विश्वविद्यालयबाट राजनीति अलग्याउन मिल्दैन : प्रा. डा. तीर्थ खनिया


नव नियुक्त उपकुलपति, त्रिभुवन विश्वविद्यालय

हालै त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएपछि प्रा डा तीर्थ खनिया चर्चा र विवादमा छन् । उनको नियुक्ति प्रति असहमति जनाउँदै विश्वविद्यलायमा तालाबन्दी भएको छ । उनको नियुक्तिसँगै उनलाई वौद्धिक चोरीको आरोप पनि लागेको छ ।

विद्यालय र विश्वविद्यालय शिक्षामा लामो समय काम गरेको अनुभव संगालेका उनले यसअघि योजना आयोगको सदस्य, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष,  आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाको प्रमुख भएर काम गरिसकेका छन् । उपकुलपति नियुक्ति पछि उनले एडुखबरका सम्पादक श्रीधर पौडेल सित विश्वविद्यालय विकास र वौद्धिक चोरीको आरोप बारे बोलेका छन् ।

- वर्षौदेखि तपाई जुन पदको आकांक्षी हुनुहुन्थ्यो पाउनु भयो, कस्तो अनुभव गरिरहनु भएको छ ?

मिक्स्ड फिलिङ्मा छु । हो, यो मैले जीवनमा आफुले बन्न खोजेको र चाहेको पद हो । त्यो मिलेको पनि यसै पटक हो । यस भन्दा अघि मैले बन्नै खोजेर र बस्न खोजेर पाएको पद होइन । तँ बन्दिन पर्यो भनेर पाएको पद हो । यो पद मेरो ईच्छा थियो । उपकुलपति, विश्वविद्यालय, उच्च शिक्षाका बारेमा तीसौं लेख प्रकाशित छन् मेरा । मलाई हामी जस्ता मान्छे गएर यो पदमा काम गर्यो भने केही गर्न सकिन्छ कि जस्तो लाग्थ्यो । किन भने म विश्वका टप टप विश्वविद्यालयमा गएको छु । दुईटामा त म पढेको छु । एउटामा पिएचडी गरें अर्कोमा पोष्ट पिएचडी गरें ।

उपकुलपति पद भनेको मेरो लागि एकदमै आर्कषक पद हो । प्रधानमन्त्री, शिक्षामन्त्री, राजदूत त्यो मेरो लागि आर्कषक पद हैन । यो पद जिवनमा लिन खोजेको, मेरो आत्माले मागेको रैछ अहिले मिल्यो । यो पद मार्फत म पढेको त्रिभुवन विश्वविद्यालय, म आज जे हुँ त्यो बनाउने विश्वविद्यालय, र त्यो पद मार्फत् विश्वविद्यालय र देशलाई बनाउने काममा लाग्छु । यो भन्दा अलग देख्नु भो भने औंला ठड्याउनु होला ।

- नियुक्ति सितै विरोध पनि सुरु भइसक्यो, विश्वविद्यालयमा समस्याको चांङ् त अर्कोतिर छँदैछ, कसरी अघि बढ्नु हुन्छ ?

चुनौति नभएको भए मेरो छनौट नै हुँदैनथ्यो यहाँ । अरु कसैको हुन्थ्यो । चुनौतिनै देखेर मेरो छनौट भएको हो । म त्यो चुनौति सामना गर्न सक्छु । पहिलो चुनौति भूकम्प पीडित भनेको त त्रिविको भीसीनै हो, अफिसनै छैन । कार्यालय कोल्याप्स गरेको छ । मैले विश्वबैंक सँग कुरा गरिसकेँ । त्यो भत्किएको संरचना प्रकृया पुरा गरेर सम्पूर्ण विश्व बैंकबाट वा आँशिक सहयोग ल्याएर चाँडैनै निर्माण शुरु हुन्छ ।

अर्को कुरा तालाबन्दी । उहाँहरुसँग मेरो कुराकानी भईराखेको छ वार्ता भईराखेको छ । प्रत्यक्ष रुपमा तपाईसँग हाम्रो विरोध हैन, यो चाँही राष्ट्रिय राजनीतिले ल्याएको वातावरण अनुसार तालबन्दी गरेका हौं भन्नु भो उहाँहरुले । तालाबन्दी भए पनि भत्किएको भग्नाबशेष चाँडैनै निर्माण प्रकृया शुरु हुने छ ।

मेरो पहिलो चुनौति त्यो भवन निर्माण हो । त्यसका लागि म सके सम्म प्राध्यापक ज्यु हरुलाई दुःख दिन्न, राष्ट्रिय बजेट सके सम्म कम प्रयोग गरेर दातृ संस्था सहयोगी हातहरु अघि बढाएर निर्माणमा लाग्छु ।

- हिजो त्रिविमा चरम राजनीतिकरण भयो भन्ने तपाईं, आज तपाइँकै राजनीतिक नियुक्ति हुने, अरु भन्दा तपाइँ फरक हुनुहुन्छ भन्ने अपेक्षा कसरी गर्ने ?

विश्वविद्यालयबाट राजनीति अलग्याउनै मिल्दैन । विश्वविद्यालय भनेको राजनीतिका सिद्धान्त उत्पादन गर्ने थलो हो । हाम्रा प्राध्यापकहरुले अनुसन्धान गरेर अन्र्तराष्ट्रिय किताव पढेर राजनीति शास्त्रका सिद्धान्त दिनुहुन्छ । उहाँलाई राजनीतिबाट अलग्उयाउन सकिदैंन । मात्रै के हो भने उहाँले राजनीतिक चिन्तन दिने हो राजनीति गर्ने हैन । त्यसो भएर विश्वविद्यालयको राजनीति नबुझ्ने मान्छे भीसी हुन गाह्रो हुन्छ ।

- यहाँ त, सिद्धान्त उत्पादन भन्दा दलीय कार्यकर्ता र कोटा उत्पादन भयो हैन ?

हैन, मैले त्यही भनेको विश्वविद्यालयको, देशको राजनीति बुझ्ने मान्छे भीसी हुनु पर्छ, गर्ने मान्छे हैन बुझ्ने मान्छे ।

- संविधान सभा चुनावमा कांग्रेसको उम्मेदवारको कोटामा हुनुहुन्थ्यो, तपाई राजनीति बुझ्ने कि गर्ने मान्छे ?

हैन । राजनीति गर्या भए त मैले टिकट पाई हाल्थेँ नी , नगर्या भएर त मैले टिकट पाईन नी । मैले २०–२५ बर्ष देखि उच्च शिक्षाको नीति बनाउने, विश्वविद्यायको नीति बनाउने कुरामा, चिकित्सा शिक्षा बारेको नीति लगायत धेरै नितीगत कुरामा प्रतिवेदन दिएँ । नेपालमा शिक्षामा सबै भन्दा धेरै प्रतिबेदन दिनेमा मै छु होला । अनुसन्धान गर्ने पनि म तर मैले दिएका प्रतिवेदन लागू भएनन् । अनी मलाई के लाग्यो भने, बरु आफैं मन्त्री भए लागू गर्न सकिन्छ की भनेर टिकट मागेर चुनाव लडेर मन्त्री हुन खोजेको टिकटै पाईएन त्यो च्याप्टरनै क्लोज भो । राजनीति गरेको भए त टिकट पाइहालिन्थ्यो नी । त्यसैले राजनीति नगरेको कारणबाट म टिकटमा रिजेक्ट भएँ ।

- शिक्षा मन्त्रीको, आर्थिक चलखेलको आलोचना गर्नु हुन्थ्यो हिजो, अहिले तपाईकै नियुक्तिमा पनि आर्थिक चलखेलको कुरा आएको छ नि ?

खै मलाई यसबारेमा केही जानकारी भएन । मैले सुनैकै छैन, देखेकै छैन, बुझेकै छैन । एब्सुलिट्ली मलाई जानकारी नभएको कुरा सोध्नु भो । र मलाई के लाग्छ भने यो भुङ्ग्रोमा पैसा तिरेर को चाँही जान्छ होला ? गर्नु नै के छ र ? भुङ्ग्रोमा पैसा तिरी तिरी जाने रहर कसैले गरे जस्तो लाग्दैन मलाई ।

- भद्रगोलहरुको भुंग्रो रहेको विश्वविद्यालयको नेतृत्वमा हुनुहुन्छ, त्यो भुंग्रो कसरी छिचोल्नु हुन्छ ?

पहिलो कुरा त के हो भने त्यहाँका स्टेकहोल्डर समझदार छन् । प्राध्यापक, विद्यार्थी, समझदार छन् । पढे लेखेका छन् । विश्वको रंगमञ्च देखेका छन् । विश्वमा पढेर आएका छन् । बनाउँ भन्ने सोच भएका छन् । बनाउने लिडरसीपले पहल गरे अग्रसर भएर साथ दिनुहुन्छ । आफू पढेको विश्वविद्यालय बनाउन कसलाई मन लाग्दैन र ?

तपाईले पढेका स्कुल कलेज बनाउन मन छैन र ? तपाईको मन जितेर बनाउँ भन्ने वातावरण बनाएँ भने त अहिले भर्खर तपाई सहमत हुनुहुन्छ । त्यसो भएर मैले हाई प्रायोरीटिमा राखेका कुराहरु मध्ये एउटा कुरा एल्मुनाई हो । त्रिविका उत्पादन, त्यो एल्मुनाईलाई म परिचालन गर्छु । त्रिवि पढेर ठूलो ठूलो पद र जिम्मेवारी लिएकाहरुसँग म कुराकानी गर्छु । उहाँहरु त्रिविको ठूलो प्रोपटी हो, त्यो प्रोपटिलाई त्रिविको हितमा प्रयोग गर भन्छु । प्राध्यापक ज्यूहरुलाई राम्रो संग पढाउने बतावरण बनाउन म पहल गर्छु र विद्यार्थीलाई परीक्षा र पठन पाठनको माध्यामबाट । पढ्ने समय फुलटाईम पढुँ, पहिलो पढ्ने कुरा हो दोश्रो अरु कुरा हो भन्छु ।

- राजनीतिक कोटाको ट्याग त छँदैछ, उपकुलपति पदले तपाइँलाई वौद्धिक चोरीको आरोप पनि लाग्यो नि हैन ?

त्यसको दुईवटा पाटो छ । पहिलो त्यो बौद्धिक चोरीको परिभाषा के हो ? जसले त्यो लेख लेख्यो त्यो सबै विचार उसैको होला त ?

- तपाईको लेखमा अर्को लेखकको विचार हुवहु आएको छ, अनि त्यो वौद्धिक चोरी होइन ?

भाषा चोरी भो भन्नुहोस् न, बुद्धि हैन भाषा । भाषाको एक्नलेजमेण्ट हुनु पथ्र्यो । हामीले अहिले सम्म लेखेको कितावमा लेखमा के ति विचारहरु अभिब्यक्त भएका छैनन् होला त ? भाषामा एक्नलेज गर्नु पथ्र्यो । छुटेको कुरा हेर्ने जिम्मा सम्पादक मण्डलको हो । त्यो कुरा त्यो जर्नलको सम्पादक मण्डलमा जानु पथ्र्यो । पहिलो जिम्मेवारी सम्पादक मण्डलको हो त्यसपछि मेरो हो ।

- विश्वको टप विश्वविद्यालय पढेको तपाईं अरुको लेख सारेर अहिले सम्पादकलाई दोष दिएर पन्छाउन मिल्छ ?

यो कुरा खास खास ईभेन्टको बेलामा उठ्छ । त्यो समस्या जति बेला आयो सम्पादन मण्डलसँग कुरा गरेर एक्नलेज भईसक्यो । धेरै अघि लेखिएको त्यो मेरो पुस्तकमा त्यो सन्दर्भ र अन्र्तराष्ट्रिय लिटरेचरहरु प्रकाशन भएर पढाई भईराखेको छ अहिले । प्रकाशनमा आईसकेको छ । त्यो कुरालाई एक्नलेज नगरेर फेरी भीसी नियुक्तिको बेला ठ्याक्कै त्यसैलाई अवरोध गर्न ल्याईएको हो । तै पनि जसले उठाउनु भो म सम्मान गर्छु । हामी जस्तो सार्वजनिक पदमा बसेर काम गर्न खोज्ने मान्छेको निम्ति यी कुरा उठ्नु पर्छ बहसमा आउनु पर्छ । र निराकरण हुनु पर्छ ।

- मूल लेखकले पनि त यसबारे कम्प्लेन गरे नि होइन ?

जहाँ सम्म यो विषय बस्तु छ त्यसको के हुन्छ भने पहिला आरोप लगाउनु पर्यो, कम्प्लेन गर्नु पर्यो, पीडित पक्ष उभिनु पर्यो, उभिएपछि कानूनी ब्याख्या खोज्नु पर्यो । चोरी भनेपछि त कानूनी प्रकृया होला नी त । बाटैमा हावामा त हुँदैन होलान नी त । कम्प्लेन गर्नु पर्यो, कम्पिटेन्ट अथोरीटिले जाँच बुझ गर्नु पर्यो । त्यसपछि कति प्रतिशत (१०̸१२ हो की पुरै हो की) त्यसको छानविन भएर अघि जान्छ र निराकरण हुन्छ ।

त्यसको आफ्नै एउटा नेचुरल कोर्स छ । विच विचमा मन लाग्या बेलामा मन लाग्या ढंगले जाने एउटा हुन्छ, तर त्यसको एउटा नेचुरल कोर्स हुन्छ । पीडित पक्षले त्यसको एउटा नेचुरल कोर्स अघि बढाउनु उपयुक्त हुन्छ ।