जनकपुर - विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण र रूपान्तरणका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनबाट उनीहरुले उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रधानाध्यापक संघ नेपाल पानले आयोजना गरेको सम्मेलन पछि जारी १२ बुँदे प्रतिबद्धतामा शिक्षा नीति तथा कानुनी सुधार देखि प्रधानाध्यापक नेतृत्व विकास र संस्थागत सुदृढीकरण तथा जवाफदेहिता सम्मका विषय समेटिएका छन् । प्रधानाध्यापकको नेतृत्व विकास, शिक्षक र कर्मचारी तथा विद्यालय सरोकारवालाको मनोबल अभिवृद्धि गर्ने सम्मका बुँदा उक्त प्रतिवद्धतामा समेटिएका छन् ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण र समग्र रूपान्तरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, तीन तहका सरकार, शैक्षिक संस्था र सम्पूर्ण सरोकारवालासँग समन्वय, सहकार्य र साझेदारी गर्दै अघि बढ्ने संघले प्रतिबद्धता व्यक्त गरेको छ । प्रत्येक विद्यालयलाई गुणस्तरीय, सुरक्षित, हरित, प्रविधिमैत्री, कृत्रिम बुद्धिमत्ता सक्षम, समावेशी, विपद् उत्थानशील, सीपमूलक र जीवनोपयोगी सिकाइको केन्द्रका रूपमा विकास गर्ने साझा दृष्टिकोण सहित जारी उक्त प्रतिबद्धता पत्रमा उक्त प्रतिबद्धता कार्यान्वयनका लागि साझा संकल्प र साझा मूल मन्त्र पनि समेटिएका छन् । सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धिलाई संघले मूल मन्त्र बनाएको संघका महासचिव लक्ष्मण श्रेष्ठ र अध्यक्ष सुदाम प्रसाद गौतमले हस्ताक्षर गरेको उक्त प्रतिबद्धतामा उल्लेख छ ।
प्रतिबद्धता पत्रमा उल्लेख मुख्य विषय
१. शिक्षा नीति तथा कानुनी सुधार
समयानुकूल संघीय शिक्षा ऐन निर्माण र कार्यान्वयनका लागि नीतिगत पैरवी तथा रचनात्मक सहकार्य गर्ने।
विद्यालयको स्वायत्तता, प्रधानाध्यापकको सशक्तिकरण, सबै प्रकारका शिक्षक/कर्मचारीहरूको पेशागत सम्मान, अभिभावकको विश्वास र विद्यार्थीको सिकाइ सुनिश्चित गर्न पहल गर्ने।
प्रशासनिक झन्झट, नीतिगत अस्पष्टता र अनावश्यक हस्तक्षेप न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने।
२१औँ शताब्दीको समय सान्दर्भिक तथा परिवर्तनशील पाठ्यक्रम तथा शिक्षा नीति निर्माणका लागि रचनात्मक पहल गर्ने ।
२. प्रधानाध्यापक नेतृत्व विकास
प्रधानाध्यापकको नेतृत्व, व्यवस्थापन र सुशासन क्षमता अभिवृद्धिका लागि Educator’s Academy स्थापना तथा सञ्चालनका लागि पहल गर्ने।
नेतृत्व विकास, शैक्षिक योजना, वित्तीय व्यवस्थापन र नवप्रवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
सक्षम, जवाफदेही र परिवर्तनमुखी विद्यालय नेतृत्व विकास गर्ने।
PAN LMS संचालन गरी Principal हरुलाई विद्यालय संचालनमा सहयोग गर्ने ।
३. शिक्षक/ कर्मचारी तथा विद्यालय सरोकारवालाको मनोबल अभिवृद्धि
प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी र अभिभावकको मनोबल, आत्मविश्वास, उत्प्रेरणा र पेशागत प्रतिष्ठा अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने।
सम्मान, प्रोत्साहन, पुरस्कार, अनुभव आदानप्रदान, क्षमता विकास र उत्प्रेरणात्मक कार्यक्रमलाई संस्थागत गर्ने।
विद्यालयमा सकारात्मक कार्यसंस्कृति, आपसी सम्मान, सहकार्य र साझा उत्तरदायित्वको वातावरण विकास गर्ने।
४. निरन्तर पेशागत तथा सीप विकास
प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीका लागि शैक्षिक, प्रशासनिक, नेतृत्व तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्ने।
व्यावहारिक तथा सीपमूलक तालिमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने।
विद्यार्थीलाई जीवनोपयोगी, नैतिक, प्राविधिक, व्यावसायिक, उद्यमशीलता र डिजिटल सीप विकासका अवसर उपलब्ध गराउन पहल गर्ने।
५. AI तथा प्रविधिमैत्री विद्यालय रूपान्तरण
विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्रविधि र नवीन शिक्षण विधिको प्रयोग विस्तार गर्ने।
शिक्षक/ कर्मचारी तथा विद्यार्थीको AI र डिजिटल साक्षरता अभिवृद्धि गर्ने।
जिम्मेवार AI प्रयोग, साइबर सुरक्षा र डिजिटल गोपनीयतासम्बन्धी सचेतना प्रवर्द्धन गर्ने।
६. विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित विद्यालय
विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्न प्रतिबद्ध हुने ।
भूकम्प, आगलागी, बाढी, पहिरो तथा अन्य जोखिमको पूर्वतयारी र नियमित अभ्यास प्रवर्द्धन गर्न प्रतिबद्ध हुने ।
सुरक्षित पूर्वाधार, प्राथमिक उपचार, उद्धार तयारी र विद्यालय सुरक्षा संस्कृतिको विकास गर्न प्रतिबद्ध हुने ।
७. हरित विद्यालय तथा जलवायु परिवर्तनसम्बन्धी कार्य
हरित, स्वच्छ र वातावरणमैत्री विद्यालय अभियान सञ्चालन गर्न प्रतिबद्ध हुने ।
वृक्षरोपण, जैविक विविधता संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ ऊर्जाको प्रयोग प्रवर्द्धन गर्न प्रतिबद्ध हुने ।
जलवायु शिक्षा, वातावरणीय सचेतना र दिगो विकाससम्बन्धी गतिविधि विद्यालयमा विस्तार गर्न प्रतिबद्ध हुने ।
८. असल अभ्यास आदानप्रदान तथा शैक्षिक गतिविधि
सफल विद्यालयका असल अभ्यास, नवीन शिक्षण विधि र प्रभावकारी व्यवस्थापन प्रणालीको पहिचान, अभिलेखीकरण र आदानप्रदान गर्ने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया र अध्ययन भ्रमण आयोजना गर्ने।
विद्यालयबीच अनुभव आदानप्रदान, सहकार्य, शैक्षिक अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने।
उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक/कर्मचारी, उत्कृष्ट स्थानीय तह, शिक्षा पत्रकार, शिक्षाविद्/अभियन्ता तथा विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने।
९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र साझेदारी
नेपाल सरकार, शिक्षा मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग सहकार्य गर्ने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विकास साझेदार, विश्वविद्यालय, शैक्षिक सञ्जाल र अनुसन्धान संस्थासँग समन्वय तथा साझेदारी विस्तार गर्ने।
विद्यालय रूपान्तरणका लागि प्राविधिक सहयोग, ज्ञान, स्रोत, अनुसन्धान र अवसरको आदानप्रदान गर्ने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपालको स्थानीय आवश्यकता र सन्दर्भअनुसार विद्यालयमा लागू गर्न पहल गर्ने।
१०. विद्यार्थी, अभिभावक र समुदायको सहभागिता
विद्यालयको शैक्षिक गुणस्तर सुधार प्रक्रियामा विद्यार्थी, अभिभावक र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पहल गर्ने।
बालअधिकार, समावेशिता, लैङ्गिक समानता, मानसिक स्वास्थ्य र विद्यार्थी कल्याणका कार्यक्रम प्रवर्द्धन गर्ने।
विद्यालयलाई समुदायको ज्ञान, सीप, संस्कृति र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्ने।
११. गुणस्तरीय तथा नतिजामुखी सिकाइ
विद्यार्थीको सिकाइ उपलब्धि, सिर्जनशीलता, आलोचनात्मक सोच, व्यवहार र व्यावहारिक सीपमा आधारित शिक्षा प्रवर्द्धन गर्ने।
शिक्षण सिकाइ सुधार, शैक्षिक अनुसन्धान र नियमित मूल्याङ्कनलाई प्रोत्साहन गर्ने।
प्रत्येक विद्यालयको शैक्षिक सुधार योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सहयोग गर्ने।
१२. संस्थागत सुदृढीकरण तथा जवाफदेहिता
प्रधानाध्यापक संघ नेपाललाई सक्षम, पेशागत, समावेशी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध हुने ।
संस्थाका गतिविधि तथा कार्यक्रमलाई सदस्य विद्यालयको आवश्यकता र प्राथमिकतासँग जोड्ने।
प्रतिबद्धताहरूको कार्यान्वयन, नियमित समीक्षा र उपलब्धिको अभिलेखीकरण गर्ने।
- कार्यान्वयनका लागि हाम्रो साझा संकल्प
यस प्रतिबद्धता–पत्रलाई व्यवहारमा उतार्न प्रधानाध्यापक संघ नेपालले:
संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर नीतिगत संवाद, समन्वय र सहकार्य गर्नेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था, विकास साझेदार र विश्वविद्यालयसँग सहकार्य तथा साझेदारी विस्तार गर्नेछ।
प्रधानाध्यापक, शिक्षक/ कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय कर्मचारीको मनोबल उच्च राख्न सम्मान, प्रोत्साहन, उत्प्रेरणा र क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।
विद्यालयका असल अभ्यास पहिचान, अभिलेखीकरण, प्रकाशन तथा आदानप्रदान गर्नेछ।
शैक्षिक सम्मेलन, गोष्ठी, सेमिनार, प्यानल छलफल, कार्यशाला र अध्ययन भ्रमण सञ्चालन गर्नेछ।
सुरक्षित, हरित, डिजिटल, AI-सक्षम र विपद् उत्थानशील विद्यालय अभियान विस्तार गर्नेछ।
प्रतिबद्धताहरूको कार्यान्वयन प्रगतिको नियमित समीक्षा, अनुगमन तथा प्रतिवेदन सार्वजनिक गर्नेछ।
मधेश प्रदेशका शैक्षिक गुणस्तर उकास्न तथा साक्षर प्रदेश घोषणा गराउन पहल गर्ने ।
- हाम्रो साझा संकल्प
हामी प्रधानाध्यापकको नेतृत्व सशक्त बनाउनेछौँ।
हामी शिक्षक/कर्मचारीको सम्मान र पेशागत क्षमता अभिवृद्धि गर्नेछौँ।
हामी विद्यार्थीको प्रतिभा, सीप, सिर्जनशीलता र भविष्य निर्माणमा योगदान गर्नेछौँ।
हामी अभिभावक र समुदायको विश्वास तथा सहभागिता बढाउनेछौँ।
हामी सबै विद्यालय सरोकारवालाको मनोबल, आत्मविश्वास र संस्थागत एकता उच्च राख्नेछौँ।
हामी विद्यालयलाई सुरक्षित, हरित, डिजिटल, AI-सक्षम र विपद् उत्थानशील बनाउनेछौँ।
हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीबाट विद्यालय रूपान्तरणका नयाँ अवसर सिर्जना गर्नेछौँ।
हामी असल अभ्यास, नवप्रवर्तन, अनुसन्धान र अनुभव आदानप्रदानलाई शिक्षा सुधारको आधार बनाउनेछौँ।
- हाम्रो साझा मूल मन्त्र
“सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धि!”
सक्षम प्रधानाध्यापक • सम्मानित शिक्षक/ कर्मचारी • प्रेरित विद्यार्थी • सक्रिय अभिभावक • रूपान्तरित विद्यालय
यस अघि सम्मेलनको उद्घाटनका दिन संघले आधारभूत तथा माध्यमिक तहका १४ विद्यालय, १४ प्रधानाध्यापक र १५ पालिकालाई पुरस्कार सहित सम्मान गरेको थियो ।
पढ्नुहोस् : विद्यालय, प्रधानाध्यापक र पालिकालाई सम्मान
प्रतिक्रिया