Edukhabar
बुधबार, ०२ मंसिर २०८३
खबर/फिचर

पूर्व शिक्षामन्त्री श्रेष्ठद्वारा मेयरमा उम्मेद्वारी घोषणा

संविधानले व्यवस्था गरेको शिक्षाको शासकीय प्रवन्ध र सार्वजनिक शिक्षाको प्रवर्धनका पक्षमा श्रेष्ठका मत सार्वजनिक हुँदै आएका छन् ।

बुधबार, ०२ मंसिर २०८३

काठमाडौ - पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बुधबार दिउँसो फेसबुक मार्फत् उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । कुनै दलको उम्मेद्वार बन्ने की स्वतन्त्र रुपमा चुनाव लड्ने भन्ने बारेमा उनको स्टाटसमा खुलाईएको छैन । 

'मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित' फेसबुक स्टाटसमा उनले उल्लेख गरेकी छन्  'आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।'

पोहोर भदौ २३ गते भएको जेन जी बिद्रोहका बेला आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने नख्खु जेल ब्रेक गरेर बाहिरिएको घटनामा असहमती जनाउँदै उनले पार्टि छाडेकी थिईन् । उक्त बिद्रोह पछि सुशिला कार्की नेतृत्वमा गठित सरकारलाई उनले समर्थन गरेकी थिईन् । तर, त्यतिबेला उनले कुनै औपचारिक नियुक्ति भने लिएकी थिईनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टिकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठ तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस सँगको सत्ता गठबन्धन भत्काएर नेकपा एमालेसँग समिकरण बनाए पछि गठन भएको सरकारमा २०८० फागुन २३ गते शिक्षामन्त्री बनेकी थिईन् । माओवादी केन्द्रसँग एमालेको खटपट परे पछि तत्कालिन प्रतिनिधि सभाको सबै भन्दा ठूलो दल नेपाली काँग्रेस र एमालेले सत्ता साझेदारीको सहमती गरेसँगै मन्त्री भएको एक सय २८ दिनमा २०८१ असार २८ गते श्रेष्ठको मन्त्री पद गएको थियो । तत्कालिन प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भएर एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । 

सत्ताका लागि दलहरुले रातारात समीकरण बदल्ने शैलीबाट आजित युवाहरुको अगुवाईमा भएको उक्त बिद्रोहलाई श्रेष्ठले समर्थन गरेकी थिईन् ।

संविधानले व्यवस्था गरेको शिक्षाको शासकीय प्रवन्ध र सार्वजनिक शिक्षाको प्रवर्धनका पक्षमा श्रेष्ठका मत सार्वजनिक हुँदै आएका छन् । 

प्रतिक्रिया