Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

५५ दिन पछि नयाँ शिक्षा मन्त्री

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौं - सत्ता गठबन्धन बदलिएसँगै ५५ दिन देखि खाली रहेको शिक्षा मन्त्रालयमा नयाँ मन्त्री आएका छन् । जनता समाजवादी पार्टिका संघीय परिषद् अध्यक्ष अशोककुमार राई शिक्षा मन्त्री भएका हुन् । १९५७ अगस्ट ३० मा उदयपुरमा जन्मेका राई लामो समय नेकपा एमालेको राजनीतिमा आवद्ध थिए । राई एमालेमा उपाध्यक्ष रहेकै समयमा उनी सहितको समूहले २०६९ सालमा पार्टी छाडेको थियो । जातीय पहिचानमा आधारित संघीयता सहितको नयाँ संविधान निर्माणका पक्षमा उभिएकाहरु एमालेले उक्त एजेण्डा प्रति विमती राखेसँगै राईको नेतृत्वमा पार्टीभित्र बलियो प्रभाव राख्ने जनजाति नेताहरू पार्टि छाडेर गएका थिए ।  

गत निर्वाचनमा एमाले सहितकै समर्थनमा राई सुनसरी–१ बाट निर्वाचित भएका हुन् । राईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले हराएका थिए । राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेका थिए । चुनावमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए । 

सत्ता भागवण्डामा शिक्षा र वन मन्त्रालय पाए पनि जसपाले राईलाई मात्रै सरकारमा पठाउने निर्णय गरेको हो । सरकारमा जान अन्य नेताहरुले आकांक्षा देखाए पछि अध्यक्ष उपेन्द्र यादवले यो चरणमा राईलाई मात्रै पठाउने निर्णय गराएका हुन् । 

दशदलीय नयाँ सत्ता गठबन्धन अनुसार शुक्रबार भएको सातौं पटकको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सत्ता गठबन्धनमा थुप्रै दल र दल भित्रका गुटहरु मिलाउन सकस हुँदा अझै पनि मन्त्रीपरिषद्ले पुर्णता पाउन भने सकेन । 

प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार सांसदलाई मात्रै मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकास मन्त्री भएकी छन् ।  ८ मन्त्रालय पाएको कांग्रेसले शेखर कोइराला समूहको असहमती पछि सबै मन्त्रीको नाम पठाउन सकेन । उक्त समूहले दुई मन्त्री स्वीकार नगर्ने बताए पछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको हो । 

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उप महासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट यस अघि भौतिक मन्त्री रहेका नारायणकाजी श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री भएका छन् भने शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भएका छन् । यस अघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेकी रेखा शर्मा कायम छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायमै छन् । यस्तै लोसपाबाट शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

यस अघि नै खानेपानी तथा सरसफाइ मन्त्री रहेका जनमतका अब्दुल खानले भने मन्त्री पदबाट राजिनामा बुझाएका छन् । जनमतले शुरु देखि नै उद्योग मन्त्रालयको माग गर्दै आएको थियो, मन्त्रीपषिद् पुर्नगठनमा आफूले रोजेको मन्त्रालय नपाएपछि खानले प्रधानमन्त्री दाहाललाई राजिनामा बुझाएका हुन् ।   

नयाँ संविधान जारी भएसँगै सम्पन्न दोश्रो आम चुनावमा गठबन्धन गरेर गएका दलहरु बिच पहिला को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विवाद भए सँगै पुस १० मा बनेको नयाँ सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टिले शिक्षा मन्त्रालयको नेतृत्व गर्ने मौका पाएको थियो । उक्त दलका सांसद शिशिर खनाल माघ ३ गते शिक्षा मन्त्री भएका थिए । 

तर, पुस ११ गते उपप्रधान सहित गृह मन्त्री भएका पार्टिका सभापति रवि लामिछानेले अमेरिका र नेपालको दोहोरो नागरिकता लिएकोले प्रतिनिधि सभा सदस्यका लागि योग्य नभएको ठहर सहित माघ १३ गते सर्वोच्च अदालतको फैसला आए पछि लामिछानेको पद गएको थियो । अदालतको फैसला पछि उक्त दलले सरकारमा सहभागी भएको ४२ औं दिन, माघ २२ गते सरकार छाड्ने निर्णय गरेको थियो । यो निर्णय सँगै मन्त्री भएको २० दिनमै खनालले राजिनामा बुझाएका थिए । 

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनादेखि शिक्षा सहित १६ मन्त्रालय आफैं चलाइरहेका थिए । 

राष्ट्रपति आफूले पाउनु पर्ने विषयमा भएको सहमति कार्यान्यन नगरेको आरोप सहित तत्कालिन सत्ता घटक नेकपा एमालेले फागुन १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । एमाले, राप्रपा, रास्वपाले पहिल्यै र जनमतले शुक्रबार मात्रै गरी चार वटै दलले पालैपालो सरकार छोडेपछि सरकारमा माओवादी केन्द्रका प्रधानमन्त्री दाहाल बाहेक चार मन्त्री मात्रै थिए । 

तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि अझै खानेपानी, कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद गरी ६ वटा मन्त्रालय दाहालसँगै छन् ।

प्रतिक्रिया