Edukhabar
आइतबार, ०३ साउन २०८३
गतिविधि

शैक्षिक सुधारमा सकृय शिक्षक, कर्मचारीलाई सम्मान

शैक्षिक सुधार तथा सिकाइ अभिवृद्धिका बारेमा शिक्षकहरु माझ विज्ञका अनुभव प्रस्तुत

शनिबार, ०२ साउन २०८३

काठमाडौ - बालबालिकाको सिकाइ एवं विद्यालयको शैक्षिक सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै कागेश्वरी मनोहरा नगरपालिकाको श्री सिद्धि गणेश माध्यमिक विद्यालय, गागलफेदीले आफ्ना शिक्षक तथा कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । नगरपालिका र विद्यालयको संयुक्त आयोजनामा शनिवार भएको शैक्षिक सुधार तथा सिकाइ अभिवृद्धि सम्बन्धि कार्यशाला गोष्ठिमा जनही पाँच हजार रुपैंया नगद पुरस्कार सहित सम्मान गरिएको हो । सर्वोत्कृष्ट शिक्षक तथा कर्मचारी २०८२ शीर्षकमा सम्मानित हुनेहरुमा शिक्षक सरोज धिताल, शर्मिला थापा, मदन कार्की रूपा थापा, कविता धिताल, अभिषेक पुडासैनी, सविस्ता घलान र सोनी रसाइली छन् । यस्तै लेखापाल नरेश श्रेष्ठ र विद्यालय नर्स चन्द्रकला खड्कालाई पनि सम्मान गरिएको छ । 

सर्वोच्च अदालतका न्यायाधिस सुनिल कुमार पोखरेल र नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले शिक्षक र कर्मचारीहरुलाई नगद सहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा न्यायाधिस पोखरेलले सिद्धि गणेशले सुधारका लागि अपनाएको अभ्यास अन्य विद्यालयका लागि समेत अनुकरणीय रहेको भन्दै विद्यालयलाई शुभकामना व्यक्त गरे । यस्तै नगर प्रमुख कार्कीले सामुदायिक विद्यालयले अपनाएको असल अभ्यास हेर्न देशका अन्य जिल्लामा जानु पर्ने अवस्थाको अन्त्य सिद्धि गणेशले गरेको भन्दै पालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एउटै लयमा लैजाने गरी पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।  

वि.स.२०३५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ । नर्सरीदेखि कक्षा आठ सम्म अङ्ग्रेजी माध्यम तथा ९ – १२ मा अङ्ग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन गरिरहेको छ । शिक्षा मन्त्रालयको छनौटमा २०७३ देखि कक्षा ९ र १० मा प्राविधिक शिक्षा अन्तर्गत बाली विज्ञान विषयको पनि पठनपाठन हुन्छ । हाल विद्यालयमा एक हजार एक सय ११ विद्यार्थी अध्ययनरत छन् । 

सहित अन्य शिक्षक, कर्मचारी गरी ३४ जना, कार्यालय सहयोगी चार जना र चार जना चालक सहचालकलाई पनि सम्मान गरिएको थियो । विद्यालयमा  शिक्षक कर्मचारी गरी ५३ जना कार्यरत छन् ।  कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

यस अघि भएको गोष्ठिमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सुधारका लागि संसारका अन्य देशले अपनाएको विधिको चर्चा गर्दै शिक्षकले गर्नु पर्ने कामका बारेमा ब्याख्या गरे । विद्यालय र सिकाइ सुधारमा शिक्षककै भूमिका प्रधान हुने उनको निष्कर्श थियो । यस्तै शिक्षा प्रशासनमा लामो समय कार्य गरेर हालै अवकास प्राप्त पूर्व सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकको लगावले नै सिकाइ सुधार हुने उल्लेख गरे । शिक्षाविद् डा. ध्रुव आचार्यले शिक्षकहरुको सामूहिकता विना सुधार सम्भव नहुने बताए । पालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले शिक्षा सुधारमा पालिकाले अपनाएको विधि र भएको सुधारका बारेमा चर्चा गर्दै व्यवस्थापन र नेतृत्वमा चुस्त भएको विद्यालयको सुधार पक्का भएको बताए । 

बालुवाटारमा रहेको पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक विनिता रञ्जितले बन्द हुने अवस्थामा पुगेको पञ्चकन्याले सुधारका लागि अपनाएको शैलीका बारेमा प्रस्तुती दिएकी थिईन् । शिक्षकहरुको प्रयत्नले हाल विद्यालयको उल्लेख्य सुधार भएको उनले आफ्नो अनुभव सुनाईन् । प्रभात मा.वि. ग्वार्को, ललितपुरका गणित शिक्षक चिन्तामणि ढकालले गणितको हाउगुजीबाट विद्यार्थीलाई कसरी सहज बनाउने भन्ने बारेमा आफूले अपनाएको विधि शिक्षकहरु माझ साझा गरेका थिए । गणितलाई पनि दैनिक जीवनको अभ्याससँग जोड्ने हो भने विद्यार्थीले सिक्न झण्झट नमान्ने उनको निष्कर्श छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापाले शिक्षक, कर्मचारीको मेहनतमा अभिभावक र समाजका सबै वर्ग र क्षेत्रका व्यक्तिहरुको साथले विद्यालयको सुधार सम्भव भएको बताए । 

विद्यालयले २०८१ सालको कक्षा १० को अन्तिम परीक्षामा ४ जिपीए प्राप्त गरेको थियो भने यस बर्षको नतिजामा ३ दशमलब ४५ जिपीए सहित काठमाडौ जिल्लाका सामुदायिक विद्यालय मध्ये पाँचौ भएको छ । पालिकाले लिने कक्षा ८ को परीक्षामा पािलका भरीमा प्रथम भएको छ ।  

प्रतिक्रिया