Edukhabar
बुधबार, ०७ असोज २०८३
गतिविधि

शैक्षिक संस्थामा विदा र परीक्षा समेत स्थगित गर्न निर्देशन

वर्षा र बाढीको जोखिमबाट सजग गराउँदै शिक्षा मन्त्तालयले बुधबार साँझ दुई छुट्टाछुट्टै सूचना जारी गर्दै जिल्ला स्थित एकाइलाई चार बुँदे निर्देशन दिएको छ । सार्वजनिक सूचना पनि जारी गरेको छ ।

बुधबार, ०७ असोज २०८३

काठमाडौ - वर्षा र बाढीको जोखिमका कारण शिक्षा मन्त्रालयले शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको हो । 

बुधबार साँझ मन्त्रालयले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै असोज ११ सम्मका परीक्षा समेत स्थगित गर्न भनको छ । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न भन्दै दिईएको चार बुँदे निर्देशनमा उल्लेख बुँदा यस प्रकार छन् :

१. सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन ।

२. सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन।

३. सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन ।

४. अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनुहुन।

यस्तै मन्त्रालयले यी विषयहरुलाई समेटेर सार्वजनिक सूचना समेत जारी गरेको छ । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मौसमको पूर्वानुमान भईरहेको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री बालेन्द्र शाहले बाटैबाट सजग रहन आह्वान गरेका छन् । प्रशासन सहित विभिन्न स्थानीय तहहरुले पनि सजगताको अपिल गरिरहेका छन् ।  

 

प्रतिक्रिया