Edukhabar
बुधबार, ०२ जेठ २०८१
विचार / विमर्श

शिक्षक आयोगको नियत माथि प्रश्न, नतिजामा पनि खेलवाड गर्ने त हैन !

सोमबार, १५ असोज २०७५

योग्य शिक्षक छनौट गर्ने मुख्य काम भएको शिक्षक सेवा आयोगले लिने परीक्षा नियमित प्रकृया हो । उक्त परीक्षाका लागि आयोगले निर्धारण गरेको विधि विधान छ । सोही अनुसार परीक्षा हुन्छ यो स्वभाविक कुरा हो । 

तर लामो समय सम्म खुल्ला विज्ञापन नभएका कारण योग्य शिक्षकबाट पढ्न पाउने विद्यार्थीको हक कुण्ठित भईरहेको अवस्थाले पनि होला यस पटक आयोगले लिने परीक्षा प्रति धेरैको चासो र ध्यान केन्द्रित भएको थियो । 

हुन त आयोगका हाकिम सावहरु परीक्षा मर्यादित र सफल रुपमा सम्पन्न भयो भन्दै सामाजिक सञ्जाल मार्फत् धन्यवाद ज्ञापन गरिरहनु भएको छ, तर गत असोज ११, १२ र १३ गते सम्पन्न भएको उक्त माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तिनै तहको परीक्षाले आयोगको नियत माथी प्रश्न उब्जाएको छ । 

परीक्षामा पाठ्यक्रमले निर्दिष्ट गरे भन्दा फरक प्रश्न सोधिएको छ । खास गरी विषयगत परीक्षामा पाठ्यक्रमको भावना र मर्म विपरितको प्रश्नको कारण परीक्षार्थी अलमलमा मात्र परेनन् आफ्नो नतिजा माथि नै आयोगले खेलवाड गर्ने त हैन भन्ने कुराले शसंकित भएका छन् । 

प्राथमिक तहको विषयगत प्रश्नपत्रलाई ख र ग गरी दुई खण्डमा विभाजित गरिएको छ । जब की पाठ्यक्रममा यसको बारे कुनै जानकारी नै दिइएको छैन । प्राथमिक तहमा पढाइ हुने नेपाली, अँग्रेजी, गाणित, विज्ञान र सामाजिक अध्ययनबाट एक एक वटा प्रश्न १० नम्बरको दरले र स्वास्थ्य तथा शारीरिक शिक्षा, स्थानीय पाठ्यक्रम र सिर्जनात्मक कलाबाट जम्मा एउटा प्रश्न १० नम्बरको गरी कूल ६० पूर्णांकको विषयगत प्रश्नको व्यवस्था पाठ्यक्रममा गरिएको छ । तर, आयोगले प्राथमिक तहको परीक्षामा सामाजिक अध्ययनबाट एउटा पनि प्रश्न सोधेको छैन । साप्ताहिक पाठ्भार ३ रहेको सिर्जनात्मक कलाबाट १० नम्बरको प्रश्न सोधिनु तथा शारीरिक शिक्षाबाट पनि १० नम्बरको प्रश्न सोधिनु अनि सामाजिक विषयबाट कुनै प्रश्न नसोधिनु आफैमा नियम विपरित कार्य हो । पाठ्यक्रम अनुसार शिक्षक तयारी गरेका परीक्षार्थी आयोगको यस्तो गैरजिम्मेबार कार्यले आक्रोशित भएका छन् । र, निराश समेत हुन पुगेका छन् ।

यति मात्र होइन माध्यमिक तथा निम्न माध्यमिक तहको  विषयगत परीक्षामा समेत आयोगले निर्धारित पाठ्यक्रम उलङ्घन गरेको देखिन्छ । खासगरी शैक्षणिक उद्देश्य, शिक्षण विधि तथा शैक्षणिक सामग्री र शिक्षण क्रियाकलाप सहितको दैनिक पाठयोजना बस्तुगत प्रश्न अन्तर्गत पाठ्यक्रममा उल्लेख गरिएको छ । तर, आयोगले माध्यमिक तहको विज्ञान विषयको ४ नम्बर प्रश्नमा शैक्षणिक सामग्री र शिक्षण क्रियाकलाप सम्बन्धी जानकारी माग गरेको छ । माध्यमिक तहको नेपाली विषयको ४ नम्बर प्रश्नमा पनि शिक्षण क्रियाकलाप उल्लेख गर्न भनिएको छ । झन् माध्यमिक तहको गणित विषयको १ को बी नम्बरमा त दैनिक पाठयोजनाको नमुना नै प्रस्तुत गर्न भनिएको छ । 

माध्यमिक तहको अंग्रेजी बिषयमा पनि ३ नम्बरको प्रश्नमा कक्षा शिक्षणको नमुना माग गरिएको छ । निम्न माध्यमिक तहको विषयगत प्रश्नपत्र निर्माणमा पनि आयोग नराम्ररी चुकेको छ । निमावि तहको सामाजिक विषयको पहिलो नम्बरमा नै काल्पनिक नाम लेखी दैनिक पाठयोजनाको नमुना प्रस्तुत गर्न भनिएको छ । अंग्रेजी, गणित तथा नेपाली विषयमा भने केवल कक्षा क्रियाकलापको नमुनासंग आवद्ध प्रश्न मात्र सोधिएको छ । 

एउटा शिक्षकलाई विषयवस्तुको ज्ञान मात्र भएर पुुग्दैन । यो सत्य हो । शिक्षकमा शिक्षण सामग्री, शैक्षणिक योजना, विधि, क्रियाकलाप, मूल्यांकन जस्ता कुराहरुको पनि समुचित जानकारी हुनुपर्छ । यो झनै सत्य हो । यसो हो भने शिक्षक सेवा आयोगले पाठ्यक्रम निर्माण गर्दा यी विषयवस्तुहरु किन बस्तुगत (शिक्षा सम्बन्धी ज्ञान) अन्तर्गत राख्यो त ? परियोजना कार्य, कार्यमूलक अनुशन्धान, मामला अध्ययन, समालोचनात्मक चिन्तन, शैक्षणिक सामग्री, मूुल्यांकन  जस्ता विषयवस्तुहरु पाठ्यक्रममा बस्तुगत तर्फ राख्ने अनि परीक्षामा विषयगत प्रश्नमा सोध्ने ? यसो गरिनुको कारण के हो ? के आयोगले यी प्रश्नहरुको तर्क संगत जवाफ दिन सक्छ ?

त्यसो त आयोगले बस्तुगत प्रश्न निर्माणमा पनि समुचित ध्यान दिन सकेको देखिदैन । प्राथमिक र माध्यमिक  तहमा नेपालको संविधान २०७२ बाट एउटा, एउटा मात्र प्रश्न सोधिएको छ । जब की निमावि तहमा संविधानबाट मात्र ३ ओटा प्रश्न सोधिएको छ । यसरी उस्तै प्रकृतिको पाठ्यक्रममा कुनै तहमा बढि प्रश्न सोधिनु र कुनै तहमा कम सोधिनुले पनि परीक्षार्थीमा अन्यौलता देखिएको हो । 

पाठ्यक्रमले निर्धारण गरेको प्रश्नसंख्या र अंकभार, एकाइगत र पाठगत विषयवस्तुको क्षेत्र र क्रमलाई बेवास्ता गरिएको बस्तुगत प्रश्नले प्रतिष्पर्धीहरुको क्षमताको सहि पहिचान गर्न नसक्ने देखिन्छ । यति मात्र होइन माध्यमिक तहको बस्तुगत प्रश्न निर्माण गर्दा विषयवस्तुलाई थप जटिल बनाएर परीक्षार्थीलाई पाठ्यक्रमको क्षेत्र भन्दा बाहिर लगेर अल्मल्याउन खोजेको प्रतीत हुन्छ । 

कुनै पनि परीक्षाले जान्ने र नजान्ने प्रतिष्पर्धीबीचको भिन्नता पहिचान गर्न सक्नुपर्छ । यो प्रतिष्पर्धाको लागि सञ्चालन गरिने परीक्षाको सर्बसम्मत नियम हो । तर, शिक्षक सेवा आयोगले आफैले बनाएको पाठ्यक्रमको दायरा भन्दा बाहिर गएर प्रश्नपत्र निर्माण गर्दा दक्ष एवम् सक्षम व्यक्ति नै प्रतिष्पर्धाबाट छानिन्छ भन्ने कुरामा समेत गम्भिर आशंका पैदा गरेको छ ।

यही परीक्षाका सन्दर्भमा आयोगका अन्य खबर यहाँबाट पढ्नुहोस् : 

शिक्षक आयोगको परीक्षामा भद्रगोल, कतै तह मिलेन कतै विषय फरक !

शिक्षक आयोगको गम्भिर गल्ति : कुनै कारवाही होला ?

pokharelhp@gmailcom 

प्रतिक्रिया