काठमाडौ - शिक्षा पत्रकार समूहले २७ औं साधारण सभा एवं १३ औं अधिवेशनको अवसर पारेर संस्थापक अध्यक्ष राजन शर्मा सहित शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न चार व्यक्ति र एक संस्थालाई सम्मान एवं पुरस्कृत गरेको छ । शिक्षाका मुद्दा र विषयलाई मूलधारका सञ्चार माध्यम मार्फत् उजागर गर्ने उद्देश्यले २७ बर्ष अघि शर्माको अध्यक्षतामा समूहको गठन गरिएको थियो ।
'शिक्षा विट पत्रकारिता स्थापना र विकासमा सकृय रहँदै तीन दशक सम्म शैक्षिक उन्नयनका खातिर समाचार, बहस, पैरवी मार्फत् पुर्याएको योगदानको कदर स्वरुप' शर्मालाई सम्मान गरिएको समूहले जनाएको छ । सोमबार भएको कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सम्मान पत्र सहित शर्मालाई २५ हजार रुपैंया नगद समेत प्रदान गरेका थिए ।
शर्मा सहित काठमाडौ विश्वविद्यालयका अध्यापक एवं शिक्षाकर्मी जिलेसन साह, नुवाकोटको त्रिभुवन माविका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई पनि समूहले सम्मान गरेको छ । यसैगरी काठमाडौ स्थित रानीबारी माविकी छात्रा वेनिसा मग्रातीलाई पनि समूहले पुरस्कृत गरेको छ । उनलाई नवप्रवर्तनमा सकृय विद्यार्थीका रुपमा पुरस्कृत गरिएको समूहले जनाएको छ । संस्थागत तर्फ समूहले बालबालिका र शिक्षाका क्षेत्रमा कृयाशिल सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । उक्त सम्मान संस्थाकी शिक्षा सल्लाहकार डा. लक्ष्मी पौडेललाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद् माथेमाले शिक्षा भनेको केवल परीक्षा र जीपीए मात्रै नभएर समाज निर्माणको साधन भएको बताए ।
‘शिक्षाका कारण समाजमा विभेद बढिरहेको छ, खाडलको विकास भईरहेको छ’ उनले भने ‘शिक्षाका बारेमा सरकारको अवधारणा स्पष्ट हुनु पर्छ । शिक्षा भनेको समाज बनाउने साधन हो, समाज कस्तो बनाउने भन्ने कुरा विद्यालय शिक्षाबाटै शुरु गर्नु पर्छ ।’
कार्यक्रममा शिक्षाविद् डा. विष्णु कार्की, डा. जानुका बराल, शिक्षा मन्त्रालयका सहसचिवहरु शिव कुमार सापकोटा र चन्द्रकान्त भुसाल, समूहका पूर्व अध्यक्ष सुदर्शन घिमिरे, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसीईका अध्यक्ष लवराज ओली लगायतले शिक्षाका सवालका विभिन्न मुद्दा एवं बहस पैरवीका क्षेत्रमा समूहले पुर्याएको योगदानको सह्राना सहित शुभकामना व्यक्त गरे । समूहकी अध्यक्ष निर्जला कक्षपतीले गत दुई बर्षमा समूहले गरेको कार्यका बारेमा संक्षिप्त जानकारी गराएकी थिईन् ।
समूहको १३ औं अधिवेशनको बन्द सत्रले मध्यान्ह दैनिकका सम्पादक जनक नेपालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा देखापढीका रोशन क्षेत्री गाउँले, उपाध्यक्षमा न्युज २४ का नवराज चालिसे र महासचिवमा अन्नपूर्ण पोष्ट दैनिकका संजीप घिमिरे शुभचिन्तक सर्वसम्मत भएका छन् । यसैगरी एजुकेशनपाटीकी रोजिना थापा कार्की सचिव र ननस्टप खबरकी सविना बानिया कोषाध्यक्ष भएका छन् । सदस्यहरुमा अनलाईन खबरका कृष्ण सिंह धामी, नेपाल टेलिभिजनका अंजिर सिंह विक र कारेबार दैनिकका गोपाल संग्रौला सर्वसम्मत भएका छन् ।
प्रतिक्रिया