Edukhabar
मंगलबार, ०८ मंसिर २०८३
गतिविधि

किताबी रटान हैन, अनुसन्धान केन्द्रित पढाइको गन्तव्य

विद्यार्थीलाई तह अनुसार अध्ययन वृत्ति समेत उपलब्ध

मंगलबार, ०८ मंसिर २०८३

चित्लाङ् (मकवानपुर) - कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषिमा स्नातक सकेकी बुटवलकी सोनिया थापालाई स्नातकोत्तरको पढाइ अलिक फरक तरिकाले गर्ने चाहना थियो । 

अर्थात्, चलनचल्तीको किताबी रटान भन्दा भिन्न ! 

संसारका थुप्रै विश्वविद्यालयहरुले पढाइलाई अनुसन्धान केन्द्रित बनाएका बारे जानकार सोनियालाई नेपालमा पनि त्यस्तै अभ्यास भईदिए कति गजप हुने थियो भन्ने लागिरहेको थियो । अनुसन्धान केन्द्रित पढाइको खोजीमा रहेको बेला मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शैक्षिक कार्यक्रमका बारेमा थाहा पाए पछि सोनियालाई आफ्नो चाहनाले गन्तव्य फेला पारेको महशुस भएको छ । 

कलेज प्राङ्गणमा साथीहरुसँग भेटिएकी सोनियाले एडुखबरसँगको संक्षिप्त कुराकानीमा भनिन् : किताब मात्रै पढ्ने भन्दा पनि अभ्यास गर्दै रिसर्च फोकस भएर पढ्ने मन थियो, त्यो चाहना पुरा हुने भएपछि म यहाँ भर्ना भएँ ।  

उनीसँगै भेटिएकी सुरक्षा न्यौपानेले पनि विश्वविद्यालयले फरक शैलीमा गर्ने पठनपाठनको अभ्यासका कारण भर्ना भएको बताईन् । जिविका क्याम्पस सुनसरीबाट कृषि विषयमै स्नातक सकेकी चितवनकी सुरक्षा र चितवनमा पढेकी बुटवलकी सोनियाले अबको तीन बर्ष जैविक कृषि विषयमा अध्ययन, अनुसन्धान र अभ्यास पनि सँग सँगै गर्ने छन् । 

soniya_surakshya

जैविक कृषिमै स्नातकोत्तर तहको अन्तिम बर्षमा अध्ययन गरिरहेका सुर्खेतका प्रविन विसीले रैथाने च्याउको बारेमा आफ्नो अनुसन्धान लगभग पुरा गरेका छन् । गएका दुई बर्ष उनले रैथाने च्याउको खेती र उत्पादनलाई कसरी बढाउने भन्ने अनुसन्धानमै बिताए ।

prabin BC

विश्वविद्यालयमा भर्ना हुनु  अघि खेतीपातीकै काम गर्ने गरी ईजरायल गएका विसी त्यहाँ भएको युद्धका कारण नेपाल फर्किएका थिए । उनी फर्कनुको कारण फरक भए पनि केही अनुसन्धान र अभ्यास नगरि काम गर्न जाँदा समस्या हुने आफूले बुझेको उनले बताए । 

'ईजरायलबाट त सरकारले रेस्क्यु गरेर ल्यायो अब मेरो ध्यान खेती प्रविधिलाई कसरी अघि बढाउने भन्नेमा केन्द्रित हुने छ' उनले भने 'यत्तिको ल्याब मैले ईजरायलमा पनि देखिन ।' 

जैविक कृषि विषयका सहप्राध्यापक डा. भुषण श्रेष्ठ हरेक विद्यार्थी अनुसन्धानकर्ता हुने भएकाले त्यो अनुसन्धानका लागि पर्याप्त सामग्री सहितको ल्याब आवश्यक हुने बताउँछन् । 

BHUSAN

'डिग्री भनेको लिखित जाँच दिएर पास हुने कुरा मात्रै नभएर अनुसन्धान मुख्य हो, त्यसैले विद्यार्थीको विषय अनुसार यहाँ ल्याब व्यवस्था गरिएको छ' उनी भन्छन् 'यहाँ च्याउ देखि माछा सम्मको अनुसन्धानमा विद्यार्थी संलग्न छन् । आफूले अध्ययन गर्न चाहेको विषयको अनुसन्धानका लागि ल्याब छ भन्ने वित्तिकै विद्यार्थीको सिकाइ फरक भईहाल्छ ।' 

MBUST_fish lab

उच्च शिक्षालाई अनुसन्धान केन्द्रित गर्ने उद्देश्यका साथ सार्वजनिक शैक्षिक संस्थाका रुपमा १८ साउन २०७९ मा यो विश्वविद्यालय स्थापना भएको हो । २५ माघ २०८२ मा पहिलो दीक्षान्त भएको विश्वविद्यालयमा अहिले सम्म एक सय १४ विद्यार्थीले अध्ययन गरेका छन् । यस अघि स्नातकोत्तर र विद्यावारिधिमा मात्रै भर्ना हुने गरेकोमा नयाँ शैक्षिक सत्रका लागि कम्प्युटर विज्ञान र प्रविधि विषयमा स्नातक तहको पठनपाठन पनि शुरु गरिएको छ । यो तहका ६ जना विद्यार्थी भर्ना भएका छन् । स्नातकोत्तरमा ३४ र विद्यावारिधिमा ७ जना गरी आउँदो शैक्षिक सत्रका लागि विभिन्न तहमा ४७ जना विद्यार्थी नयाँ भर्ना भएको विश्वविद्यालयले जनाएको छ । 

यसै बर्षबाट शुरु भएको स्नातकको कार्यक्रम सहित विश्वविद्यालयमा जैविक कृषि, वन्य जैविक स्रोत, दिगो पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र तथ्यांक विज्ञान विषयहरूमा स्नातकोत्तर र विद्यावारिधि तहमा अध्यापन भईरहेको छ । 

विज्ञान, इञ्जिनियरिङ, प्रविधि र अनुसन्धान मार्फत ज्ञान उत्पादन, नवप्रवर्तन र दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य अनुसार कार्यक्रमहरु सञ्चालन भईरहेको विश्वविद्यालयका अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशीले बताए । 

'रिसर्च यूनिभर्सिटिमा धेरै विद्यार्थी हुँदैनन्, धेरै विद्यार्थी भए भने त आर्थिक श्रोत जुटाउनै गाह्रो हुन्छ' उनले भने '१० बर्षमा आठ सय विद्यार्थी पुर्याउने लक्ष्य छ । एक हजार विद्यार्थीले सिरियस भएर रिसर्च गरे देशलाई पुग्छ ।' 

अध्ययन अनुसन्धान विना देश बन्दैन भन्ने कुरा राज्यले बुझ्नु पर्ने बताउँदै उनले त्यो बुझेको दिन बल्ल विश्वविद्यालयको खास उद्देश्य पुरा हुने बताए । 

'अहिले प्रविधिको विकासले यति सजिलो बनाईदिएको छ कि किताबमा भएको कुरा जान्न त गाह्रै छैन, च्याट जीपीटिलाई सोधे खर्रर्रर्र भनिदिई हाल्छ' उनले भने 'तर, अध्ययन अनुसन्धानको कुरा फरक हो, हाम्रा विद्यार्थी किताबी रटान भन्दा अनुसान्धान केन्द्रित पढाईमा केन्द्रित छन् ।' 

विद्यार्थीले आफ्नो विषय यकिन गरे पछि प्राध्यापकहरुको सहकार्यमा अध्ययन अनुसन्धानमा केन्द्रित हुन्छन् । हरेक दिन कक्षामा उपस्थित हुनु पर्छ भन्ने छैन । तर, आफ्नो विषयको अनुसन्धानका लागि तोकिएको समयमा तोकिएको काम सक्नै पर्छ । ल्याबको पहुँच हरदम सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ ।

MBUST_lab

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि तह अनुसार अध्ययन वृत्ति (स्टाईपेण्ड) उपलब्ध गराईन्छ । स्नातकोत्तर तहका विद्यार्थीले मासिक १२ हजार रुपैंया पाउँछन् भने विद्यावारिधिका लागि मासिक २० हजार रुपैंया उपलब्ध गराईदैं आएको जोशीले बताए । 

स्थापना भएको शुरुको बर्ष सरकारले विश्वविद्यालयका लागि जम्मा ५६ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । विश्वविद्यालयले विभिन्न चन्दादाता र मनकारी सहयोगी मार्फत् तीन करोड रुपैंया संकलन गरेको छ । आवश्यक भवनका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत बजेट आएर विभिन्न चार वटा ब्लक बनेका छन् । 

MBUST

सरकारले यो बर्षका लागि चालु बजेट मार्फत् साढे आठ करोड विनियोजन गरेको छ । 

MBUST_2026
नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थी सहित प्राध्यापक र कर्मचारीहरुको सामूहिक फोटो

प्रतिक्रिया