Edukhabar
शुक्रबार, ०९ असोज २०८३
गतिविधि

वर्षा र बाढीको जोखिम : सतर्कता अपनाउन विद्यालयहरूलाई निर्देशन

पठनपाठन बन्द वा वैकल्पिक व्यवस्थापनको निर्णय लिन सकिने

बुधबार, ०७ असोज २०८३

काठमाडौ - जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेपछि काठमाडौ महानगरपालिकाले आफ्ना क्षेत्र भित्रका सबै विद्यालयहरूलाई विशेष सजगता र सतर्कता अपनाउन निर्देशन दिएको छ ।   

लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको बहाव अत्यधिक बढ्ने, सडकहरू जलमग्न हुने एवं बाढी र डुबानको उच्च जोखिम रहने भएकाले महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सुरक्षित रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यस मौसमी प्रणालीका कारण देशका अधिकांश भू भागमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । यसले गर्दा साना ठूला नदी तथा खोलाहरूमा एकाएक बाढी आउने, होचा भूभागहरू डुबानमा पर्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक यातायात तथा जनजीवन प्रभावित हुने उच्च सम्भावना रहेको भन्दै सरकारले सचेत बनाईरहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री बालेन्द्र शाहले बाटैबाट सजग रहन आह्वान गरेका छन् । प्रशासन सहित विभिन्न स्थानीय तहहरुले पनि सजगताको अपिल गरिरहेका छन् ।  
महानगरपालिकाद्वारा जारी निर्देशनमा बालबालिका तथा विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ । 

विद्यार्थीलाई नदी, खोला, खुल्ला ढल तथा डुबान भइरहेका सडकहरूबाट टाढै रहन र विद्यालय आउजाउ गर्दा सुरक्षित बाटो मात्र प्रयोग गर्न कक्षाकोठामै सचेत गराउन महानगरले निर्देशन दिएको छ । यस्तै जोखिमको स्थलगत पहिचान गर्न विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जान सक्ने जस्ता जोखिम भएर भएको यकीन गरी तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ । साना

बालबालिकाहरूलाई विद्यालय ल्याउने र लैजाने क्रममा अभिभावकहरूलाई नै अनिवार्य उपस्थितिको लागि अनुरोध गर्न एवं आपतकालीन अवस्था आइपरेमा तत्काल स्थानीय प्रहरी, विपद् व्यवस्थापन समिति वा महानगरपालिकाको हटलाइन नम्बरमा सम्पर्क गर्न भनिएको छ । यस्तै मौसमको अवस्था अत्यन्तै प्रतिकूल भएमा विद्यार्थीको ज्यान जोखिममा नपार्न महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरी पठनपाठन बन्द वा वैकल्पिक व्यवस्थापनको निर्णय लिन पनि विद्यालयहरुलाई निर्देशन दिएको छ । 
 

प्रतिक्रिया