Edukhabar
आइतबार, ०६ मंसिर २०८३
गतिविधि

विद्यालय, प्रधानाध्यापक र पालिकालाई सम्मान

प्रा.डा. सुरेशराज शर्मालाई मरणोपरान्त राष्ट्रिय शिक्षा पुरस्कार सहित सम्मान, गौतम र झालाई उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि प्रदान

शनिबार, ०५ मंसिर २०८३

जनकपुर - आधारभूत तथा माध्यमिक तहका १४ विद्यालय, १४ प्रधानाध्यापक र १५ पालिकालाई पुरस्कार सहित सम्मान गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ का अवसरमा प्रदान गरिएका सम्मानहरुमा राष्ट्रिय शिक्षा पुरस्कार र उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि छन् । 

सम्मेलनको उद्घाटन सत्रमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति स्व. प्रा.डा. सुरेशराज शर्मालाई मरणोपरान्त राष्ट्रिय शिक्षा पुरस्कार सहित सम्मान प्रदान गरे । यस्तै उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार अनलाइनखबरका दिनेश गौतम र अन्नपूर्ण पोष्टकी मणिका झालाई प्रदान गरिएको छ । पुरस्कारको राशी २५ हजार नगद रहेको छ । 

प्रधानाध्यापक पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा आधारभूत तहका प्रधानाध्यापकहरू मध्ये कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेसबाट प्रेमकुमारी यादव, बागमतीबाट बिनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर छन् । यस्तै माध्यमिक तहतर्फ कोशीबाट डा. इन्द्रमोहन झा, मधेसबाट गौरीशंकर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट छन् ।

विद्यालय पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयलाई प्रदान गरिएको छ । माध्यमिक विद्यालय तर्फ कोशीबाट पाँचथरको फिदिम मावि, मधेशबाट धनुषाको विदेह नगरपालिकाको जनता नमूना मावि बेलापट्टी, बागमतीबाट मकवानपुर हेटौंडाको जनप्रीय मावि, गण्डकीबाट तनहुँको दुलेगौंडा स्थित पञ्चदेवमुनी मावि, लुम्बिनीबाट गुल्मिी तम्घास स्थित सिद्धबाबा मावि, कर्णालीबाट सुर्खेतको त्रिपुरेश्वर मावि, सुदुर पश्चिमबाट दार्चुलाको धाप सिथत मालिकार्जुन मावि छन् । यस्तै उत्कृष्ट आधारभूत विद्यालय तर्फ कोशीबाट ताप्लेजुङको फुङलिङ सिथ्त मेवाराजा आवि, मधेशबाट पर्साको वीरगञ्ज स्थित मन मिश्र आवि, टेढा, बागमतीबाट चितवनको माडि स्थित  श्री आधारभूत विद्यालय, गण्डकीबाट नवलपुरको मध्यपुर नगरपालिका स्थित बेलहानीको सरस्वती आवि, लुम्बिनीबाट कपिलबस्तुको बाणगंगा स्थित सुर्योदय आवि चपरगाउँ, कर्णालीको हुम्ला सिथ्त बलभद्र आवि र सुदुरपश्चिमको बझाङ स्थित बालमन्दिर आवि छन् । 

संघले स्थानीय सरकार पुरस्कार अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका, प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका तथा उत्कृष्ट गाउँपालिकालाई पनि सम्मान गरेको छ । गाउँपालिका अन्र्तगत कोशीबाट उदयपुरको लिम्चुङबुङ, मधेशबाट धनुषाको मुखियापट्टि मुसहनीय, बागमतीबाट धादिङ्को बेनीघाट रोराङ्, लम्बिनीबाट गुल्मीको धुर्कोट, कर्णालीबाट रुकुम पश्चिमको सानीभेरी र सुदुर पश्चिमबाट अछामको तुर्माखाद छन् । यस्तै नगरपालिका अन्र्तगत कोशीबाट मोरङको सुन्दरहरैचा, मधेशबाट सर्लाहीको बागमती, बागमतीबाट काठमाडौको बुढानिलकण्ठ, गण्डकीबाट नवलपुरको गैंडाकोट, लुम्बिनीबाट कपिलबस्तुको शिवराज, कर्णालीबाट सुर्खेतको वीरेन्द्रनगर र सुदुरपश्चिमबाट कञ्चनपुरको बेदकोट छन् । यस्तै भरतपुर महानगरपालिकालाई पनि संघले सम्मान गरेको छ । 

शिक्षा क्षेत्रको विकास, सुधार, नेतृत्व, नवप्रवर्तन तथा रुपान्तरणमा योगदान पुर्याएका व्यक्ति एवं संस्थाहरुलाई सम्मान गरिएको संघका अध्यक्ष सुदाम गौतमले बताए ।

पुरस्कार र सम्मान प्राप्त गर्ने व्यक्ति र संस्था छनोट गर्न संघले प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे सहितको पाँच सदस्यीय समिति गठन गरेको थियो । 

शुक्रबारबाट शुरु भएको सम्मेलन सामुदायिक शिक्षा सुधारका लागि प्रतिवद्धता सहित आईतबार जनकपुर घोषणापत्र सार्वजनिक गरि सम्पन्न गर्ने योजना छ । सार्वजनिक शिक्षा सुधारका लागि कक्षा केन्द्रित मिसन आवश्यक रहेको संघको निष्कर्श रहेको गौतमले बताए । 

सम्मेलनमा शिक्षा क्षेत्रमा कृयाशिल राष्ट्यि, अन्तर्राष्ट्रिय व्यक्तित्वहरु सहित ८० वटा पाकिकाका प्रमुख र प्रशासकीय अधिकृत एवं प्रधानाध्यापक र शिक्षक गरी एक हजार बढीको सहभागीता रहेको संघले जनाएको छ । सम्मेलनमा विद्यार्थीको सिकाइलाई केन्द्रमा राखेर एआईदेखि विपदसम्मको सेसन राखिएको गौतमले बताए । सम्मेलनमा नीतिगत छलफल पनि भएका छन् ।

संघमा २२ हजार विद्यालय जोडिएको संघको दावी छ । ७७ जिल्लामा संघले आफ्नो कार्यसमिति विस्तार गरेको छ । 

प्रतिक्रिया