भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) को कापी परीक्षणको काम धमाधम शुरु भएको छ । कतिपय जिल्लामा शुक्रबारबाटै कापी परीक्षणको काम शुरु भएको छ । बाँकी रहेका जिल्लामा शनिबारबाट शुरु भएको हो । अहिले देशभरका ५० वटै केन्द्रमा कापी परीक्षण धमाधम भईरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तरगतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक डा. गणेश भट्टराईले बताए ।
कापी परीक्षणमा ३० हजार शिक्षक परिचालन गरिएको छ । विषयगत रुपमा तीन हजार शिक्षक परिचालन गरेर १५ दिनमा काम सक्ने बोर्डको योजना थियो । त्यसका लागि एक जना शिक्षकले दिनमा एकसय कापी जाँच्ने छन् भन्ने आधारमा परीक्षणको लागि १५ दिनको समय निर्धारण गरिएको थियो ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित सडक प्रदर्शनका कारण कापी परीक्षणको काम झण्डै एक महिना ढिलो गरी शुरु भएको हो । १७ गते बुधबार शिक्षक सरकार सहमती भएपछि शुक्रबारबाट शिक्षकहरुले कापी परीक्षणको जिम्मा लिन शुरु गरेका हुन् । सामान्य अवस्था हुन्थ्यो भने १५ दिन भित्र कापी परीक्षण सक्ने गरी बोर्डले योजना बनाएको थियो । शिक्षकको असहयोगका कारण धकेलिएको परीक्षणको काममा योग्यता पुगेका थप शिक्षकहरु परिचालन गरेर भएपनि चाँडै सक्न जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइसँग संयोजनमा काम भईरहेको भट्टराईले बताए ।
'यो काम शिक्षक भन्दा अरुबाट गर्ने काम नै भएन, त्यसैले योग्यता पुगेकाहरु मध्ये सकेसम्म धेरै शिक्षकलाई परीक्षणमा सहभागी गराउन भनिएको छ' उनले भने, 'अवस्था सामान्य हुन्थ्यो भने कापी परीक्षणका बेला शैक्षिक सत्र सकिएर विदा भएको समय हुन्थ्यो, अहिले विद्यालय खुलेको समय भएकाले शिक्षकहरुले पनि अतिरिक्त समयमा काम गर्नु पर्ने भएको छ ।'
कापी परीक्षण भएर आए पछि आन्तरिक प्रकृया सक्न एक महिनाको समय चाहिने उनले बताए । नतिजाको विषय संवेदनशील भएकाले गोप्य शाखामा निश्चित व्यक्ति भन्दा धेरैलाई सहभागी गराउन नहुने बताउँदै उनले कापी परीक्षण कहिले सकिन्छ त्यही आधारमा नतिजा कहिले गर्ने भन्ने तय हुने बताए ।
'नतिजाको काम आफैंमा ज्यादै गोप्य र सुरक्षित तवरले गर्नु पर्ने काम हो, प्रोसेसिङ्मा जनशक्ति थप गर्ने अवस्था हुँदैंन, बरु भेरिफाई गर्ने समयमा जनशक्ति थप गरेर काम गर्न सकिन्छ' उनले भने 'शिक्षकहरुबाट परीक्षण कहिले सकिन्छ त्यस पछि मात्रै नतिजा कहिले निकाल्न सकिन्छ भन्न सकिन्छ ।'
बोर्डले यस अघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । योजना अनुसार कापी परीक्षणको काम शुरु हुन्थ्यो भने असार ७ गते आसपासमा नतिजा सार्वजनिक गर्ने कार्यतालिका तयार गरेको थियो ।
एउटा कापी परीक्षण गरे वापत शिक्षकले २४ रुपैंया पाउँछन् ।
प्रतिक्रिया