा अध्यक्ष सहित दुई सदस्यको नियुक्ति भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा शिक्षा सेवामा लामो समय काम गरेका पूर्व सचिव डा. हरि प्रसाद लम्साललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यसैगरी सरकारले यस अघिकै सदस्य रामशरण सापकोटालाई फेरी सदस्य बनाएको छ । यस्तै अर्का सदस्यमा ज्ञानोदय मा.वि., काठमाडौ, बाफलकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालको नियुक्ति भएको छ । 

२०५० सालमा विद्यालय निरिक्षकबाट शिक्षा सेवा प्रवेश गरेका लम्साल आन्तरिक प्रतिस्पर्धाबाट २०६२ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका थिए । २०८० मा सचिवमा बढुवा भएपछि सुदुर पश्चिम र वागमती प्रदेशको मुख्य सचिव भएका उनले तत्कालिन खेलकुद मन्त्रालय र राष्ट्रपतिको कार्यालयमा सचिव भएर काम गरेका थिए । राष्ट्रपति कार्यालयमै कार्यरत रहँदा २०८२ फागुन २४ गते उनको अवकास भएको थियो । 

शिक्षा सेवाकै पूर्व सहसचिव रहेका सापकोटा जेनजी बिद्रोह पछि भएको चुनाव पश्चात बनेको नयाँ सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्दा सेवा मुक्त भएका थिए । उनको फेरी सदस्य मै नियुक्ति भएको हो । 

रिमालको नियुक्तिमा एउटा संयोग भएको छ । सात बर्ष अघि आफ्ना श्रीमान सदस्य रहेको आयोगमा सदस्यकै रुपमा उनको नियुक्ति भएको हो । शिक्षा मन्त्रालयका पूर्व सहसचिव समेत रहेका डा. डिल्लि रिमाल २०७७ साल पुसमा आयोगको सदस्य नियुक्त भएका थिए । 

गत बर्ष भदौको जेनजी बिद्रोह पछि भएको चुनाव पश्चात बनेको नयाँ सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गरेसँगै तत्कालिन अध्यक्ष मधुप्रसाद रेग्मी सहित सदस्यहरु रामशरण सापकोटा र पवित्रा सेवेदी पदमुक्त भएका थिए । 

आयोगको रिक्त पदाधिकारी छनोटको लामो प्रकृया सकेर सरकारले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेको हो ।

आयोगको अध्यक्षका लागि पाँच र दुई सदस्यका लागि ३३ जनाको दरखास्त स्वीकृत भएको थियो । दरखास्त स्विकृत भएकाहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता पछि आयोगका पदाधिकारी छनोट गरिएको हो । 

आयोगका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको एक समिति गठन गर्ने र उक्त समितिले गरेको सिफारिसका आधारमा मन्त्रीपरिषद्ले नियुक्ति दिने शिक्षा ऐनमा व्यवस्था छ । शिक्षा ऐनमा भएको सातौं संशोधनबाट आयोगमा एक अध्यक्ष र एक महिला सहित २ जना सदस्य गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । आयोगका पदाधिकारीको अवधी पाँच बर्षको हुने छ । 

शिक्षा ऐनको दफा ११ ख मा सामुदायिक विद्यालयमा सरकारबाट स्वीकृत दरवन्दी अनुसार रिक्त शिक्षक पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षकको वढुवाको लागि सिफारिश गर्न आयोगको परिकल्पना गरिएको छ । शिक्षक पदको लागि उम्मेदवार हुन आवश्यक अध्यापन अनुमति पत्र लिनुपर्ने र उक्त अनुमति पत्र पनि आयोगले प्रदान गर्ने व्यवस्था छ । 

प्रतिक्रिया