Edukhabar
विहीबार, १९ असार २०८२
गतिविधि

उत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीलाई अरनिकोले गर्‍यो सम्मान

७६ जनाले परीक्षा दिएकोमा ७५ जना ग्रेडेडलाई विद्यालयद्धारा सम्मान, ग्रेडेड भएका ७५ मध्ये ६३ जना अर्थात् ८४ प्रतिशतले ३ देखि ३.८७ जीपीएसम्म ल्याएका छन् ।

विहीबार, १९ असार २०८२

भक्तपुर - सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ट नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले बुधबार एक कार्यक्रम गरेर ग्रेडेड ७५ विद्यार्थीलाई सम्मान गरेको हो । 
अरनिकोका ७६ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा ७५ जना ग्रेडेड भएका छन् । यो नगरपालिकाकै उत्कृष्ट नतिजा भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालले बताए । 

‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत ल्याउने विद्यालय पनि छन् तर, उच्च जीपीए सहित सबैजसो विद्यार्थी ग्रेडेड गराएर अरनिकोको नतिजा उत्कृष्ट छ’ उनले भने । 

विद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार श्रेष्ठले यसपालि प्राप्त ३.८७ जीपीएको नतिजा विद्यालयको अहिलेसम्मकै उत्कृष्ट रहेको बताए ।  गतवर्ष ८२ प्रतिशत ग्रेडेड भएकोमा यसपाली ९९ प्रतिशत पु¥याउन सफल भएको उनले बताए । 

‘यो नतिजालाई कायम गर्दै सत प्रतिशत पुर्‍याउने विद्यालयको आगामी लक्ष्य हुने छ’ उनले भने । 

७५ मध्ये ३.६ जीपीए भन्दा बढी ल्याउने मध्ये नै १९ जना अर्थात २५ प्रतिशत छन् । त्यस्तै ३.०१ देखि ३.८७ जीपीए ल्याउने ६३ जना अर्थात ८४ प्रतिशत छन् । 

सिकाइमा कमजोर भएकाको पहिचान गरेर उपचारात्मक कक्षा चलाउने, नियमित कक्षा बाहेक बिहान बेलुका अतिरिक्त कक्षा, हरेक विद्यार्थीलाई निगरानी गरेरकै कारण नतिजा सुधार गर्न सकेको प्रधानाध्यापक श्रेष्ठले बताए । हरेक परीक्षा पछि गरिने नतिजाको विश्लेषण गर्ने कार्यले पनि नतिजा सुधारमा काम गरेको उनले बताए । 

‘शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथले नतिजा सुधार गरेर हामी यहाँसम्म आइपुगेका हौँ’ उनले भने । 

विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमबहादुर खड्काले विद्यालयको नतिजाले सामुदायिक विद्यालयको हैसियत देखाइदिएको बताए । ‘नतिजासंगै विद्यार्थीलाई संस्कार र सिप पनि सिकाउने व्यवस्था मिलाउनु जरुरी छ’ उनले भने । 

व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर चारका वडा अध्यक्ष लक्षुराम न्यौपानले विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रममा कुनै कमी आउन नदिने बताए । 

‘अहिलेसम्म नगरपालिकाको साथ छँदैछ । यस अनुसार नगरले नै गर्व गर्ने नतिजा आएको छ’ उनले भने,‘आगामी दिनमा यसलाई कायम राख्दै अझ गुणस्तर बढाउन काम गर्नु पर्नेछ । स्रोतको कमी हुने छैन ।’ 

व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि पाण्डप अधिकारीले विद्यार्थीको नतिजाले शिक्षकको मेहनतलाई समेत देखाइ दिएको बताए । 

‘शिक्षकले जति मिहेनत गरेका थियौँ । त्यसको नतिजा आएको छ । विद्यार्थीसंगै शिक्षक पनि सफल भएका छौँ । यसलाई निरन्तरता कायम हुने गरी फेरी काम गर्नु पर्ने भएको छ’ उनले भने ।

कक्षा ११, १२ मा अध्ययापन गराउँदै आएका शिक्षक एवं उद्योग वाणिज्य संघ भक्तपुरका बरिष्ठ उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले जुन विद्यालयबाट उत्कृष्ट जीपीए साथ ग्रेडेड भएको हो त्यही ११ र १२ समेत सञ्चालनमा रहेकोले भर्ना हुन आग्रह गरे । बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने अरनिकोमै पढाई हुने भएकोले आफ्नै विद्यालयमा पुनः पढाई गर्न उनले विद्यार्थीलाई आगह गरेका हुन् ।

‘घर छेउमा पढ्दा न गाडी भाडा लाग्छ न त खाजा र खानाकै बढी पैसा लाग्छ’ उनले भने,‘घरको खाना खाएर सस्तोमा अध्ययन गर्न पनि अरनिको रोज्नुस्’ विद्यार्थीलाई उनले भने । 

प्रतिक्रिया