काठमाडौं - अन्तरिम सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका डा. महावीर पुनको पदवहालीको लागि शिक्षा मन्त्रालयले तयारी पुरा गरेको छ । केशरमहल स्थित मन्त्रालयमा मन्त्री पुनको कोठा तयार पारिएको छ ।
जेनजी विद्रोहका बेला सिंहदरबार स्थित मन्त्रालयको पार्किङ्मा भएको आगलागीका कारण ध्वाँसो भएपछि मन्त्रालय केशरमहल सारिएको थियो ।
तल्ला तहका कर्मचारीहरुले सफा गरेर बस्न लायक बनाएका थिए ।
पढ्नुहोस् : भुईं पुच्छ्दै गरेका कर्मचारी : नयाँ शिक्षामन्त्री सिंहदरबारमै !
तर, उच्च कर्मचारीहरुले 'ध्वाँसोमा बस्न मन नगरेपछि' मन्त्रालयको काम केशरमहलबाट शुरु गरिएको हो ।
सोमबार नियुक्त भएका पुन सहित चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रालयमा पदवाहाली गर्ने तयारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पुन सहित अनील कुमार सिन्हा, मदन परियार र जगदीश खरेल मन्त्री नियुक्त भएका हुन् ।
जेनजी विद्रोहको पाँचौँ दिनमा गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो नियुक्तिको १० औं दिनमा आईतबार साँझ नयाँ मन्त्रीहरुको नाम टुङ्गो लगाएकी थिईन् ।
पढ्नुहोस् : विज्ञानमा मात्रै रुची गरेका पुन शिक्षा मन्त्री
यस अघि स्वास्थ्य मन्त्रीका रुपमा नाम टुङ्गो लागेकी डा.संगीता कौशल मिश्राको नाम भने अन्तिममा काटिएको छ । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा भएको स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको भन्दै अनुसन्धान चलिरहेकोले उनको नाम अन्तिममा काटिएको जनाईएको छ ।
प्रतिक्रिया