Edukhabar
आइतबार, ०८ असार २०८२
गतिविधि

विद्यार्थीको व्यक्तित्व विकासका लागि राष्ट्रिय सम्मेलन

बुधबार, १४ कार्तिक २०७५

काठमाडौं - विद्यार्थीले ६ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने सम्मेलन गुणीय चक्र (एस.क्यू.सी.) को १४ औं संस्करण काठमाडौंमा शुरु हुँदै छ । बिहीबार देखि ग्यालेक्सि स्कुल ज्ञानेश्वरमा हुने दुई दिने उक्त कार्यक्रम विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम भएको आयोजकको दावी छ ।

सन् १९९९ देखि देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा शैक्षिक क्रियाकलापको रुपमा भित्रिएको उक्त कार्यक्रमलाई सन् २००५ देखि हरेक बर्ष राष्ट्रिय सम्मेलनको आयोजना गरी अभियानको रुपमा अघि बढाईएको छ । 

उक्त सम्मेलनमा विद्यार्थीले समस्याको पहिचान, विश्लेषण, समाधान तथा उक्त विधिद्धारा आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थीको गुणीय चक्रबाट हुने फाइदाहरुका बारेमा प्रस्तुती गर्ने आयोजक क्वेष्ट नेपाल (क्वालिटि सर्कल्स इन एजुकेशन फर स्टुडेण्ट्स पर्सनालिटी डिभलपमण्ट नेपाल) ले जनाएको छ । 

कार्यक्रमका बारेमा जानकारी  दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले कार्यक्रमको महत्व र यस बर्षको तयारी बारे जानकारी दिए । सम्मेलनको शिक्षा मन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । 

महर्जनका अनुसार सम्मेलनमा विद्यार्थीले  कोलावोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, क्वालिटि हाजिरी जवाफ, प्यानल डिस्कसन, मनशा स्मृति सर्व गुणीय व्यक्ति अवार्ड कार्यक्रममा सहभागिता जनाउने छन् । यसको अलावा विद्यार्थीले जिम्न्याष्टिक फर अल, फुटबल इग्लिङ्ग, विज्ञान सम्वन्धी कार्यशाला, डिजिटल कार्यशालामा समेत सहभागीता जनाई जीवन जिउने कला सिक्ने आयोजकको दावि छ ।  

गुणीय चक्रमा सम्मिलित भई विद्यार्थीले आफुलाई सर्व गुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न सम्मेलन उपयोगी हुने महर्जनको भनाई छ । 

क्वेष्ट नेपालका सदस्य मोहन कुमार कार्कीका अनुसार यस बर्षको सम्मेलनमा १ हजार १ सय विद्यार्थी सहभागी हुने छन् । यस वर्ष देश भरीका २० वटा हबहरुवाट छानिएका विद्यार्थी प्रतिनिधिहरुले विद्यार्थीको गुण्ीाय चक्रको कार्य प्रतिवेदनको प्रस्तुतीकरण गर्ने छन् । 

झापा, सुनसरी, मोरङग, बारा, मकवानपुर, धनुषा, चितवन, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट ९० विद्यालयका ६ सय आवासीय र ५ सय गैर आवासीय विद्यार्थी सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा २ सय पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्हरुले सहभागिता जनाउने आयोजकको भनाई छ । 

विद्यार्थीको क्षमता प्रस्फुटन गर्ने उक्त सम्मेलन आफ्नो विद्यालयमा आयोजना गर्न पाउँदा खुसी लागेको ग्यालेक्सिकी प्रिन्सिपल गिता राणाले बताईन् ।   

क्वेष्ट नेपाल समान विचार धारा भएका शिक्षाविद्हरुद्धारा विद्यार्थीको गुणीय चक्रको प्रचार र कार्यान्वयन गरी सार्थक सामाजिक, असल र चलाख विद्यार्थी उत्पादनको लागि प्रशिक्षित गर्ने उद्देश्यका साथ स्थापना गरिएको एक संस्था हो । हाल २ सय भन्दा वढि विद्यालयहरुमा सहायक पाठ्यक्रमको रुपमा विद्यार्थीको गुणीय चक्रको प्रशिक्षण तथा पठनपाठन भईरहेको छ । 

विद्यार्थीको गुणीय चक्रको अवधारणालाई नेपालमा दिनेश प्रसाद चापागाईँले सन् १९९९ मा भित्रयाएका हुन् ।  

विद्यार्थीको गुणीय चक्रको अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा बस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न लागु गरिएको गुणीय चक्रको अवधारणाबाट लिईएको हो । विद्यार्थीको गुणीय चक्र विश्वका २५ भन्दा वढि देशहरुमा निकै लोकप्रिय भईरहेको छ । हरेक वर्ष देशव्यापि रुपमा क्वेष्ट नेपालले विद्यार्थीको गुणीय चक्र प्रर्वद्धनका लागि स्थानीय सम्मेलन र क्षेत्रीय सम्मेलन पछि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गरेको छ । 

सम्मेलनमा अमेरिका, स्वीट्जरल्याण्ड र श्रीलंकाबाट अन्तर्राष्ट्रिय प्रतिनिधिहरु समेत सहभागि हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया