Edukhabar
आइतबार, ०८ असार २०८२
गतिविधि

विद्यालयमा भएको निजी लगानी उच्च शिक्षामा केन्द्रित गर्न आह्वान

मंगलबार, २८ फागुन २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा भएको निजी लगानी उच्च शिक्षामा केन्द्रित गर्न विद्यालय सञ्चालकलाई आह्वान गरेका छन् । निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनको १४ औं महाधिबेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले देशको बदलिएको परिवेशमा निजी विद्यालय सञ्चालकहरुको भूमिका माथि छलफलको खाँचो रहेको उल्लेख गरेका हुन् ।

हालै अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परेको घटना स्मरण गर्दै उनले ती विद्यार्थीलाई नेपालमै रोक्ने गरी शिक्षा प्रणाली विकास गर्न खाँचो रहेको बताए ।

'नेपाली विद्यार्थीले अष्ट्रेलियामा दुख पाए' विद्यालय सञ्चालकहरुलाई सम्बोधन गर्दै उनले भने 'तपाईहरुले विद्यालय शिक्षामा आफ्नो तेतृत्व, व्यवस्थापकीय क्षमता र उत्तरदायित्वको दृष्टिले प्रणाली निर्माण गर्नु भएको छ, म मन्त्रीको हैसियतमा आह्वान गर्छु अब तपाईहरु उच्च शिक्षामा आउनु पर्छ ।'

राज्यले शिक्षामा लगानी गर्न नसकेको बेला अभिभावकको श्रोतबाट २१ प्रतिशत हिस्सामा निजी क्षेत्रको योगदान रहेको भन्दे मन्त्री पोखरेलले उनीहरुको प्रशंसा पनि गरे । 

'तर अहिले हामी नयाँ ठाउँमा छौं, परिस्थिती र भूमिका बदलिएको छ, यसलाई सही ढंगले बुझ्न र बदलिएको परिवेशमा भूमिकालाई बुझ्नु र बुझाउनु पनि तपाईहरुको दायित्व हो' उनले भने, 'सार्वजनिक र निजी, गाउँ र शहर, प्रविधयुक्त र प्रविधि नभएको आधारमा शिक्षामा खाडल छ, त्यसलाई समान बनाउनु पर्ने छ ।'

निजी विद्यालयमा पढेका विद्यार्थी विदेशीने क्रम बढदो रहेको तर्फ संकेत गर्दै उनले विद्यार्थीलाई यूरोप र अमेरिका नभई नेपालको सपना देखाउने बनाउन आह्वान पनि गरे । 

देशको बदलिदों व्यवस्था र संरचना सुहाउँदो शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र गुठिमा रुपान्तरण गरी नियमन गर्न सुझाव दिएको छ । उक्त सुझाव पछि विद्यालय सञ्चालकहरु आक्रोशित बनिरहेका बेला मन्त्री पोखरेलले लगानी र सम्पत्तिको सुरक्षा गर्न राज्य प्रतिवद्ध रहेको बताए । 

'तपाईहरुको लगानी खेर जाँदैन, तर शिक्षा सेवाको क्षेत्र हो, अरु व्यवसाय जस्तो हैन' उनले भने, 'हामीलाई हिँडाउने संविधानले हो, संविधानले सार्वजनिक शिक्षा सवल र निजीलाई ब्यवस्थित र नियमन गर्न भनेको छ ।'

यस अघि प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गाना र महासचिव राजेन्द्र वानियाले निर्माणको प्रकृयामा रहेको शिक्षा ऐन मार्फत् राज्य निजी लगानीका विद्यालय प्रति अनुदार बनन लागेको भन्दै आपत्ति जनाएका थिए । उनीहरुको उक्त कुरालाई लक्षित गर्दै मन्त्री पोखरेलले निजी विद्यालयमाथि कुनै संकट नभएको भनदे विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्न आवश्यक नभएको उल्लेख गरे । 

ऐन निर्माण अघि सरोकारवालाको सामेलीमा नीति बनाउने भन्दै मन्त्री पोखरेलले निर्भयता पूर्वक विचार प्रवाह गर्न र सम्बादबाटै नयाँ चुनौती समाधान गर्न आफू तयार रहेको पनि उल्लेख गरे । छलफल बाँकी नै रहेकोले शिक्षा ऐन संसदको जारी हिउँदे अधिवेशनमा पेश नहुने पनि उनले बताएका थिए । 

पढ्नुहोस् : शिक्षा ऐन संसदको जारी अधिवेशनमा पेश नहुने

कार्यक्रमका प्रमुख अतिथी सभामुख कृष्णबहादुर महराले विभिन्न ब्यक्तिलाई सम्मान गरे । विद्युत प्राधिकारणका प्रमुख कार्यकारी कुलमान घिसिङ्लाई प्याब्सन राष्ट्रिय रत्न ज्योती सम्मानबाट सम्मानित गरिएको घोषणा गरिएको थियो । घिसिङ् भने देश बाहिर रहेकोले उपस्थित हुन नसकेको जानकारी दिईयो । निजी विद्यालय सञ्चालक तथा प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका सांसद उमेश श्रेष्ठलाई प्याब्सन गौरव सम्मान  प्रदान गरियो । पत्रकारहरु प्रकृती अधिकारी, ईश्वरराज ढकाल र राजन शर्मालाई समेत कार्यक्रममा सम्मान गरियो । एसईईमा सामुदायिक विद्यालय तर्फ राम्रो नतिजा ल्याउने गोरखाकी एञ्जिला तिवारी र निजी तर्फ राम्रो गर्ने भोजपुरकी सुदिका खड्कालाई पनि कार्यक्रममा सम्मान गरियो । प्याब्सन हरिहर शास्त्री शैक्षिक पुरस्कारबाट उपप्राध्यापक देवी घिमिरेलाई सम्मान गरियो । यस्तै प्याब्सनले स्थापना गरेका विभिन्न सम्मान र पुरस्कारबाट विभिन्न जिल्लाका अध्यक्ष र सल्लाहकारलाई पनि सम्मान गरेको छ । 

जारी महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि वरियठ उपाध्यक्ष डीके ढुङ्गाना र सल्लाहकार टीका पुरी प्यानल बनाएरै उत्रिएका छन् ।  

प्रतिक्रिया