Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

सार्वजनिक शिक्षा अभियन्ता बने शिक्षा मन्त्री

मंगलबार, ०३ माघ २०७९

काठमाडौं - सार्वजनिक शिक्षा अभियन्ताका रुपमा कृयाशिल शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन् । चुनावका बेला बनेको तत्कालिन गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गरेसँगै गत पुस १० गते प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गरेको मन्त्रीपरिषद् विस्तारमा खनालले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।  

सार्वजनिक शिक्षाका पक्षमा कृयाशिल टिच फर नेपालका एक संस्थापक खनालले अमेरिकाको युनिभर्सिटि अफ विस्कन्सिन–म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । उनले ब्रिजपोर्ट विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्र र कूटनीतिमा स्नातक समेत गरेका छन् ।

नेपाल फर्कनु अघि उनी सर्वोदय श्रमदान अभियान अन्तर्गतको सर्वोदय यु.एस.ए मा कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । सर्वोदय गान्धीबाट प्रेरित एउटा सामाजिक अभियान हो । यो सन् १९५८ विद्यालयका शिक्षकले “कार्यमा करुणा” नारा सहित सुरु गरेका थिए । उक्त अभियानले बौद्ध दर्शन र गान्धीका आदर्शलाई अपनाउँछ । उक्त संस्था श्रीलंकाको सबै भन्दा ठुलो समूदायमा आधारित अभियान हो । यही अभियानको जगमा सर्वोदय श्रमदान नेपाल नामक स्वयंसेवी संस्था स्थापना गरेर उनको समूहले नेपालमा श्रमदान अभियान सुरु गरेको थियो । सोही कामको शिलशिलामा गाउँ गाउँ पुग्दा उनीहरुले बालबालिकाहरूको गुणस्तरीय शिक्षामा पहुँचको कमी देखे पछि सन् २०१२ मा टिच फर नेपाल स्थापना गरेका हुन् । यो संस्थाले नेपालका सामुदायिक विद्यालयमा भएको गणित र अँग्रेजी विषय शिक्षकको अभावलाई परिपूर्ति गर्न हरेक शैक्षिक सत्रमा युवा स्वयंसेवकहरु परिचालन गर्दै आएको छ । 

पछिल्लो समय टिच फर नेपालको आवद्धताबाट अलग भएका खनाल विभिन्न पालिकाहरुसँग मिलेर शिक्षाका मुद्धामा काम गर्दै आएका थिए । दाङको तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकारको रूपमा पनि उनले केही समय काम गरे । संविधान निर्माणसँगै स्थानीय सरकार मातहत भएको विद्यालय तहको अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उनको तर्क रहँदै आएको छ । 

तनहुँमा जन्मिएका खनालले सिद्धार्थ वनस्थलीबाट विद्यालय शिक्षा हासिल गरेका हुन् । विद्यालय तह पछि उनले विज्ञान विषयमा त्रिचन्द्र कलेजमा अध्ययन गरेका थिए । अमेरिका गए पछि ब्रिजपोर्ट विश्वविद्यालयमा उनले अन्तर्राष्ट्रिय कलेज सिनेटरको रूपमा विद्यार्थी राजनीति र कनेक्टिकट राज्य सभा (प्रदेस संसद) का सिनेटरसँग काम गरी अमेरिकी संसदीय अभ्यासहरूको बारेमा सिक्दै सिनेटरलाई नीति र निर्वाचन क्षेत्रका मुद्दामा सहयोग गरेको विवरण उनको व्यक्तिगत वेवसाईटमा उल्लेख छ । 

एक स्थानबाट अर्को स्थानमा सामान पुर्याईदिने सेवा प्रदायक कम्पनी पिक एण्ड ड्रपको सह–संस्थापक रहँदै गर्दा खनाल गत संसदीय निर्वाचनमा होमिएका थिए । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको घोषणापत्र निर्माण कार्यदलको सदस्यका रुपमा रहेका खनालले संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव लड्ने घोषणा गरेका थिए । चुनावको मुखमै भने उनले राष्ट्रिय स्वतन्त्र पार्टिको चुनाव चिन्ह घण्टि लिएर चुनावमा होमिने निर्णय लिएका थिए । उनी काठमाडौं–६ बाट प्रतिनिधि सभा चुनावमा विजयी भएका हुन् । 

तत्कालिन सत्ताधारी गठबन्धनका भिमसेनदास प्रधान र प्रमुख प्रतिपक्षी दल एमालेका सर्वेन्द्र खनालसँग चुनावी प्रतिस्पर्धा गरेका खनाल ५ हजार २ सय ९३ मतान्तरमा विजयी भएका हुन् । शिशिरका निकटतम प्रतिद्वन्दी सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका थिए भने शिशिर खनालले १४ हजार २ सय ४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । कांग्रेसका प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए । 

तत्कालिन गठबन्धन भत्केर बनेको नयाँ गठबन्धनका ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट गत पुस ११ मा स्वतन्त्र पार्टिका अध्यक्ष रवी लामिछानेलाई उपप्रधानमन्त्री सहित ८ मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका थिए । गत पुस २६ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपा लगायत दलले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले मंगलबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । यस अघि सोमबार भएको सत्ता साझेदार दलको बैठकले एमालेले ८, माओवादीले ४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्री र एक राज्य मन्त्री, राप्रपाले ३ मन्त्री र एक राज्य मन्त्री र जनमत पार्टीले एक मन्त्री पाउने गरी भागबण्डा मिलाए पछि मन्त्रिपरिषद विस्तार गरिएको हो । 

 विस्तारित मन्त्रीपरिषद्मा राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् भने सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भएकी थिइनन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यस अघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका र हरि उप्रेती रक्षा मन्त्रीका भएका छन् । बिष्णु पौडेल यस अघि नै उपप्रधान सहित अर्थ मन्त्री भईसकेका छन् भने 

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामा खनाल सहित श्रममा डोलप्रसाद अर्याल र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भईसकेका थिए । 

प्रतिक्रिया