Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ

प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य रहेकी श्रेष्ठ संसदीय समितिमा उठाएका विषय कार्यान्वयन गर्ने ठाउँमा पुगेकी छन् ।

बुधबार, २३ फागुन २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ नयाँ शिक्षा मन्त्री बन्ने भएकी छन् । सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बिच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमती भएको थियो । उक्त सहमती अनुसार श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो । 

उक्त निर्णयका बारेमा आफूलाई जानकारी आएको श्रेष्ठले बताईन् । 

'मलाई पार्टिको निर्णय जानकारीमा आएको छ' उनले एडुखबरसँग भनिन् । 

उनी आफन्तको निधनका कारण अहिले शोकमा छिन् । 

गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा समितिको सदस्य छन् । समितिको बैठकमा शिक्षाका विषयमा गहन अध्ययन सहित उनी प्रस्तुत हुँदै आएकी छन् । यस अघि आफूले संसदीय समितिमा उठाएका विषय कार्यान्वयन गर्ने ठाउँमा उनी पुगेकी छन् । 

नयाँ संविधान जारी भएसँगै सम्पन्न दोश्रो आम चुनावमा गठबन्धन गरेर गएका दलहरु बिच पहिलाको प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद भए सँगै २०७९ पुस १० मा बनेको नयाँ सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टिले शिक्षा मन्त्रालयको नेतृत्व गर्ने मौका पाएको थियो । उक्त दलका सांसद शिशिर खनाल ०७९ माघ ३ गते शिक्षा मन्त्री भएका थिए । 

तर, पुस ११ गते उपप्रधान सहित गृह मन्त्री भएका पार्टिका सभापति रवि लामिछानेले अमेरिका र नेपालको दोहोरो नागरिकता लिएकोले प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको ठहर सहित माघ १३ गते सर्वोच्च अदालतको फैसला आए पछि लामिछानेको पद गएको थियो । अदालतको फैसला पछि उक्त दलले सरकारमा सहभागी भएको ४२ औं दिन, माघ २२ गते सरकार छाड्ने निर्णय गरेको थियो । यो निर्णय सँगै मन्त्री भएको २० दिनमै खनालले राजिनामा बुझाएका थिए । 

सत्ता गठबन्धन बदलिएसँगै ५५ दिन देखि खाली रहेको शिक्षा मन्त्रालयमा जनता समाजवादी पार्टिका संघीय परिषद् अध्यक्ष अशोककुमार राई २०७९ चैत १७ गते शिक्षा मन्त्री भएका थिए । अहिले फेरी दाहालले सत्ता समिकरण बदल पछि रास्वपा सरकारमा सामेल भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने गरी श्रेष्ठ सहित चार जनाको नाम टुंगो लगाएको छ ।  जस अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ पठाउने निर्णय गरेको हो । लामिछाने यस अघि पनि गृह मन्त्री थिए । उनी नागरिकता काण्डका कारण सरकारबाट बाहिरएका थिए । उनी बाहिरएपछि सरकारमा रहेका शिक्षा मन्त्री शिशिर खनाल सहितका मन्त्रीहरुलाई पार्टिले फिर्ता बोलाएको  थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार नेपाली कांग्रेस सँगको सत्ता गठबन्धन भत्काएर नेकपा एमालेसँग समिकरण बनाए पछि सत्ता साझेदार दलहरुले नयाँ मन्त्रीहरुको छनौट प्रकृया शुरु गरेका थिए । जस अनुसार  माओवादी केन्द्रबाट गृह मन्त्री बनेका नारायणकाजी श्रेष्ठ अब परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । एमालेबाट नेतृत्व गर्दै सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन् । 

प्रतिक्रिया