Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

तेस्रोलिंगी कस्ता व्यक्तिलाई भनिन्छ ?

विहीबार, १० मंसिर २०७२

काठमाडौं - तेस्रोलिंगी कस्ता व्यक्तिलाई भनिन्छ ? जोसेफ इङलिस बोर्डिङ स्कूल कपनका एक विद्यार्थीले भने – 'आधा महिला र आधा पुरुष हुनेलाई तेस्रो लिंगी भनिन्छ ।'

कार्यक्रममा सहभागि अधिकारकर्मीहरु मुखामुख गरे, यसका बारेमा थाह नपाएका विद्यार्थी भने गलल्ल हाँसे । प्रश्न गर्ने तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले भनिन्, 'कतिपय कार्यक्रममा तीन वटा लिंग हुनेलाई तेस्रोलिंगी भनिन्छ हो ? भनेर पनि सोध्ने गर्थे ।'

समलिंगी तेस्रोलिंगी समूदायको संस्था नील हिरा समाजले विद्यार्थीका लागि सुरक्षित वातावरण सृजना गर्न शुरु अभियानको पहिलो कार्यक्रममा अर्का एक बिद्यार्थीले सोधे, तपाईहरु रिलेसन कसरी राख्नु हुन्छ त ? यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले बुझाउन खोजिन्, म जन्मदाँ पुरुष हुँ तर बिद्यालयमा शौचालयको प्रयोग गर्दा कि त कक्षा चलिरहेको समयमा कि त बिद्यालय छुट्टी भएपछि कसैले थाहा नपाउने गरी पुरुषले प्रयोग गर्ने शौचालय प्रयोग गर्थें ।

भूमिका र सिमरन तेस्रोलिंगी महिला हुन् । 'जन्मदाँ छोरा तर हुर्कदै बढ्दै जादाँ महिलाको स्वभाव र हाउभाउ हुनेलाई तेस्रोलिंगी महिला भनिन्छ' नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, 'म जन्मजात तेस्रोलिंगी हुँ । मलाई कसैले सिकाएर तेस्रोलिंगी भएको होइन, हामी प्राकृतिक हौं ।'

समलिंगी, तेस्रोलिंगी  र अन्तरलिंगीका बारेमा बुझाउँदै गर्दा ढकालले विद्यार्थीका विचमा यही समूहका विद्यार्थी पनि हुन सक्ने भन्दै यदी त्यस्ता विद्यार्थी छन् भने भेदभाव र दुरव्र्यवहारनहोस् भनेर कार्यक्रम शुरु गरेको बताईन् । यस्ता विद्यार्थीलाई भेदभाव नगर्न उनले शिक्षक, बिद्यार्थीलाई आग्रह पनि गरिन् ।

'स्कूलमा राम्रो वातावरण भएमा हामी जस्ता समलिंगी तेस्रोलिंगीले सहज रुपमा शिक्षा लिन पाउँछौं' ढकालले भनिन्, 'यस्ता बिद्यार्थीलाई विभेद र दुरव्र्यवहार नहोस् ।'

नील हिरा समाजका सुमन नेपालले आमा बाबुले सिकाएर समलिंगी तेस्रोलिंगी नहुने भन्दै विद्यार्थीलाई सोधे, 'के तपाईहरुलाई बाबा ममीले महिला या पुरुष बन्न भन्नु भएको छ ?' समलिंगी महिला र समलिंगी पुरुषलाई सहजै चिन्न नसकिए पनि हाउ भाउ र बानी व्यवहार स्वीकार नगर्दा आफ्नो यौनिकता लुकाएर बस्नु पर्ने बाध्यता हुने गरेको उनले बताए ।

समाजकै पिटर तामाङले आफू जस्ता समलिंगी पुरुषलाई विभेद र दुरव्यवहार हुने गरेकाले यो अभियान थालेको वताए । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका भरत शाक्यले यौनिकताका आधारमा कसै माथि विभेद हुन नहुने वताए ।

स्कूलका सहायक प्रधानाध्यापक दीपक अधिकारले मानव मानवबीच विभेद हुनु नराम्रो भएको वताए । आफ्नो बिद्यालयमा यस्ता बिद्यार्थी भएमा सम्मानका साथ शिक्षा लिने वातावरण छ अधिकारीले भने, 'समलिंगी तेस्रोलिंगी हुनु कुनै अपराध होइन ।' विद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीलाई विभेद नगर्ने भन्दै अरुले गरेमा पनि नगर्न आग्रह गर्ने वताए ।

उनीहरुलाई नील हिरा समाजले टिसर्ट र क्याप वितरण गरेको थियो भने बिद्यार्थीले व्यानरमै विभेद र दुरव्यवहार हुन नदिने भन्दै हस्ताक्षर गरेका थिए ।

काठमाडौंका ५ वटा विद्यालयमा संचालन हुने अभियानका लागि युनेस्कोले आर्थिक सहयोग गरेको छ ।

प्रकाशित मिति २०७२ मंसिर १० गते

प्रतिक्रिया