प्रविधिको क्रान्ति र एक्काइसांै शताब्दी एक अर्काका पर्यायवाची शब्द जस्ता भएका छन् । यो शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा एक पछि अर्को प्रविधिको विकासले हरेक क्षेत्रमा हलचल मच्चाएको छ । विज्ञान र प्रविधिको पछिल्लो विकासको आविष्कारको रुपमा विकास भएको कृतिम बुद्धिमता (एआई) ले शिक्षा, स्वास्थ्य, यातायात, खोज, अनुसन्धान लगायकका क्षेत्रमा भूमिका खेल्दै आएको छ । कृतिम बुद्धिमता Artificial Intelligence (AI) ले शिक्षा क्षेत्रमा शिक्षक, प्राध्यापक तथा विद्यार्थीको मौलिक चिन्तन, दृष्टिकोण र सीपलाई साँघुरो बनाउँदै गएको छ ।
एआईले जस्तोसुकै कठीन बिषय वा बिषयबस्तुको पनि एकै निमेषमा समाधान गर्ने यो प्रविधिले विद्यार्थीको सोच्ने, चिन्तन गर्ने, अभ्यास गर्ने र समस्याहरुको समाधान गर्ने सिर्जनात्मक अभ्यासमा वाधा पुर्याई रहेको छ । विद्यार्थी एआईलाई शिक्षकको भूमिकाको रुपमा प्रयोग गर्ने संस्कृतिको विकास हुँदै गएको देखिन्छ । शिक्षण केवल सूचना र बिषयबस्तुको हस्तान्तरण गर्ने माध्यम वा बिषय होइन । शिक्षण सिकाइ अन्तरगत विद्यार्थीमा मौलिक ज्ञानको विकास, सिर्जनात्मक सीप अभिबृद्धि, सोच, व्यबहार, मानव मूल्य, अनुशासन, सिर्जनशीलता र सामाजिक चेतनाको विकास जस्ता अत्यन्त महत्वपूर्ण पक्षहरु हुन्छन् । यी पक्षहरुको परिपूर्ति गर्न एआईले सक्दैन । यसले त सूचनाको हस्तान्तरण मात्र गर्न सक्दछ । यस अर्थमा एआई विद्यार्थीको पूर्ण शिक्षक बन्न सक्दैन । केवल सहगोगी बन्न सक्दछ ।
एआईले शिक्षकले जस्तो विद्यार्थीको अनुहार पढ्न सक्दैन । भावना बुझ्न सक्दैन । विद्यार्थीको भावनात्मक संवेदना, मनोवैज्ञानिक अवस्था, मौनता र चञ्चलताको अध्ययन गरेर न त उनीहरुमा तदअनुरुपको व्यवहार निर्माण गर्न सक्दछ न त उनीहरुका कमीकमजोरीको पहिचान गरी हौसला, प्रेरणा र दिशानिर्देश गर्न सक्दछ । एआईले असफलताको दलदलमा परेको विद्यार्थीलाई फेरि उठाउन सक्दैन । उनीहरुलाई उठाउन, डोहोर्याउन, हिंडाउन, दौडाउन, हँसाउनको लागि शिक्षक नै चाहिन्छ । शिक्षकहरुले विद्यार्थीका गलत क्रियाकलापहरु प्रति पश्चाताप गराएर सही मार्गनिर्देश गर्न सक्दछन् । बदमासलाई असल र चोरलाई साधु बनाउन सक्दछन् । यही नै मानवीय सबन्ध र शिक्षाको आत्मा हो । यस कोणबाट हेर्दा एआई शिक्षकको विकल्प होइन, सहयोगी हो ।
एआई शिक्षक होइन, शिक्षक र विद्यार्थी पूर्ण सहयोगी भने बन्न सक्दछ । शिक्षकले पाठ योजना बनाउन, पाठ्य साम्राग्रीको संकलन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रयोग भएका आधुनिक शिक्षण विधिहरु सिक्न, तथ्य र तथ्याङ्कहरुलाई अपडेट गर्न, सूचना लिन र अपूर्ण बूझाईलाई पूर्णता दिने कार्यमा एआईको सहयोग लिन सक्छन् । अमेरिकी शिक्षाबिद् जोन डिवेले शिक्षालाई जीवनको तयारी मात्र नभई स्वयं जीवनको प्रकृया हो, भनेका थिए । डिवेको भनाइको आशयले शैक्षिक संस्था र शिक्षक प्राध्यापकहरु ज्ञान बाँड्ने माध्यम मात्र नभई जीवन सिक्ने र सिकाउने प्रयोगशाला हुन् भन्ने अर्थ लाग्छ ।
शिक्षण प्राविधिक कार्य भएकोले यसमा ज्ञानात्मक, भावनात्मक, कृयात्मक र व्यवहारिक पक्षहरु जोडिएका हुन्छन् । एउटै कक्षा भित्र विद्यार्थीका सिकाइगत क्षमता पनि फरक फरक हुन्छन् । कुनै विद्यार्थीलाई उदाहरण, चित्र, भनाई वा सरल व्याख्या आदिको आवश्यकता पर्दछ भने कसैलाई स्तर अनुसारको शिक्षण कला चाहिन्छ । बिषयबस्तुको प्रस्तुतिकरण र उनीहरु प्रति गर्ने व्यवहार पनि फरक चाहिन सक्छ । यस कोणबाट हेर्दा एआईलाई शिक्षकको प्रतिस्पर्धीको रुपमा हेर्नु तर्क संगत हुँदैन । एआई कृतिम बुद्धिमता भएकोले अर्गानिक ज्ञानको स्रोत हुन सक्दैन । तथापि यसलाई उचित तरिकाले प्रयोग गर्न सकेमा शिक्षक, प्राध्यापक, विद्यार्थी, शोधार्थी लगायत हरेक क्षेत्रमा प्रभावकारी सहयोगीको भूमिका खेल्न सक्दछ ।
शिक्षण बिषयबस्तु हस्तान्तरणको माध्यम मात्र होइन । कुमालेले घंैटोको आकार दिएजस्तो, मूर्तिकारले मूर्ति बनाए जस्तो, चित्रकारले चित्रहरुलाई पूर्णता दिएर सुन्दर बनाए जस्तो शिक्षण कार्य पनि कलाकार (शिक्षक) को हातको एउटा औजार हो, जसको माध्यमबाट उसले आप्mनो स्टुडियो भित्र (शिक्षालय भित्र) पदार्थहरु (विद्यार्थीलाई) आफ्नो विचारमा (लक्ष्यमा) पुराउने प्राविधिक सीप हो । यसको लागि शिक्षण सिकाइका अनेक उपायहरु अवलम्बन गर्न आवस्यक हुन्छ । तसर्थ शिक्षणलाई कला र प्रविधिको प्mयुजन भनिएको हो । यो कार्य शिक्षकहरुबाट मात्र संभव हुन्छ ।
शिक्षकले विद्यार्थीकोे घरयासी र पारिवारिक पृष्ठभूमिको अध्ययन गर्नु पर्दछ । शिक्षार्थीको भाषिक, साँस्कृतिक तथा शैक्षिक पृष्ठभूमिको अध्ययनले उनीहरुमा रहेका समस्याहरुको पहिचान गर्न सकिन्छ ।
अहिले हाम्रा शिक्षण संस्थाहरुमा परम्परागत शिक्षण शैली हावी छ । हाम्रा गुरुजनहरु समय सापेक्ष शिक्षण विधिमा निपूर्ण नभएको अनुसन्धानहरुले देखाउँछन् । शिक्षकहरुलाई शिक्षण सिकाइमा अपडेट गर्नको लागि राज्यले आवधिक तालिम दिने गरेको छ । एकातिर शिक्षकहरुले तालिममा सिकेका ज्ञान तथा सीपलाई कक्षाकोठामा डेलिभर गर्न नसकेको अनुसन्धानहरुले देखाएका छन् भने अर्कोतिर शिक्षण सिकाइमा विद्यार्थीले एआईबाट शिक्षकको भूमिका खोजीरहेको अवस्था छ । यस अवस्थामा शिक्षण सिकाइमा शिक्षकहरुको भूमिका प्रभावकारी हुन आवश्यक ठानिन्छ । शिक्षकहरुले एआई र शिक्षकको शक्ति, क्षमता र सिर्जनशीलताका बीचको अन्तरलाई तुलनात्मक क्षमताको आधारलाई छट्याएर विद्यार्थीलाई पढाउन, बझाउन र सिकाउन सक्नु पर्दछ ।
अहिले शिक्षण विद्यार्थीमा मौलिक सोच र सिर्जनात्मक सिकाइ कसरी जगाउने भन्ने चनौति दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । यस अर्थमा शिक्षकहरुले परम्परागत शिक्षण शैलीमा परिवर्तन गरी मौलिक, सिर्जनात्मक, तार्किक, विद्यार्थी मैत्री बनाउन आवश्यक मात्र होइन, अनिवार्य हुन आउँछ । शिक्षण सिकाइमा मानवीय मूल्य र अनुभवलाई जीवन्त बनाउनु पर्दछ । परम्परागत शिक्षण विधिमा क्रम भङ्ग गरी प्रश्नोत्तर विधि, समस्यामा आधारित सिकाइ, समूहगत कार्य, छलफल, सहपाठी अन्तरक्रिया जस्ता शिक्षण सिकाइ विधिहरु अपनाउने समय आएको छ । यसको साथै शिक्षकहरुले विद्यार्थीको भावनाको कदर, आत्मविश्वासको उठान र प्रेरणा जगाउने काम गर्नु पर्दछ ।
एआईले विद्यार्थीमा ज्ञानको ढोका खोल्न सक्दछ । तर कुन ढोकाबाट प्रबेश गर्दा कहाँ पुग्न सकिन्छ भन्ने दिशानिर्देश गर्न सक्दैन । यो कार्य शिक्षकहरुबाट मात्र संभव हुन्छ । फरक क्षमता भएका विद्यार्थीलाई एउटै कक्षाकोठामा एकै प्रकारका शिक्षण विधिले न्याय नगर्न सक्दछ । शिक्षाविद जुडका अनुसार सिकाइ सिकारुको पूर्वज्ञानका आधारमा अगाडि बढ्दै जाने प्रकया हो, भन्ने छ । यसरी हेर्दा शिक्षार्थीको पूर्वज्ञान, रुची, क्षमता, चाहाना, तहगत स्तर, स्वभाव, उमेर र मनोविज्ञानको आधारमा अध्यापन गर्न आवश्यक हुन्छ । यसको साथै शिक्षकले विद्यार्थीकोे घरयासी र पारिवारिक पृष्ठभूमिको अध्ययन गर्नु पर्दछ । शिक्षार्थीको भाषिक, साँस्कृतिक तथा शैक्षिक पृष्ठभूमिको अध्ययनले उनीहरुमा रहेका समस्याहरुको पहिचान गर्न सकिन्छ । समस्याहरुको आधारमा समाधान खोजिने शिक्षण प्रभावकारी हुन्छ । सिकाइ जीवन्त हुन्छ ।
शिक्षणलाई कलात्मक, गुणात्मक र सिर्जनसील बनाउन शिक्षकहरुमा बालमनोविज्ञानको ज्ञान आवश्यक ठानिन्छ । विद्यार्थीको रुचीलाई ध्यान नदिई अध्यापन गर्ने कार्य ब्याड तयार नगरी बीउ रोप्नु जस्तै हो ।
विद्यार्थी केन्द्रीत शिक्षणले मात्र सिकारुले राम्ररी सिक्न सक्दछ । बुभ्mन सक्दछ । शिक्षक विद्यार्थीको अभिभावक, अनुसन्धान कर्ता, परिवर्तन कर्ता, मूल्याड्ढन कर्ता, समन्वय कर्ता, व्यबसायिक मित्र, स्रोत व्यक्ति र प्रेरणाको स्रोत हो । सूचना, बिषयबस्तु र फरमूलाहरु हस्तान्तरण कर्ता मात्र होइन । यस अर्थमा गुणस्तरीय शिक्षण सिकाइको लागि शिक्षक व्यक्ति एक व्यक्तित्व अनेक हुन आवश्यक हुन्छ ।
अन्त्यमा, कक्षा कोठामा प्रत्यक्ष रुपमा रुपमा अन्तरक्रिया गर्ने र माथि उल्लेखित गरेजस्तो अनेक भूमिका निभाउन सक्ने शिक्षकको कुर्सीमा एआई बस्न सक्दैन । तर शिक्षकको छेउमा उभिने शक्तिशाली समय सापेक्ष सहयोगी भने हुन सक्दछ । प्रविधिले शिक्षकलाई विस्थापित गर्ने होइन । बरु शिक्षकलाई तिखार्न, निखार्न र प्रविण बनाउन यसको उपयोग आवश्यक ठानिन्छ । शिक्षाको उद्देश्य केवल प्रमाणपत्र धारी शिक्षित जनशक्ति उत्पादन गर्नु मात्र होइन, ज्ञानसंगै विवेक, सीपसंगै असल चरित्र र सफलतासंगै जिम्मेवारी बोध भएको शिक्षत व्यक्तिले मात्र घर, परिवार, समाज र सिङ्गो राष्ट्रलाई योगदान पराउन सक्दछ । यो कार्यको लागि एआईले शिक्षकको ठाउँमा होइन, बरु शिक्षकलाई सहयोग गर्न सक्दछ ।
प्रतिक्रिया