काठमाडौ - काठमाडौ विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८६ वषिय शर्माको बुधबार साँझ निधन भएको हो । उनको निधनले नेपाली शिक्षा जगतका एक महान् नक्षत्र, दूरदर्शी शिक्षाविद् गुमाएको विश्वविद्यालयमा उपकुलपति विवेक बरालले बताए । विश्वविद्यालयका प्रेरणा स्रोत रहेका शर्माको योगदान, मार्गदर्शन र शैक्षिक विरासत सदैव आफूहरुको स्मृतिमा जीवित रहने उनले बताए ।
विद्यालय तहदेखि उच्च शिक्षासम्म शर्माको योगदान छ । उनी विश्वविद्यालय स्थापना पछि लगातार ६ कार्यकाल काठमाडौ विश्वविद्यालयको उपकुलपति भएका थिए ।
बेलायतबाट रसायन शर्मा नेपालको प्राविधिक शिक्षा क्षेत्रमा समेत स्थापित नाम हो । उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का संस्थापक निर्देशक पनि थिए ।
अहिले सञ्चालनमा रहेका देशका धेरै प्राविधिक शिक्षालयहरुको स्थापनामा पनि उनको भूमिका छ । उनी बूढालीनकण्ठ स्कुलको अध्यक्ष पनि भएका थिए । शर्माकी एक छोरीको निधन भईसकेको छ । उनका चार छोरी थिए ।
विहीबार दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको बालकुमारी सिथ्त विश्वविद्यालयको स्कुल अफ म्यानेजमेण्टमा राखिने बरालले बताए ।
फोटो : विश्वविद्यालयका उपकुलपति बरालको फेसबुकबाट साभार
प्रतिक्रिया