काठमाडौ - उपकुलपति नियुक्तिको भोलिपल्टै बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा सिनेटले ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थी सहितको ग्रेस लिष्ट बैठकले पारित गरेको हो ।
प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आर्थिक वर्ष २०८२ ०८३ का लागि बजेट तथा कार्यक्रम पनि प्रस्तुत भएको छ ।
कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्नु पर्ने बताए । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा बताए ।
नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।
नवनियुक्त उपकुलपति अर्यालले बुधबार नियुक्ति पत्र बुझेर साँझ पदभार ग्रहण गरेका थिए । उनको नियुक्ति प्रति सत्ताधारी दल निकट विद्यार्थी संगठनले समेत विरोध गर्दै आएको छ । प्रतिस्पर्धा विनै नियुक्ति गरिएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् । विरोधका कारण असहज अवस्था हुन सक्ने आँकलन गरि बैठक बालुवाटारमा राखिएको हो । यस अघि बैठक प्रायः विश्वविद्यालयमै राखिन्थ्यो ।
प्रतिक्रिया