Edukhabar
मंगलबार, ०८ बैशाख २०८३
विचार / विमर्श

शक्ति संघर्षले निम्त्याएको शैक्षिक अन्यौल

कतै लिखित परिपत्र तथा सूचना प्रकाशन कतै प्रधानाध्यापक बैठक मार्फत शैक्षिक सत्र तथा पठनपाठन सुरु

मंगलबार, ०८ बैशाख २०८३

देश संघीय संरचनामा प्रवेश गरेको एक दशक पछि पनि अधिकारको प्रयोग र कार्यान्वयनमा देखिएको असमन्वयले नागरिक जीवनलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ । पछिल्लो समय शैक्षिक सत्र सञ्चालन सम्बन्धी संघ र स्थानीय तहका फरक–फरक निर्णयले उत्पन्न गरेको अन्योल यसको उदाहरण हो ।

गत भदौको जेन जी आन्दोलनको जगमा भएको निर्वाचन पश्चात  राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाइ मत सहित गठन भएको नयाँ सरकारसँग नागरिकको अपेक्षा निकै छ । शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा समावेश विषयहरुले आशाहरु थपिएका छन् । 

यही बिचमा भएको अमेरिका ईरान युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजतालाई कारण देखाउँदै सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णय गर्यो । शैक्षिक संस्था बाहेक कार्यालय समय बिहान ९ देखि साँझ ५ बजे सम्म कायम भयो । बैशाख एक गतेदेखि शुरु हुने नयाँ शैक्षिक सत्र १५ गतेबाट प्रारम्भ गर्ने र २१ गतेबाट पठनपाठन गर्ने निर्णय पनि भयो । 

कानूनी प्रबन्ध 

नेपालको प्रचलित शिक्षा नियमावली २०५९ को नियम ८४(१) ले विद्यालयको शैक्षिक सत्र बैशाख एक गतेदेखि प्रारम्भ भइ चैत्र मसान्त सम्म कायम रहने व्यवस्था गरेको छ । तर महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ भन्ने पनि व्यवस्था छ । 

२०७२ सालमा नयाँ संविधान जारी भएसँगै देशमा संघीय शासन व्यवस्था सुरु भएको छ । संविधानको अनुसूची ८ को बुँदा नं. ८ ले आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । 
अनुसूची ९ को बुँदा २ मा शिक्षा, खेलकुद र पत्रपत्रिका सम्बन्धि अधिकार संघ, प्रदेश  र स्थानीय तहको अधिकारको साझा अधिकार भनी उल्लेख गरेको छ । 

अभ्यास

संविधानले आधारभूत र माध्यमिक शिक्षाको अधिकार आफू मातहत हुने व्यवस्था गरेको भन्दै देशका केही स्थानीय तहहरुले मन्त्रीपरिषद्को उक्त निर्णय विपरित शैक्षिक सत्र र पठनपाठन शुरु गरिसकेका छन् । केहीले गर्ने तयारी गर्दै परिपत्र गरेका छन् । अर्थात् देशभर एउटै शैक्षिक प्रणाली भित्र फरक–फरक अभ्यास देखिन थालेको छ ।

दुई तहका सरकारको दुई थरी निर्णय, परिपत्र तथा निर्देशनको कारण विद्यालयको दैनिक प्रशासन सञ्चालन गर्ने प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा तिनका अभिभावक अन्योलमा परेका छन् । पालिका पिच्छे फरक निर्णय भएकाले एकै घरका बालबालिका मध्ये कोही विद्यालय जान थालेका छन् भने, अर्को पालिकाका विद्यालय पढ्ने कोही घरमै बस्न बाध्य छन् । कुनै पालिकाले लिखित परिपत्र तथा सूचना प्रकाशन गरेका छन् भने कुनै पालिकाले प्रधानाध्यापक बैठक मार्फत शैक्षिक सत्र  तथा पठनपाठन सुरु गरेका छन् । 

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपनि केही पालिकाहरुले पाठ्यभार नपुग्ने लगायतका कारण देखाउँदै आइतबार बिदा नदिने भन्ने समेत निर्णय गरेका छन् । अर्थात् दुई दिने सार्वजनिक बिदाको निर्णयलाई समेत सबै स्थानीय तहले समान रूपमा कार्यान्वयन गरेका छैनन् । कतिपयले आइतबार बिदा कटौती गर्दै नियमित पठनपाठन सञ्चालन गरेका छन् । संसारका थुप्रै देशमा सातामा दुई दिन सार्वजनिक विदा दिने प्रचलन छ । विद्यालयमा कम समय बिताउने देशको शिक्षा उच्च गुणस्तरीय रहेको पनि देखिन्छ । तर, महिनाको चार वटा आइतबार बिदा दिनुको सट्टा पठनपाठन हुने विद्यालयमा नै अभिभावले आफ्ना बालबालिका पठाउने मनसाय बनाउँदै आएको देखिन्छ । यसले कतिपय विद्यालयका शिक्षक कर्मचारीलाई आफ्ना विद्यार्थी अन्यत्र छिमेकी विद्यालयमा जाने पो हुन् कि भन्ने त्रास छाएको छ । सरकारले कुनै पनि नीतिगत निर्णय गर्दा दुरगामी असर विश्लेषण गर्नु अपरिहार्य हुन्छ  । 
सरकारले शैक्षिक सत्र बैशाख १५ बाट सुरु गर्ने निर्णय गर्दा प्रचलित शिक्षा नियमावलीको अनदेखा गरेको देखिन्छ । नेपाल सरकारले शिक्षा नियमावली संशोधन गरेको भए यस्तो विवाद हुँदैन थियो । नेपालको शासकीय शक्ति संघ, प्रदेश तथा स्थानीय तहमा विभाजित छ । प्रचलित कानुन विपरित सरकारले निर्णय गरेमा सो निर्णयको न्यायिक पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था छ । 

हालसालै केही विद्यालयहरुले शैक्षिक सत्र सुरु हुनु अगावै नयाँ भर्ना लिने गरेकाले सर्वोच्च अदालतमा मुद्दा दायर भइ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न अन्तरिम आदेश जारी भएको छ ।  स्थानीय तहले पनि आफ्नो अधिकारमा संघले हस्तक्षेप गरेको वा अधिकारमा संकुचन आएको लागेमा नेपाल सरकारको निर्णय बदर गर्न कानुनी उपचार खोज्न सक्छ । सो कानुनी उपचार अवलम्बन नगरी आफूखुशी निर्णय गर्दा आम मानिसमा अन्योल छाएको मात्रै हैन संघीयताको कार्यान्वयनमा चुनौती समेत थपिएको छ ।     

संघ र स्थानीय तहको फरक फरक निर्णय तथा परिपत्र  शक्ति संघर्षको उपज हो । देशको संवैधानिक व्यवस्था हेर्दा संघ भन्दा प्रदेश र प्रदेश भन्दा स्थानीय तहसँग क्रमिक रुपमा शक्ति कम रहेको देखिन्छ  । संघ सरकारले गरेको निर्णय अदालतबाट बदर नभए सम्म प्रदेश तथा स्थानीय तहले निर्णय विपरित निर्देशन तथा परिपत्र जारी गर्दा अन्योल सिर्जना भएको हो । त्यसैले निर्णय गर्दा दूरगामी सोच राख्नु अपरिहार्य छ । 

संविधानले शिक्षालाई साझा अधिकारको रूपमा राखेको छ । आधारभूत र माध्यमिक शिक्षामा स्थानीय तहको भूमिका प्रमुख भए पनि, संघले नीति र मापदण्ड बनाउने अधिकार राख्छ । यो केवल प्रशासनिक गडबडी होइन, “शक्ति संघर्ष” को परिणाम हो । संघीय संरचनामा अधिकारको बाँडफाँट कागजमा मात्र स्पष्ट भएर हुँदैन - अभ्यास र व्यवहारमा पनि समान रूपमा परिपक्वता र अनुशासन चाहिन्छ ।

संघीय शासन प्रणालीको मूल मर्म सहकार्य, सहअस्तित्व र समन्वय हो । तर अभ्यासमा अधिकार प्रदर्शनको प्रतिष्पर्धा हाबी हुँदा सेवा प्रवाह प्रभावित हुने गरेको छ । संघीय सरकारको निर्णयप्रति असहमति भए स्थानीय तहले कानुनी उपचार खोज्न सक्ने संवैधानिक व्यवस्था छ । यो हुँदाहुँदै एकपक्षीय निर्णय गर्नु समाधान भने होइन ।

अन्त्यमा

शिक्षा क्षेत्रमा अहिले देखिएको अवस्था केवल प्रशासनिक कमजोरी होइन, शक्ति संघर्षको परिणाम हो । यसको मूल्य विद्यार्थी र अभिभावकले चुकाइरहेका छन् । त्यसैले, संघीय संरचनामा अधिकारको प्रयोग जिम्मेवार, समन्वय र कानुनी आधारमा हुन जरुरी छ । अन्यथा, यस्ता निर्णयहरूले व्यवस्था र प्रणाली प्रति नै नागरिकको विश्वास कमजोर पार्ने जोखिम बढाउने छ । 

अधिवक्ता समेत रहेका पन्त शिक्षण पेशामा पनि आवद्ध छन् । 

प्रतिक्रिया