Edukhabar
बुधबार, ०२ जेठ २०८१
गतिविधि

'शिक्षक कलेज कार्यक्रम' शुरु

कार्यक्रममा सहभागी शिक्षकहरुले तोकिएको असाईन्मेण्ट, तोकिएको समयमा अनिवार्य बुझाउनु पर्ने छ । अन्यथा उनीहरुले ग्रेड सीट पाउने छैनन् ।

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं - सामुदायिक विद्यालयको सिकाइमा थप सुधार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले 'शिक्षक कलेज कार्यक्रम' शुरु गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसंगको साझेदारीमा शुरु कार्यक्रममा महानगर भित्रका सामुदायिक विद्यालयहरुका दुई हजार शिक्षक सहभागी हुने भएका छन् । स्टिम शिक्षण पद्धती मार्फत् बालबालिकाको सिकाइलाई थप प्रभावकारी बनाउन र शिक्षकहरुको पेशागत सक्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम शुरु गर्न लागिएको बताईएको छ ।

सन् १९६० को दशकमा अमेरिकाबाट सुरू भएको स्टिम शिक्षण पद्धतीमा साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट्स र म्याथम्याटिक्स समावेश गरिन्छ । यी सबै विषयको सिकाइमा शिक्षकहरुको थप क्षमता विकास गर्न विश्वविद्यालयले यस अघि पाईलटिङ्का रुपमा ३९ जना शिक्षकलाई कार्यक्रममा समावेश गराएको थियो । एक क्रेडिट आवरको उक्त कार्यक्रमकै आधारमा शिक्षक कलेज कार्यक्रम शुरु गरिएको कार्यक्रमकी संयोजक एवं विश्वविद्यालयकी प्राध्यापक डा. पार्वती ढुगांनाले बताईन् । 

शुक्रबार एक कार्यक्रमका बिच महानगरकी उपमेयर सुनीता डंगोलले उक्त कार्यक्रममा सहभागी शिक्षकलाई ग्रेड सिट वितरण गर्दै नयाँ कार्यक्रमको शुरुवात गरिन् । सामुदायिक विद्यालयका शिक्षकलाई थप सक्षम बनाउन महानगरपालिकाले अधिकतम् प्रयास गरेको र सोही अनुरुप शिक्षकहरु पनि गम्भिर हुन उनले आग्रह गरिन् । 

'शिक्षकको क्षमता नबढाई समय अनुकुल विद्यार्थी तयार हुँदैनन्, त्यसैले विद्यार्थी लाभान्वित होउन् भनेर कार्यक्रम शुरु गरिएको हो' कार्यक्रममा सहभागि शिक्षकहरुलाई सम्बोधन गर्दै उनले भनिन्, 'तपाईहरु माथि महानगरले गरेको लगानी, साुमदायिक विद्यालयका बालबालिकाको सिकाइ सुधार गरेर व्याज सहित फिर्ता गर्नु हुने छ भन्ने विश्वास छ ।' 

सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्ने यो कार्यक्रमका लागि महानगरले दुई करोड ९५ लाख रुपैंया छुट्याएको छ । 

काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा. बालचन्द्र लुईंटेलले सामुदायिक विद्यालय सुधारको काम योजनामा केन्द्रित भएर नभई कार्यान्वयनमा केन्द्रित भए पछि मात्रै सम्भव हुने बताए । बालबालिकाको सिकाइमा प्रत्यक्ष सहभागी हुने शिक्षकलाई नै केन्द्रमा राख्ने र सिकाइ सुधार गर्ने कार्यक्रमको अवधारणा भएको उनले बताए । 

'योजना निर्माणमा ठूलो उत्साह हुन्छ, ४० प्रतिशत श्रोत र समय योजना बनाउनमै लाग्छ' उनले भने 'तर कार्यान्वयनमा ध्यान छैन, त्यसैले अब गर्नेमा समय दिउँ, नत्र भने गफाडीको देश बन्छ ।'

कार्यक्रमले शिक्षकलाई गर्न सिकाउने र त्यसले सामुदायिक विद्यालयको सिकाइ सुधार हुने उनले अपेक्षा गरे । 

बालबालिकाको सिकाइका सवालमा निर्धारण गरिएका ६ विधामा आवश्यकता पहिचान गरि कार्यक्रम लागू गरिएको बताउँदै कार्यक्रमकी संयोजक ढुगांनाले अबका विद्यार्थी अनुकल सिकाइका लागि शिक्षकको क्षमता विकास हुने अपेक्षा व्यक्त गरिन् । 

आगामी आईतबारबाट बैशाख ३१ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रम १६ घण्टाको हुने छ । जसमा ३ दिन विद्यालयमै प्रत्यक्ष कक्षा हुने छ । त्यसका लागि विश्वविद्यालयले विज्ञहरुलाई सम्बन्धित विद्यालयमै खटाउने छ । 
कार्यक्रममा सहभागी शिक्षकहरुले तोकिएको असाईन्मेण्ट, तोकिएको समयमा अनिवार्य बुझाउनु पर्ने छ । अन्यथा उनीहरुले ग्रेड सीट पाउने छैनन् । यस अघि गरिएको कार्यक्रममा सहभागी ३९ जना मध्ये ७ जनाले असाईन्मेण्ट नबुझाएकै कारण ३२ जनाले मात्रै ग्रेड सीट पाएको महानगर शहरी योजना आयोगका शिक्षा हेर्ने सदस्य शैलेन्द्र झाले बताए । 

'कार्यक्रममा सहभागी भएर पनि असाईन्मेण्ट नबुझाउनु भनेको तपाईले आफ्ना विद्यार्थी र विद्यालय प्रति अन्याय गर्नु हो' कार्यक्रममा सहभागी शिक्षकहरुलाई उनले भने 'यो कार्यक्रममा सहभागी भएर विश्वविद्यालयले प्रमाणित गरे पछि मात्रै ग्रेड सीट पाईन्छ ।' 

कार्यक्रममा सहभागीहरुले भविष्यमा स्टिममै विद्यावारिधी सम्म गर्न सक्ने बताउँदै उनले यस अघि कतै प्रयोगमा भएको कार्यक्रम नभई महानगरले मौलिक कार्यक्रम लागू गरेको बताए ।  

कार्यक्रम घोषणा समारोहमा हरेक विद्यालयबाट दुई जना महिला, एक जना प्रारम्भिक बाल विकास कार्यकर्ता, एक जना कर्मचारी र प्रधानाध्यापक हुने गरी २० प्रतिशत सहभागीता जनाउन महनागरले सूचीत गरेको थियो ।  

कार्यक्रममा महानगरका कार्यकारी प्रमुख प्रदीप परियार, शिक्षा शाखा प्रमुख सरस्वती पोखरेल, विश्वविद्यालयका स्टिम विभाग प्रमुख विनोद प्रसाद पन्त लगायतले शिक्षक कलेज कार्यक्रमको आवश्यकता र औचित्यबारे प्रकाश पारेका थिए । 

प्रतिक्रिया