Edukhabar
बुधबार, १३ जेठ २०८३
गतिविधि

निजी विद्यालयको हिस्सा बढ्दो, झण्डै पाँच प्रतिशत विद्यार्थी बढे

आर्थिक सर्वेक्षणमा उल्लेख शिक्षाका तथ्याङ्क : शिक्षक विवरण देखि तहगत विद्यालय, विद्यार्थी र शिक्षक अनुपात सम्म

बुधबार, १३ जेठ २०८३

काठमाडौ - देशमा निजी विद्यालयको हिस्सा बढ्दो क्रममा रहेको छ । गत बर्ष कूल विद्यालय संख्या मध्ये २३ प्रतिशत निजी विद्यालय रहेकोमा यस बर्ष उक्त हिस्सा बढेर २४ दशमलब ८७ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले द्वारा बुधबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२ / ०८३ को आर्थिक सर्वेक्षणमा उक्त तथ्य समेटिएको छ ।

शैक्षिक सत्र २०८२ मा कुल विद्यालय मध्ये सामुदायिक विद्यालय ७१ दशमलब २७ प्रतिशत, संस्थागत विद्यालय २४ दशमलब ८७ प्रतिशत र परम्परागत धार्मिक विद्यालय ३ दशमलब ८६ प्रतिशत रहेका सर्वेक्षणमा उल्लेख छ । गत शैक्षिक सत्रमा उक्त संख्या क्रमशः ७३, २३ र ४ प्रतिशत थियो । विद्यालय नक्सांकन तथा समायोजनका कारण शैक्षिक सत्र २०८१ को तुलनामा शैक्षिक सत्र २०८२ मा सामुदायिक विद्यालयको संख्यामा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ । 

चालु शैक्षिक सत्रमा सामुदायिकमा ६२ दशमलब २ प्रतिशत विद्यार्थी सामुदायिकमा र ३७ दशमलब ८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत छन् । गत शैक्षिक सत्रमा सामुदायिकमा ६६ दशमलब ७ र संस्थागतमा ३३ दशमलब ३ प्रतिशत विद्यार्थी अध्ययनरत थिए । 

चालु शैक्षिक सत्रमा एक सय चार विद्यालय थप भई कुल विद्यालय संख्या ३५ हजार नौ सय ५१ पुगेको छ । शैक्षिक सत्र २०८१ मा ३५ हजार आठ सय ४७ विद्यालय थिए । थप संख्या निजीको हो वा सामुदायिकको भन्ने बारेमा सर्वेक्षणमा उल्लेख गरिएको छैन ।   

सामुदायिक विद्यालयमध्ये एक सय भन्दा कम विद्यार्थी भएका विद्यालय ५० दशमलब ८५ प्रतिशत रहेका छन् भने दुई हजार भन्दा बढी विद्यार्थी भएका विद्यालय शुन्य दशमलब ४७ प्रतिशत रहेका छन् । शहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको सर्वेक्षणमा तर्क गरिएको छ । विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समाजोजन गर्दै लगिएको उल्लेख छ । 

पढ्नुहोस् सर्वेक्षणमा उल्लेख शिक्षाका तथ्य :
  
 

प्रतिक्रिया