भक्तपुर भन्ने वित्तिकै एकै पटक आउने दुई चित्र हुन् – सांस्कृतिक र राजनीतिक ।
सांस्कृतिक रुपमा प्राचिन सभ्यता र संस्कृती अनी राजनीतिक कोणबाट हेर्दा नेपाल मजदुर किसान पार्टि (नेमकिपा) को आधार क्षेत्रका रुपमा आम मानिसले भक्तपुरलाई चिन्दै आएका छन् । पछिल्लो समय भक्तपुर भन्ना साथ शिक्षा क्षेत्रमा अपनाईएको कार्यशैली पनि अघिल्तिर आउन थालेको छ । खास गरी नयाँ संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेसँगै भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा अपनाएको नयाँ शासकीय प्रवन्धका विषय चर्चामा छन् । राजनीतिक अस्थिरताले शैक्षिक प्रवन्धमा दीर्घकालिन काम हुन सकेन भन्ने गुनासो सुनिन्छ, भक्तपुर नगरपालिकामा त नेमकिपाले नै लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आईरहेको छ, यसले नगरपालिकाको शिक्षा नीतिमा कस्तो प्रभाव परिरहेको छ ? नगरपालिकाले शैक्षिक सुधारमा के कस्ता अभ्यास गरेको छ ? अबका योजना र सोच के छन् ? नगर प्रमुख सुनिल प्रजापतिसँग हरिसुन्दर छुकांले यी र यस्तै शैक्षिक विषय केन्द्रित भएर गरेको लामो कुराकानीको मुख्य अँश :
भक्तपुर नगरपालिकाको शिक्षाको खास दर्शन के हो ?
काम गरी खाने वर्गका सन्तानलाई पनि उच्च शिक्षामा सहज पहुँच पु¥याउने हाम्रो उद्देश्य हो । नगरका हरेक घरमा स्नातक वा सो सरहको योग्यता भएका नागरिक तयार गर्ने हाम्रो लक्ष्य हो । त्यो करिब पूरा भएको छ । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने, एक्काइसौं शताब्दीका लागि योग्य, सक्षम र प्रतिस्पर्धी जनशक्ति तयार गर्ने र भावी समाज सभ्य र सुसंस्कृत बनाउने नगरपालिकाको दीर्घकालीन उद्देश्य हो । त्यही उद्देश्य पूरा गर्न भक्तपुर नगरपालिकाले विभिन्न बिषयका शैक्षिक संस्थाहरु सञ्चालन गरी शैक्षिक विकासको काम गरिरहेको छ ।
अवधारणा मात्रै हो कि नतिजा पनि साँच्चै गुणस्तरीय नै छ ?
भक्तपुर नगरभित्र सरकारी र संस्थागत गरी ९२ वटा विद्यालयहरु सञ्चालनमा छन् । एसईईसम्म पढाइ हुने ६० वटा विद्यालयहरु छन् । २०८१ सालको एसईईको परिणाम हेर्ने हो भने १०० प्रतिशत आउने १९ वटा, ९०—९९ सम्म उत्तीर्ण हुने २१ वटा, ८०—९० प्रतिशत आउने ८ वटा र ६०–८० प्रतिशत आउने ५ वटा र ६० प्रतिशतभन्दा कम उत्तीर्ण हुने विद्यालय जम्मा ६ वटा मात्र छन् । कुल २ हजार चार सय १० ले एसईई दिएकोमा २ हजार एक सय ६९ जनाले पहिलो चरणमै उत्तीर्ण गरेका थिए । यो परीक्षा दिनेहरुमध्ये ८९.८८ प्रतिशत उत्तिर्ण हो ।
नगरपालिकाले ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङ गरी २ वटा इञ्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको छ । ख्वप सर्कल अन्तरगतका ख्वप इञ्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित एक सय १७ कलेज मध्ये सर्वोत्कृष्ट कलेज हो भने ख्वप कलेज अफ इञ्जिनियरिङ त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित इञ्जिनियरिङ कलेजहरुमध्ये दोस्रोमा पर्छ । यो वर्ष ख्वप कलेज अफ इञ्जिनियरिङ सिभिल विभागका विद्यार्थी गौरव भूषाल सिभिल विभागको विश्वविद्यालय प्रथम हुन सफल भएका छन् । ख्वप बहुप्राविधिक अध्ययन संस्थानले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याइरहेको छ । यस वर्ष ३९ जनाले परीक्षा दिएको मध्ये ३७ जना विशिष्ट श्रेणीमा र २ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । ख्वप कलेज अफ लको उत्तीर्ण प्रतिशत पनि तुलनात्मक रुपमा राम्रो छ । यस वर्षको हालै सार्वजनिक भएको परीक्षाफल अनुसार ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ख्वप कलेजको १२ कक्षाको उत्तीर्ण प्रतिशत पनि हरेक वर्ष नेपालको उत्कृष्ट २० मध्येमा पर्छ । ख्वप कलेज पनि देशको राम्रो कलेजहरु मध्येमा पर्छ । ख्वप सर्कलमा झण्डै सात हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।
शिक्षाको प्रतिफल आजको भोलि नै देखिने होइन । ८।१० वर्ष पछि मात्र उपलब्धि प्राप्त हुने क्षेत्र हो शिक्षा ।
ख्वप सर्कलमा सञ्चालित शैक्षिक संस्थाहरुको उपलब्धीका बारेमा चर्चा गर्नु भयो, भक्तपुरले सञ्चालन गरिरहेको शिक्षाको यो मोडल अन्य स्थानीय तहका लागि पनि उपयुक्त हुन सक्छ ?
शिक्षामा सबैले आआफ्नो तरिकाले आआफ्ना मोडल विकास गर्नु आवश्यक छ । कसैको नक्कल गरेर होइन, मौलिक शैलीमा विकास गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
पछिल्लो समय शिक्षा क्षेत्र पनि नाफामूलक व्यापार केन्द्रित हुने क्रम बढ्दै गएको देखिन्छ, शिक्षा क्षेत्रमा नाफाभन्दा सामाजिक प्रतिफललाई कसरी प्राथमिकता दिने अर्थात् भक्तपुरले अपनाएको अभ्यास के हो ?
शिक्षा व्यापार होइन, सेवा हो भन्ने भावनाले हामीले काम गर्दैछौं । शिक्षाको प्रतिफल आजको भोलि नै देखिने होइन । ८।१० वर्ष पछि मात्र उपलब्धि प्राप्त हुने क्षेत्र हो शिक्षा । भक्तपुर नगरपालिकाले २०५६ सालमै शैक्षिक क्षेत्रमा हात हालेको थियो । अहिले भक्तपुरका नागरिकलाई मात्र होइन, देशभरका नागरिकका छोराछोरीहरुलाई कम शुल्कमा उच्च शिक्षा प्रदान गर्न सफल भएको छ । नागरिकको सेवालाई प्राथमिकतामा राखेर नै नगरपालिकाले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।
सात हजार भन्दा बढी विद्यार्थी ख्वप सर्कलमा अध्ययनरत रहेको तथ्याँङ्क छ । अन्य जिल्लाका विद्यार्थीको अनुपात चैं कस्तो छ ? कति विद्यार्थी छन् अन्य जिल्लाका ?
नगरपालिकाले २०५८ सालमा ख्वप कलेज, सोही वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति प्राप्त ख्वप इञ्जिनियरिङ कलेज स्थापना गर्यो । २०६० सालमा नर्स र ओभरसिएरका लागि सिटिइभिटीबाट स्विकृति लिएर ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ, २०६७ सालतिर शारदा मावि/कलेज र २०७९ सालमा ख्वप कलेज अफ ल सञ्चालन गरी हाल नपाको पूर्ण स्वामित्वमा ७ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । यी शैक्षिक संस्थाहरुमा ७७ जिल्लाका सात हजार पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कलेजहरु सञ्चालन गरेपछि कलेज पढ्ने विद्यार्थीमा छात्राहरुको संख्या उल्लेख वृद्धि भएको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप कलेज अफ ल र ख्वप बहुप्राविधिक अध्ययन संस्थान तथा बागीश्वरी कलेज र बागीश्वरी कलेज अफ म्यानेजमेण्ट गरी आठ वटा शैक्षिक संस्थाहरुमा जम्मा चार हजार एक सय ८८ छात्र र ४ हजार ३५ जना छात्रा रहेका छन् अर्थात छात्र ५०.९३ र छात्रा ४९.०७ प्रतिशत रहेका छन् ।
त्यस्तै कलेज पढ्ने विद्यार्थीमध्ये नगर भित्रका २० प्रतिशत र नगरभन्दा बाहिरको ८० प्रतिशत रहेको अनुमान गर्न सकिन्छ ।
छात्रवृत्ति पाउने विद्यार्थी छनोटमा पारदर्शिता कसरी सुनिश्चित गरिएको छ ?
गरिब तथा जेहेन्दार विद्यार्थीलाई निश्चित प्रतिशत छात्रवृत्तिको व्यवस्था छ । हरेक सेमेष्टरको परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुको लागि स्वतः छात्रवृत्तिको व्यवस्था छ भने गरिब विद्यार्थीको लागि छात्रवृत्ति छनोट समितिले प्रक्रिया पु¥याएर छात्रवृत्ति वितरण गर्छ । नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा वर्षको चार करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति वितरण गर्दै आएका छौं ।
बिचैमा पढाई छाड्ने क्रम बढ्दो देखिन्छ, भक्तपुरमा यो अवस्था कस्तो छ ?
विद्यालय छाड्ने विद्यार्थीको अनुपात बढ्दो छ । यो भक्तपुरको मात्र होइन, देशभरिकै समस्या हो । भर्ना भएर बीचमा कक्षा छोड्ने विद्यार्थीमा इञ्जिनियरिङतर्फ २ देखि ५ प्रतिशत र अन्य बिषयमा २५ देखि ३० प्रतिशत हुने अनुमान छ । त्यसरी कक्षा छोड्नेहरुमा छात्राहरुको तुलनामा छात्रहरुको संख्या बढी छ ।
नगरपालिकाले पाँच लाख रुपैंया सम्मको शैक्षिक ऋण दिने व्यवस्था गरेको थियो । त्यसको अवस्था कस्तो छ ?
कुनै पनि विद्यार्थी गरिबीको कारण उच्च शिक्षाबाट बञ्चित हुन नपरोस् भनी हामीले पाँच लाख रुपैंयासम्म शैक्षिक ऋणको व्यवस्था गरेका हौं । २०७४ सालदेखि हालसम्म आठ सय ५० जना विद्यार्थीलाई शैक्षिक ऋण स्वीकृति गरिसकेको छ । हाल सम्म १७ करोड रुपैंया भन्दा बढी ऋण प्रवाह भइसकेको छ । ती मध्ये ८५ जनाले साँवा ब्याज फिर्ता बुझाइ पनि सकेका छन् ।
पछिल्लो समय अभिभावक विद्यार्थीको रोजाई प्राविधिक शिक्षा तर्फ धेरै देखिन्छ, तर नगरपालिकाले इतिहास, भूगोल, नेपालभाषा विषयलाई प्राथमिकता दिएको छ । यस्ता विषय पढेका विद्यार्र्थीको रोजगार सम्भावना न्यून हुन्छ भन्ने भाष्यलाई चिर्न नगरपालिकाले के कस्ता योजना बनाएको छ ?
इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, नेपाल भाषा लगायत विषयलाई राज्यले प्राथमिकतामा नराखेको कारण ती विषयहरु अध्ययन गर्ने विद्यार्थीको संख्या न्युन हुँदै गयो । भक्तपुर नगरपालिकाले देशको भविष्यको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण उद्देश्यले ती विषयहरु पढ्ने विद्यार्थीलाई स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरी उत्साहित गर्दै आएको हो । अहिले ती विषय अध्ययन गरेका विद्यार्थीले राम्रै रोजगारी पाएको अनुभव गर्दैछौं ।
संविधानले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको छ, भक्तपुरले त स्नातकोत्तर तहसम्म कै कार्यक्रम सञ्चालन गरिरहेको छ, चुनौति के छन् ?
चुनौती विनाको कुनै काम हुँदैन । भक्तपुरले शिशुस्याहार देखि स्नातकोत्तर कक्षाहरुसम्म सञ्चालन गर्दा थुप्रै चुनौतीहरुको सामना गर्नुपर्यो । कलेज सञ्चालन स्वीकृति लिने बेलामा होस् वा नयाँ नयाँ विषय स्वीकृति पाउने समयमा, सरकारले अनेकौं बाधा व्यवधानहरु खडा ग¥यो । सय शैय्याको आफ्नै अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले एक वर्ष नर्सिङ कलेजको भर्ना रोकिदियो । त्यसले नगरपालिकाको करोडौं रुपैयाँ बढी खर्च भयो । ख्वप कलेज अफ इञ्जिनियरिङमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर कम्प्युटरको कक्षा सञ्चालन गरेको वर्षौपछि मात्र मन्त्रिपरिषद्ले स्विकृत गर्यो । यस्ता थुप्रै समस्याहरु भोग्दै नगरपालिका अगाडि बढिरहेको छ ।
हाम्रा अनुभवमा अधिकांश अभिभावक र विद्यार्थी सन्तुष्ट छन् । हामी शत प्रतिशत सन्तोष पार्ने कोशिसमा छौं ।
ख्वप विश्वविद्यालय, देशमा थप एउटा विश्वविद्यालय थप्ने योजनामा मात्रै स्थापना हुन लागेको विश्वविद्यालय होइन । छुट्टै विशेषता सहितको एक नमुना विश्वविद्यालय स्थापना हुनेछ ।
तपाईहरु त विश्वविद्यालय नै सञ्चालन गर्ने भनेर लागिरहनु भएको छ । ख्वप विश्वविद्यालय विधेयक समेत तयार भईसकेको थियो । यो विश्वविद्यालयको शैक्षिक मोडेल कस्तो हुने अवधारणा हो ?
सरकारले ख्वप विश्वविद्यालय विधेयक पारित गरी दियो भने उत्पादनमूलक र सीपमूलक जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ । गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्ने मुलुकलाई आत्मनिर्भर बनाउने शिक्षा हुनेछ र ख्वप विश्वविद्यालय अध्ययनसँगै नयाँ नयाँ अनुसन्धानमा केन्द्रित विश्वविद्यालय हुनेछ । तर, लामो समय देखि विधेयक अड्काएर राखिएको छ। यसले गर्दा विद्यार्थीको चाहनाअनुसार नयाँ नयाँ विषयहरु पढाउन सकिरहेका छैनौँ । कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने हाम्रो उद्देश्य पुरा हुन सकेको छैन । विद्यार्थीलाई विद्यावारिधिसम्मको अध्ययनको अवसर प्रदान गर्न सकेनौँ ।
ख्वप विश्वविद्यालय, देशमा थप एउटा विश्वविद्यालय थप्ने योजनामा मात्रै स्थापना हुन लागेको विश्वविद्यालय होइन । छुट्टै विशेषता सहितको एक नमुना विश्वविद्यालय स्थापना हुनेछ ।
आगामी दशकमा भक्तपुरलाई शैक्षिक सवालमा कस्तो नगर बनाउने योजना के छ ?
हाम्रो पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले दुई दशक अघि नै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने घोषणा गर्नुभएको थियो । अहिले भक्तपुर नगर भित्रका १० वटा वडामध्ये प्रत्येक वडामा दुई सय भन्दा बढी इञ्जिनियरहरु भइसकेको छ अर्थात् नगरभित्र दुई हजार भन्दा बढी इञ्जिनियरहरु छन् । अन्य विषयका जनशक्ति पनि त्यही अनुपातमा बढ्दै छन् । हामी त्यही अवधारणालाई थप मूर्त रुप दिने छौं ।
भक्तपुरको शैक्षिक मोडललाई संघीय नीतिले कसरी संस्थागत गर्न सक्छ ?
निजी क्षेत्रलाई विद्यालय, कलेज सञ्चालनको अनुमति दिनु भन्दा अन्य पालिकाहरुले पनि भक्तपुर नगरपालिकाले सञ्चालन गरे जस्तै मोडलमा काम गर्न सक्छन् । यसो गरेमा सबै नागरिकका सन्तानलाई कम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । हामीले अपनाएको मोडल शिक्षा अधिकार कार्यान्वयनका लागि गतिलो उदाहरण हुन सक्छ ।
#स्थानीय सरकार र शिक्षा #भक्तपुर नगरपालिका
प्रतिक्रिया