हामीले बालबालिकाहरूलाई प्रश्न गर्न सिकायौँ । उनीहरूले सोध्न सिके, बोल्न सिके र केही हदसम्म तर्क गर्न पनि सिके । तर, के प्रश्न गर्न सिक्दैमा शिक्षाको मूल उद्देश्य पूरा भयो त ?
अहँ, भएन । प्रश्न त केवल यात्राको प्रस्थान विन्दु मात्र हो । प्रस्थान गरेर गन्तव्यसम्म नपुगेसम्म यात्रा पूरा हुँदैन । अबको मुख्य प्रश्न हो— ती जिज्ञासाहरूको समाधान गर्ने प्रक्रिया (Process) कसरी सिकाउने ?
एउटा बिउ रोपेपछि त्यो कसरी माटोभित्र टुसाउँछ, कसरी उज्यालोतिर बढ्दै जान्छ, कसरी फुल्छ, फल्छ र पुनः बिउमै रूपान्तरित हुन्छ भन्ने कुरा किताबको तथ्याङ्कबाट होइन, जीवनको अनुभूतिको तहबाट सिकाउनु परेको छ । यहाँ कुरा केवल तथ्य वा सूचना सङ्कलनको होइन । प्राकृतिक नियम, सहअस्तित्व र प्रक्रियाहरूको आन्तरिक अन्तरसम्बन्धलाई बालबालिकाको हृदय र चेतनाबाटै महसुस गराउनु हो ।
एउटा शिक्षक भएको नाताले म चाहन्छु - हाम्रा विद्यार्थीले बिहानको चिसो हावामा रूखका पातहरू हल्लिँदा मनमा उब्जिने मौनता महशुस गर्न सकून् । विद्यालय जाँदै गर्दा बाटोमा भेटिने वृद्धको आँखामा झल्किने जीवनको गहिरो अनुभवलाई बुझ्न सकून् । उनीहरूको दिमागमा सुख्खा व्याख्या र तर्क कम चलोस्, तर उनीहरूको चेतना र आत्मा जीवनको जीवन्त भावले भरिपूर्ण होस् ।
यो मूल्य सुख्खा तर्कभन्दा बढी प्रेम, करुणा र सहअस्तित्वको भावनासँग जोडिएको छ । आजको डिजिटल युगमा कतै विपत्ति आइपर्दा त्यहाँ पुगेर उद्धारमा खट्नुको सट्टा फोटो खिच्ने, भाइरल बनाउने र मोनेटाइज गर्ने होडबाजी छ । हामीलाई घटनाको विश्लेषण मात्र गरिरहने यान्त्रिक मानिस होइन, तत्काल अरूको दुःखमा काँध थाप्ने र ज्यान जोगाउन क्रियाशील हुने करुणा र चेतना चाहिएको छ । तसर्थ, बालबालिकालाई मृत प्रश्न र सुख्खा तर्कबाट अघि बढाएर प्रक्रियाहरूसँग भावना जोड्ने र जीवनका समस्याहरू स्वयं हल गर्न सक्ने भावनात्मक बौद्धिकता (Emotional Intelligence) सिकाउनु आजको प्रमुख दायित्व हो ।
एउटा शिक्षक भएको नाताले म चाहन्छु - हाम्रा विद्यार्थीले बिहानको चिसो हावामा रूखका पातहरू हल्लिँदा मनमा उब्जिने मौनता महशुस गर्न सकून् । विद्यालय जाँदै गर्दा बाटोमा भेटिने वृद्धको आँखामा झल्किने जीवनको गहिरो अनुभवलाई बुझ्न सकून् । उनीहरूको दिमागमा सुख्खा व्याख्या र तर्क कम चलोस्, तर उनीहरूको चेतना र आत्मा जीवनको जीवन्त भावले भरिपूर्ण होस् ।
प्रविधिले ठूला ठूला विश्वव्यापी डाटाहरू प्रशोधन गर्ला, तर विद्यार्थीले आफ्नै आँखाले देखेको समाज, परिवारको सादा जीवन दृष्टि, नेपाली माटोको सुगन्ध र साना साना पलहरूमा लुकेको गहिरो सत्यलाई आफ्नै मौलिक शैलीमा उतार्न सकोस् ।
हामी जति स्थानीय र मौलिक हुन्छौँ, त्यति नै सर्वव्यापी बन्छौँ ।
मृत प्रश्नका तयारी उत्तरहरू घोक्नुभन्दा उनीहरूले आफ्नो अनुभूति, संवेदना र जीवन बोध निर्भीकताका साथ लेख्न पाउनुपर्छ ।
अहिलेको कठोर वास्तविकता के हो भने - आधुनिक शिक्षा प्रविधिको सञ्जालभित्र सीमित हुँदै गर्दा बालबालिकाहरू सूचनाले भरिपूर्ण तर सम्वेदनाले रित्तो बनिरहेका छन् । आर्टिफिसियल इण्टेलिजेन्स र क्वाण्टम कम्प्युटिङको विकासले भौतिक रफ्तार त दिएको छ, तर कक्षाकोठामा एउटा अघोषित यान्त्रिकता भित्र्याएको छ । यहाँ प्रविधिको विरोध होइन, प्रविधिसँगै मानवीय चेतनाको समन्वय मुख्य चुनौती हो । यन्त्रले तथ्याङ्क प्रशोधन गर्ला, तर त्यसलाई आन्तरिक करुणा र विवेकमा ढाल्ने सामथ्र्य केवल मानिससँग मात्र हुन्छ ।
सम्पूर्ण तथ्य र तर्कहरू भन्दा अघि मौनता र स्वाभाविकपन आउँछ । अधैर्य र हतासिएको मनले कहिल्यै सत्यको गहिराइ भेट्न सक्दैन ।
सच्चा शिक्षा भनेको ज्ञानबाट अनुभूति, अनुभूतिबाट चेतना, र चेतनाबाट विवेक तर्फको गहिरो यात्रा हो । जब ज्ञान आफ्नै इन्द्रियहरू, प्रकृति र दैनिक जीवनका सूक्ष्म क्षणहरूसँग जोडिन्छ, तब मात्र त्यो अनुभूतिमा परिणत हुन्छ । गहिराइ कुनै टाढाको जटिल दर्शनमा हुँदैन । त्यो त साँझपख छाउने एकान्त, हावाको मन्द सिरसिर, वा आमा, बुबा अथवा अभिभावकको अनुहारमा कोरिएका थकानका रेखाहरूलाई सजग भएर नियाल्दा प्राप्त हुन्छ । यस यात्रामा शिक्षक केवल सूचना बाँड्ने यन्त्र होइन, विद्यार्थीको आन्तरिक चेतना ब्युँझाउने निष्ठावान सहयात्री बन्नुपर्छ ।
यस दर्शनलाई जीवनमा उतार्न मैले आफ्नै कक्षाकोठामा स-साना अभ्यासहरू सुरु गरेको छु ।
दैनिक पाठ सुरु हुनुअघि ५ मिनेटको पूर्ण मौनता र सासोच्छवासको ध्यान गराउँछु, जसले मनको डिजिटल कोलाहललाई शान्त पार्छ । विद्यार्थीलाई कुनै अङ्क वा व्याकरणको डर विना आफ्ना कच्चा भावना, असफलता र दुविधाहरू जस्ताको तस्तै उतार्न भावना लेखनको समय दिन्छु । साथै, बाटोका साना दृश्यहरू र प्रकृतिको परिवर्तनलाई नियाल्ने प्रकृति अवलोकनको अभ्यास गराउँछु । यी अभ्यासहरूले विद्यार्थीलाई सूचनाको भारीबाट मुक्त गर्दै आफ्नै इन्द्रिय र जीवन बोधसँग जोड्ने काम गर्न सघाउने अपेक्षा गरिएको छ ।
अन्ततः सम्पूर्ण तथ्य र तर्कहरू भन्दा अघि मौनता र स्वाभाविकपन आउँछ । अधैर्य र हतासिएको मनले कहिल्यै सत्यको गहिराइ भेट्न सक्दैन । प्रकृतिका साना गतिविधि - चराको उडान, ढल्दै गरेको घाम वा रूखबाट खस्दै गरेको पातलाई बिना पूर्वाग्रह नियाल्ने मौनता नै आत्मबोधको पहिलो जग हो । प्रविधिले हामीलाई कसरी जिउने भन्ने साधन देला, तर किन जिउने भन्ने अर्थ केवल मानवीय संवेदनाले मात्र दिन्छ । यदि शिक्षाले मानिसलाई आफ्नै आन्तरिक मौनता र चेतनासम्म पुर्याउन सकेन भने, हामीसँग प्रविधिको विशाल ज्ञान त हुनेछ, तर त्यो ज्ञानलाई सम्हाल्ने मानवीय विवेक भने सदैव गुमनाम रहनेछ ।
अर्थपूर्ण जीवन र सिकाइका लागि यो अत्यन्त दुखद् हुनेछ ।
पाण्डे, श्री सुनपकुवा मा वि उर्लाबारी - २, मोरङका शिक्षक हुन् ।
प्रतिक्रिया