Edukhabar
विहीबार, २२ असोज २०८३
गतिविधि

आफ्ना सन्तान विद्यालयमा राखेपछि बढ्यो अभिभावकको विश्वास

शिक्षक सक्रिय हुन थाले, पठनपाठनमा आयो सुधार, पक्षपात भएको महसुस नगरुन् भन्नेमा शिक्षक सचेत

विहीबार, २२ असोज २०८३

काठमाडौ - आफ्ना सन्तान आफूले पढाउने विद्यालयमा नपढाउने अनि अरुले कसरी त्यहाँ राम्रो पठनपाठन हुन्छ भनेर विश्वास गर्ने ? शैक्षिक गुणस्तरसँग जोडेर गरिने यो प्रश्न प्रायः सामुदायिक विद्यालयका शिक्षकहरुलाई सोध्ने गरिन्छ । कसैले यसलाई सामान्य रुपमा र कसैले नैतिक दबाबका रुपमा लिन्छन् । 

विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौका प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘सामुदायिक विद्यालयका शिक्षक तालिमप्राप्त र अनुभवी छौँ भन्छौँ । तर आफ्ना छोराछोरी निजीमा पढाउने भनेर अभिभावकले विश्वास नगर्दा रहेछन् । नेतृत्वमा बसेपछि नैतिक दबाब हुँदो रहेछ । यसैकारण आफ्ना सन्तान आफ्नै विद्यालयमा पढाउने अभियान थाल्यौँ ।’ 

सञ्चार माध्यम वा कुनै सार्वजनिक मञ्चमा कहिलेकाहिँ असहज अवस्था आउने गरेको पनि उनको अनुभव छ । 

‘मिडियामा कुरा गर्दा तपाईको बच्चा कहाँ पढ्छन् भनेर सोध्दा खिस्रिक्क पर्नुपर्ने अवस्था पनि आउँदो रहेछ’  प्रअ कँडेल भन्छन्,  ‘अभियान शुरु गर्नुको अन्य कारण पनि छन् । धेरै पैसा तिरेर किन निजीमा पढाउने भन्ने पनि हो । साथै सामुदायिक विद्यालयमा पढाउँदा उच्च शिक्षामा छात्रवृत्ति पाइन्छ भन्ने आकर्षण पनि छ ।’

कँडेलका अनुसार शुरुवातमा केही शिक्षकले निजीमा पढिरहेका छोराछोरीलाई झिकेर माथिल्लो कक्षामा भर्ना गरे । अहिले तल्लो कक्षादेखि नै पढाउने गरिएको छ । घर टाढा भएका र साना केटाकेटी भएकाले मात्रै पढाएका छैनन् । 

२०७२ सालमा नेतृत्व लिएपछि कँडेलले शिक्षकका सन्तान आफ्नै विद्यालयमै पढाउनुपर्छ भन्ने अभियान शुरु गरे । त्यसअघि एकाधले पढाउने गरेका थिए ।

प्रअ कँडेल भन्छन् ‘अहिले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्य, शिक्षक अभिभावक संघका प्रतिनिधि गरेर ९० प्रतिशत भन्दा बढीले आफ्ना सन्तान पढाउँछौँ ।’

भौतिक तथा शैक्षिक सुधारका लागि विद्यालयहरुले आवश्यकताका आधारमा सरकारबाट श्रोत पाउन नसक्दा थुप्रै सामुदायिक विद्यालय सुविधा विहीन छन् । यसैकारण पनि शिक्षकको रोजाइमा आफ्नो विद्यालय पर्दैन ।

आफ्ना सन्तानको शिक्षाका लागि सकेसम्म कसैले पनि सम्झौता गर्न चाहँदैन । काठमाडौमा त विद्यालय छनोटका लागि अभिभावक र विद्यार्थीसँग प्रशस्त विकल्प छन् । यस्तोमा आफ्नै विद्यालयमा शिक्षक कर्मचारीले छोराछोरी पढाउन थालेपछि अभिभावकको विश्वास बढेको उनको ठम्याइ छ ।   

‘उनीहरुले त पढाएका छन्, नराम्रो भए किन राख्थे र भन्ने सकारात्मक सन्देश गयो र अभिभावकले हामीलाई विश्वास गर्न थाले’ प्रअ कँडेल भन्छन् ‘शिक्षकले आफ्ना केटाकेटी विद्यालयमा पढाउन थालेपछि नतिजा उत्कृष्ट हुँदै गयो । तथ्याङ्क र उपलब्धिले यही देखायो । विद्यार्थी थेगि नसक्नु गरी आउन थाले । अहिले चार हजार विद्यार्थी छन् ।’

विश्व निकेतनले २०७४, २०७५ र २०८१ मा गरी तीन पटक उत्कृष्ट विद्यालयका रुपमा राष्ट्रिय पुरस्कार जितिसकेको छ । काठमाडौ महानगरपालिकाबाट पनि पुरस्कार र सम्मान पाएको छ । 

यहाँका थुप्रै विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तरगत चिकित्सा शिक्षा तथा इञ्जिनियरिङ अध्ययनका लागि नाम निकालेका छन् । छात्रवृत्ति पाएका छन् । 

kandel chandani bipin
कक्षा १२ (SLCE 2083) मा ३.९7 जीपीए ल्याउन सफल चाँदनी कुमार सहनी र आइओईले लिएको B.E./B.Arch प्रवेश परीक्षामा तेस्रो स्थान हासिल गर्न सफल बिपिन पन्तको साथमा प्रअ कँडेल

पढाइमा मात्र होइन, खेलकुद लगायत अन्य गतिविधिमा पनि यहाँका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हालै भारतमा सम्पन्न विश्व योगासन च्याम्पियनसीपमा सुमन्ता तामाङले रजत र संस्कृति चौलागाईले कास्य पदक जितेका छन् । 

काठमाडौकै अर्को विद्यालय सिद्धि गणेश माध्यमिक विद्यालयमा पनि ५० प्रतिशत शिक्षकले आफ्ना सन्तान आफ्नै विद्यालयमा पढाउँछन् । विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष राजकुमार थापा भन्छन् ‘४३ जना शिक्षक मध्ये २७ जनाले आफ्ना छोराछोरी पढाउँछन् । व्यवस्थापन समितिका पदाधिकारी लगायत सबै सदस्यले सिद्धि गणेशमै पढाउँछौँ ।’

तर, शिक्षकहरुलाई मनाउन त्यति सजिलो नभएको उनको भनाइ छ । २०६९ सालमा विशेषगरी तल्लो कक्षा विद्यार्थी नभएर खालि हुने अवस्था आयो । थापाका अनुसार त्यतिखेर कक्षा १२ सम्म एक सय ६० विद्यार्थी थिए । उनी त्यतिबेला विव्यस अध्यक्ष थिए । उनलाई विद्यालय मर्ज होला भन्ने चिन्ता थियो ।

‘त्यतिखेर निजी विद्यालय प्रति धेरै आकर्षण थियो । गाडीमा चढाएर छोराछोरीलाई त्यहाँ पठाउनु प्रतिष्ठाको विषय थियो । हाम्रो विद्यालयको स्तर पनि खस्कँदो थियो ।’ थापाले विद्यार्थी संख्या घट्नुको कारण प्रष्ट्याए । 

यसैकारण सबैले आफ्ना छोराछोरी आफ्नै विद्यालयमा पढाउनुपर्छ भन्ने निर्णयमा विव्यस पुग्यो । विव्यस पदाधिकारी लगायत सदस्यहरु आफ्ना छोराछोरी भर्ना गर्न तयार भए । उनले शिक्षकहरुलाई पनि अनुरोध गरे । 

थापा भन्छन् ‘तर उहाँहरु मान्नु भएन । तपाईहरु आफ्नो बच्चा नल्याउने भए हाम्रा केटाकेटी पनि नपढाउनुस्, सरुवा लिएर अन्त पढाउन जानुस् भन्यौँ । त्यसपछि केहीले आफ्ना सन्तान ल्याउनुभयो ।’

भौतिक तथा शैक्षिक सुधारका लागि विद्यालयहरुले आवश्यकताका आधारमा सरकारबाट श्रोत पाउन नसक्दा थुप्रै सामुदायिक विद्यालय सुविधा विहीन छन् । यसैकारण पनि शिक्षकको रोजाइमा आफ्नो विद्यालय पर्दैन । त्यस्तै थुप्रै विद्यालयमा प्रशासनिक तथा व्यवस्थापकीय पाटो कमजोर हुँदा सबै शिक्षकले आफ्ना केटाकेटी आफ्नो विद्यालयमा पढाउन चाहँदैनन् । 

siddhi ganesh_dress
सिद्धि गणेश माविका विद्यार्थी : महिनाको पहिलो शुक्रबार आफ्नो मौलिक पोशाकमा विद्यालय आउँछन्

सिद्धि गणेशका विव्यस अध्यक्ष थापालाई पनि अहिले फर्केर हेर्दा त्यस्तो लाग्छ । ‘त्यसबेला एक त २५ वर्षको अपरिपक्व उमेर थियो मेरो । हामीले नयाँ केही गरेका थिएनौँ । त्यसैले व्यवस्थापन समितिप्रति पनि विश्वास भएन होला’ थापा भन्छन्     ‘पछि विव्यस र शिक्षकहरु हामी कहाँ कुन विद्यालयमा राम्रा अभ्यास भइरहेको छ भनेर खोज्न थाल्यौँ । मेहनत गर्न थाल्यौँ । अंग्रेजी माध्यम लागू गर्यौँ । विद्यार्थी संख्या बढ्न थाल्यो । अभिभावकको विश्वास जित्न थाल्यौँ ।’

यो विद्यालय कक्षा १० को नतिजाका आधारमा काठमाडौमा सामुदायिक विद्यालयतर्फ पटक पटक जिल्ला प्रथम हुँदै आएको छ । हाल विद्यालयमा ११ सयभन्दा बढी विद्यार्थी छन् । 

शिक्षकको सक्रियता बढ्यो

आफ्ना सन्तान आफ्नै विद्यालयमा पढाउन थालेपछि शिक्षकहरु कक्षाकोठामा निकै सक्रिय भएको र पठनपाठनमा उल्लेख्य सुधार भएको प्रअ कँडेल र अध्यक्ष थापाको समान निचोड छ ।  

प्रअ कँडेल भन्छन्, ‘शिक्षकका केटाकेटी विद्यालयमा भएपछि घरमा कक्षाकोठाको चर्चा हुँदो रहेछ । फलानो शिक्षकको कक्षा राम्रो भयो, फलानो अल्छी भनेर बच्चाहरुले कुरा गर्न थाले । शिक्षकहरु सचेत र सक्रिय हुन थाले । पठनपाठनमा सुधार हुन थाल्यो ।’

आफ्ना छोराछोरी विद्यालयमा भएपछि प्रयोगशालाको उच्चतम प्रयोगदेखि शैक्षिक गुणस्तर सुधारका लागि कक्षाकोठा राम्रो बनाउनुपर्छ भन्नेमा सबैको चासो झन् बढ्ने रहेछ ।

थापाले पनि शिक्षकहरुमा उल्लेख्य परिवर्तन आएको पाए । 

‘उहाँहरुलाई आफ्ना छोराछोरीको पढाइलेखाइमा चिन्ता हुँदो रहेछ । आफैँ सक्रिय हुन थाल्नुभयो । पठनपाठनमा चासो राख्ने, मेहनत गर्ने, सार्वजकि बिदा कम गर्न र अतिरिक्त कक्षा सञ्चालनमा जोड दिन थाल्नुभयो ।’ उनले भने ।

सहकर्मीका छोराछोरी पढाउँदा बढी ध्यान दिने र मेहनत गरेको पनि उनले पाए । ‘घरमा कापी हेर्नुहुन्छ भनेर धेरै सजग रहने गर्नुहुँदो रहेछ । यसकारण कक्षाकोठामा ध्यान केन्द्रित हुँदोरहेछ ।’

सिद्धि गणेशकी प्राथमिक तह शिक्षक सोविस्ता घलान अधिकारीको अनुभव पनि थापाको जस्तै छ । उनी भन्छिन्, ‘पढाइ र कापी परीक्षणमा बढी सजग भइन्छ । सहकर्मी शिक्षकहरुले ख्याल गर्नुहुन्छ भन्ने हुन्छ । यसको मतलब अभिभावकहरुले चाहिँ गर्नुहुन्न भन्ने होइन ।’ 

उनले आफ्ना छोराछोरीलाई नर्सरीदेखि नै आफ्नै विद्यालयमा पढाएकी छन् । 

काभ्रेको डेडीथुम्का माध्यमिक विद्यालयकी शिक्षक रविना लिम्बूलाई पनि शिक्षकका छोराछोरी विद्यालयमा भएपछि केही फरक हुने रहेछ भन्ने लागेको छ ।  

उनी भन्छिन्, ‘ हिजो आज धेरै ठाउँमा राम्रा शिक्षक हुनुहुन्छ र राम्रो पढाइ हुने गरेको छ । तर आफ्ना छोराछोरी विद्यालयमा भएपछि प्रयोगशालाको उच्चतम प्रयोगदेखि शैक्षिक गुणस्तर सुधारका लागि कक्षाकोठा राम्रो बनाउनुपर्छ भन्नेमा सबैको चासो झन् बढ्ने रहेछ ।’

पक्षपात भएको महसुस नगरुन् भन्नेमा शिक्षक सचेत 

कतिपय विद्यालयमा शिक्षकका केटाकेटीलाई परीक्षामा बढी अंक र विभिन्न क्रियाकलापमा धेरै अवसर दिने गरेको गुनासो बेला बेला सुनिन्छ । यसले गर्दा शिक्षक र अभिभावकबीच विवाद पनि हुने गर्छ ।

सिद्धि गणेशकी शिक्षक अधिकारी भन्छिन् ‘कहिलेकाहिँ यस्तो हुन्छ । एक विद्यार्थीले परीक्षामा मेरो छोराभन्दा कम जीपीए ल्याएपछि उनको अभिभावक रिसाउनुभयो । कक्षामा दुबै राम्रा थिए । ती विद्यार्थीको परीक्षामा लेखेको अलि कमजोर थियो । मैले उत्तरपुस्तिका पल्टाउँदै कहाँ कहाँ बिग्रेको छ भनेर देखाएँ ।’

माध्यमिक तहकी शिक्षक भए पनि रविना लिम्बूले केही समय कक्षा ५ मा  पनि पढाइन् । २०७९ सालमा शिक्षक सेवा आयोग पास गरेर डेडीथुम्का मावि जाँदा ललितपुरको एक नाम चलेको निजी विद्यालयबाट छोरा झिकेर उनले त्यहाँ लगिन् । कक्षा ५ मा भर्ना गरिन् । स्थानीय तहको निर्णयपछि २०८२ सालमा अरु शिक्षकले पनि आफ्ना छोराछोरी भर्ना गरे ।

कुनै क्रियाकलाप गराउँदा अरु विद्यार्थीले फरक व्यवहार महशुस गर्लान् कि भन्नेमा आफू सचेत रहेको उनको भनाइ छ । 

‘सरसफाइका काम गर्न कतिले असहज मान्छन् । यस्तोमा छोरालाई अघि सार्थेँ । म्यामले आफ्नो छोरालाई त अघि सार्नुभएको छ भनेर अरु पनि तयार हुन्थे । ’

एक पटक परीक्षाको बेला सहकर्मी शिक्षकले प्रश्न बुझाइ दिँदा म्यामको छोरालाई उत्तर सिकाइदिएको भनेर अरु विद्यार्थीले गुनासो गरे । यस्तो गुनासो आउन नदिन सतर्क हुनुपर्ने उनको भनाइ छ ।

‘अंग्रेजी हिज्जे प्रतियोगिता हुँदैछ र छोरा सहभागी हुँदैछ भने म त्यसबाट अलग रहन्थेँ । ऊ सहभागी भएको छैन भने मात्र व्यवस्थापनमा सहभागी हुन्थेँ ।’ उनले भनिन् । 

उनको छोरा यो वर्षदेखि कक्षा ९ मा ललितपुरको त्रिपद्मा माध्यमिक विद्यालयमा पढ्दैछन् । उनका श्रीमान धन कन्दङवा त्रिपद्ममा माध्यमिक तहमा सामाजिक अध्ययन विषय शिक्षक हुन् । 

एक शिक्षकको भनाइमा छोराछोरीको कापी परीक्षणमा कहिलेकाहिँ सहकर्मीबाट उदार भएर अंक दिने गरिन्छ । आफूले कापी हेर्दा त्यस्तो लाग्ने गरेको ती शिक्षकको भनाइ छ । 

शिक्षक अधिकारी यस्तो हुनुहुँदैन भन्नेमा जोड दिँदै भन्छिन्, ‘सबै विद्यार्थी शिक्षकका लागि समान हुन् । तर कहिलेकाहिँ केही कुरामा शिक्षकका छोराछोरीले छुट पाएको हो कि जस्तो लाग्छ । कुनै काम बिगार्दा दिइने सजायमा अलि फरक व्यवहार भएको छ कि भन्ने लाग्छ । हामी शिक्षक सतर्क हुनुपर्छ भन्नेमा छलफल गरिरहन्छौँ ।’

प्रतिक्रिया