Edukhabar
सोमबार, २६ माघ २०८२
गतिविधि

जहाँ अध्ययन, अनुसन्धान र अभ्यास गर्दै सिक्छन् विद्यार्थी

पहिलो दीक्षान्तमा विद्यार्थीका अनुभवसँगै स्थापना र सञ्चालनका संघर्षको बेग्लै स्मरण

आइतबार, २५ माघ २०८२

मकवानपुर - कृषि विषयमा स्नातक सकेपछि ताडी कालिकोटका धनकृष्ण आचार्य, उच्च शिक्षाका लागि ईजरायल जाने भए । सिक्दै कमाउँदै कार्यक्रम उनका लागि अवसर थियो । च्याउ खेतीका बारेमा अध्ययन सँगै केही कमाई पनि हुने भए पछि उनी ईजरायल लागे । विडम्बना, उता पुगे लगत्तै हमास र ईजरायलको युद्ध चर्कियो । ११ महिनाका लागि गएका आचार्य आफ्नो अधुरो सपना सहित एक महिनामै फर्कन वाध्य भए ।  

ईलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तरगतको कृषि विषयमा स्नातक सकेका आचार्यलाई अब के गर्ने ? कहाँ पढ्ने ? केही सुझेको थिएन । यही अन्योलका बिचमा उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयमा स्नातकोत्तरका लागि भर्ना आवेदन खुला गरेको थाहा पाए । आफ्नो अध्ययनको चाहना पुरा नभएर अन्योलमा परेको बेला यो सूचना उनलाई आफ्नै लागि आएको अवसर लाग्यो ।  

आईतबार चित्लाङस्थित विश्वविद्यालयमा आयोजित पहिलो दीक्षान्त समारोहमा प्रमाणपत्र हात परेपछि फुरुङ्ग मुद्रामा एडुखबरसँग आचार्यले भने ‘मेरो अधुरो पढाई पुरा त भयो नै अझै अघि पढ्ने अवसरको ढोका पनि विश्वविद्यालयले खुलाईदियो ।’

समुदायको सहयोगका लागि कृषि मार्फत जैविक कृषिको प्रवर्द्धन शिर्षकमा उनले गरेको अनुसन्धान पुरा भएसँगै उनले स्नातकोत्तर उपाधि पाएका हुन् । 

dhanakrishna_MBUST_2026
धनकृष्ण आचार्यले गरेको अध्ययन

‘अर्गानिक कृषि कसरी गर्ने, यसमा समुदायको सहभागितालाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा मेरो अध्ययन केन्द्रित थियो’ उनले भने ‘कृषक र विक्रेताहरुको सर्भे गरेर चुनौती पहिचान गर्ने काम सँगै, उत्पादन एवं बजारीकरणको समस्या पहिचान मेरो अध्ययनको निष्कर्श हो ।’ 

जैविक कृषि विषयकै स्नातकोत्तर तहमा थप दुई विद्यार्थी सवनम सुवेदी र शुसील राई पनि विश्वविद्यालयको पहिलो दीक्षान्तमा दीक्षित भएका छन् । सुर्खेतकी सुवेदीले गरेको काउलीमा लाग्ने गाँठे रोगको जैविक नियन्त्रणको अनुसन्धानले उनलाई स्नातकोत्तर उपाधि दिलाएको हो । 

आचार्यले पढेकै कलेज ईलाममा स्नातक सकेर स्नातकोत्तर अध्ययनका लागि विश्वविद्यालयमा भर्ना भएकी सुवेदी अब केही समय अध्ययन अनुसन्धानमा केन्द्रित हुने योजनामा छन् । 

sabnam_MBUST_2026
सवनम सुवेदीले गरेको अध्ययन

‘कृषिमा गर्नु पर्ने अध्ययन थुप्रै छन्, म केही समय औपचारिक अध्ययनलाई रोकेर अनुसन्धानमा केन्द्रित हुने योजनामा छु’ उनले भनिन् ‘बाली संरक्षणका क्षेत्रमा थप व्यवहारिक ज्ञान हासिल गरेपछि बल्ल थप औपचारिक अध्ययन अघि बढाउने सोच छ ।’ 

बैतडीको गोकुलेश्वर सामुदायिक क्याम्पसमा कृषिमा स्नातक सकेका हेटौंडा बसामडीका राईले किवी फलमा विभिन्न कलमी र अंकुरण प्रविधिको प्रभावकारिता विषयको अनुसन्धान गरेर स्नातकोत्तर उपाधि पाएका हुन् । बाबु बाजेहरुले गर्दै आएको कृषिलाई आधुनिक तरिकाले गर्न सक्दा उत्पादन बृद्धि सँगै आयआर्जन हुने ठानेर आफूले कृषि विषय रोजेको राई बताउँछन् । 

sushil_MBUST_2026
शुसील राईले गरेको अध्ययन

‘कृषि त हाम्रो पुख्र्यौली पेशा नै हो, तर यसलाई गर्ने विधि परिवर्तन गर्ने हो भने बल्ल आयआर्जनमा वृद्धि गर्न सकिन्छ भन्ने लागेर मलाई कृषि विषय पढ्न मन लागेको हो’ उनले भने ‘वितेका दुई बर्षमा गरेको अनुसन्धानले मलाई थप अनुसन्धान गर्नु पर्छ भन्ने लागेको छ, त्यसैले मेरो लक्ष्य त कृषि वैज्ञानिक हुने छ ।’ 

विश्वविद्यालयमा भर्ना भए देखि नै विद्यार्थी अनुसन्धानमा संलग्न हुन्छन् । प्राध्यापकहरुको भूमिका विद्यार्थीलाई सहजीकरण गर्ने मात्रै हुन्छ । अध्ययन, अनुसन्धान र अभ्यास गर्दै विद्यार्थीले सिक्छन् ।

MBUST_2026_student
पहिलो दीक्षान्तमा दीक्षित तीन विद्यार्थी

पहिलो बर्ष तीन जना स्नातकोत्तर र तीन जना विद्यावारिधिका विद्यार्थी रहेकोमा अहिले ४९ जना स्नातकोत्तर र १३ जना विद्यावारिधिका विद्यार्थी अध्ययनरत छन् । 

फरक मोडलको विश्वविद्यालय 

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साउन १८ गते विधेयक प्रमाणीकरण गरेसँगै विश्वविद्यालय स्थापनाको औपचारिक बाटो खुलेको थियो । दलगत राजनीतिक हस्तक्षेपले थिलथिलो भईरहेका विश्वविद्यालयहरुको भिडमा यो विश्वविद्यालय बोर्ड अफ ट्रष्टी (संरक्षण समिति) बाट सञ्चालन हुने अवधारणा सहित स्थापना गरिएको हो । यो अवधारणाका आधारमा स्थापना भएको यो नेपालकै पहिलो विश्वविद्यालय हो । अन्य विश्वविद्यालयमा प्रधानमन्त्री वा शिक्षामन्त्रीलाई कुलपति बनाउने व्यवस्था भए पनि यस विश्वविद्यालय ट्रष्टीले सञ्चालन गर्छ । विश्वविद्यालयको अध्यक्ष र उपाध्यक्ष चयन मात्रै हैन आवश्यक नीति नियम बनाउने काम पनि ट्रष्टीले नै गर्छ । 

आईतबारको दीक्षान्त समारोहमा मन्तव्य राख्दै विश्वविद्यालयका अध्यक्ष प्रा.डा. राजेन्द्रध्वज जोशीले विश्वविद्यालय ऐन निर्माणका बेलाको संघर्षको स्मरण मात्रै गरेनन् श्रोतको सिमितताका बिचमा भएको काम, चुनौती र उपलब्धिका बारेमा पनि चर्चा गरे । 

‘ऐनले नै दलगत राजनीतिक संलग्नताको व्यक्ति नराख्ने व्यवस्था गरेपछि विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त छ’ उनले भने ‘विश्वविद्यालयको उद्देश्य समृद्ध र समतामुलक समाज निर्माणका लागि जनशक्ति उत्पादन गर्ने हो, विश्वस्तरीय विश्वविद्यालय बनाउने हाम्रो दुरदृष्टि हो ।’ 

सरकारले दिएको सिमित श्रोतबाट मात्रै विश्वविद्यालय सञ्चालनमा कठिनाई भएको बताउँदै उनले विभिन्न संघ संस्था र व्यक्तिबाट प्राप्त सहयोगले विश्वविद्यालयले कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए । 

विश्व बैंकका पूर्व उच्च शिक्षा संयोजकका साथै बोस्टन कलेजका अनुसन्धान फेलो र चिलीको डिएगो पोर्टल्स विश्वविद्यालयका प्रा.डा. जमिल साल्मीको प्रमुख आतिथ्यमा विश्वविद्यालयले आफ्नो पहिलो दीक्षान्त समारोह आयोजना गरेको हो । समारोहमा बोल्दै उनले विश्वविद्यालयले गरेको प्रगती र लक्ष्यको प्रशंसा गर्दै उत्पादीत जनशक्तिले देशको आर्थिक वृद्धिमा योगदान गर्ने अपेक्षा व्यक्त गरे । 

MBUST_2026
प्रा.डा. जमिल साल्मी लाई मानार्थ उपाधि प्रदान गर्दै बोर्ड अफ ट्रष्टीजका अध्यक्ष पद्म ज्योति

विश्वविद्यालयको बोर्ड अफ ट्रष्टीजका अध्यक्ष पद्म ज्योति, सदस्यहरु क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व उपकुलपति एवं अनुसन्धानदाता प्रा.डा. सुजन फोर्टियर र चीनको सिंह्वा विश्वविद्यालयका चेयर प्रोफेसर र चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ प्रा. डा. सीराम रामकृष्ण लगायतले पनि विश्वविद्यालय एवं दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गरेका थिए । 

दीक्षान्तको औपचारिक कार्यक्रम पछि विश्वविद्यालयमा सञ्चालित कार्यक्रमहरुका बारेमा छुट्टा छुट्टै समूह बनाएर विद्यार्थी र फ्याकल्टिहरुको प्रस्तुतीकरण गरिएको थियो । विश्वविद्यालयमा हाल जैविक कृषि, वन्य जैविक स्रोत, दिगो पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र तथ्यांक विज्ञान विषयहरूमा स्नातकोत्तर र विद्यावारिधि तहमा अध्यापन भईरहेको छ । 

प्रतिक्रिया