Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
गतिविधि

विदेशी डिग्रीलाई कडाइ : नेपालमा पढाई हुने विषयको पनि क्यूएए हुनु पर्ने

यसअघि विश्वविद्यालयको मात्रै क्यूएए वा विश्व वरियतामा एक हजार भित्र हुनु पर्ने प्रावधान भए पनि अब विश्वविद्यालयको बरियतामा एक हजार भित्र र विश्वविद्यालय र विषयको क्यूएए हुनै पर्ने विज्ञ समितिले सरकारलाई सुझाव दिएको हो ।

बुधबार, २१ कार्तिक २०८१

काठमाडौँ – नेपालका विश्वविद्यालयले अध्ययन नगराउने शैक्षिक कार्यक्रम मात्रै विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गर्न सकिने विज्ञ समितिले सरकारलाई सुझाव दिएको छ । 

त्रिभुवन विश्वविद्यालयका प्रा. डा. बिनिल अर्यालको संयोजकत्वमा बनेको समितिले मापदण्ड पुरा गरेका, गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) र एक हजार  बरियता भित्र परेका विदेशी विश्वविद्यालयका कार्यक्रम  नेपालमा सञ्चालन गर्न चाहने नयाँ कलेजलाई अनुमति दिन बाटो खुलाएका हुन् ।  नेपाली विश्वविद्यालयमा सञ्चालनमा नरहेका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न मात्रै अनुमति दिनु पर्ने समितिले सुझाव दिएको हो ।

प्रतिवेदनमा भनिएको छ,‘मापदण्ड भित्र परेका विदेशी विश्वविद्यालयहरूमा सञ्चालित तर नेपाली विश्वविद्यालयहरूमा सञ्चालनमा नरहेका नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने गरी तोकिएका कानुन अनुसारका मापदण्ड पूरा गरी नयाँ अनुमतिका लागि आवेदन प्राप्त भएमा मन्त्रालयले आवश्यकता बमोजिम अनुमति प्रदान गर्ने ।’ अनुमति प्रदान गर्दा जनसंख्या र भूगोल तथा अन्य आवश्यकतालाई मध्यनजर गरिनुपर्ने समितिको सुझाव छ । 

विदेशी विश्वविद्यालयको शैक्षिक कार्यक्रमको समेत क्यूएए प्राप्त हुनु पर्ने समितिले सरकारलाई सुझाव दिएको छ । यसअघि नेपालमा सञ्चालन भएका कलेजको विदेशी विश्वविद्यालयको विश्व वरियतामा एक हजार भित्र हुनु पर्ने प्रावधान थियो । समितिले शैक्षिक कार्यक्रम सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालयले आफ्नो संस्थागत र शैक्षिक दुवैको क्यूएए प्राप्त गरेको हुनु पर्ने सिफारिस गरेको हो ।

प्रतिवेदनमा भनिएको छ,‘शैक्षिक गुणस्तर प्राप्त गर्ने सन्दर्भमा नेपालमा अवस्थित विश्वविद्यालयहरू समेत अनिवार्य क्यूएएको प्रक्रियामा जानै पर्ने नीतिगत व्यवस्था हुँदै गरेको सन्दर्भमा यी कलेजहरूमा सञ्चालित शैक्षिक कार्यक्रमहरू क्यूएए प्राप्त गरेको हुनै पर्ने सिफारिस गरिन्छ ।’ अहिले सञ्चालनमा रहेका सबै कलेजको पनि क्यूएएमा जानै पर्ने समितिको सिफारिस छ । 

विश्वविद्यालयको क्यूएए र विश्व बरिएताको एक हजार भित्र हुनै पर्ने 

त्यस्तै सम्बन्धन प्रदान गर्ने विदेशी विश्वविद्यालयहरू टाइम्स हाइहर एजुकेशन वल्ड र्‍याङकिङको एक हजार भित्र हुनै पर्ने व्यवस्था अनिवार्य गर्नु पर्ने समितिको सिफारिस छ । यसअघि एक हजार र्‍याङकिङ वा क्यूएए प्राप्त गरेको हुनु पर्ने कानुनी व्यवस्था थियो । पाँच वर्ष भित्र एक हजार भित्र हुनु पर्ने र हरेक वर्ष निवेदन दिएको हुनु पर्ने समितिको सिफारिस छ । क्यूएस वल्ड युनिभर्सिटी र्‍याङकिङको एक हजार भित्र परेका विदेशी विश्वविद्यालयहरूलाई पनि सम्बन्धन प्रदान गर्न अनुमति दिनु पर्ने सुझाव छ । 

त्यस्तै साङघाई जिओ टोङ युनिभर्सिटी र्‍याङकिङ चीनको एउटा विश्वविद्यालयले स्थापना गरेको र त्यसको सूचकहरूमा इतिहास र विद्यार्थीको संख्या समेतलाई राखिएको हुँदा यसलाई निर्देशिकाबाट हटाउनुपर्ने समितिको सुझाव छ ।

नेपालमा कार्यक्रम सञ्चालन भइरहेको विदेशी विश्वविद्यालयको क्यूएए छैन भने तीन वर्ष र एक हजारको बरियता भित्र छैन भन् पाँच वर्षको अवधि तोकेर मापदण्ड पूरा गर्न अवसर दिनपर्ने समितिको सुझाव छ । 

यो पनि पढ्नुहोस् - विदेशी विश्वविद्यालयको सम्बन्धन : 'वर्ल्ड र्‍याङक'को एक हजार र 'क्यूएए' दुबै हुनु पर्ने

प्रतिक्रिया