काठमाडौं - अमेरिका पढ्न चाहने नेपाली विद्यार्थीले बिना धितो शैक्षिक ऋण पाउने भएका छन् । एमपावर फाइनान्सिङ (MPower Financing) नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोष्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख ( झण्डै एक करोड ३० लाख नोपली रुपैयाँ) सम्मको शैक्षिक ऋण सुविधा उपलब्ध गराउने भएको हो । कुनै पनि सम्पत्ति धितो राख्नुपर्ने वा कोसाइनर (ग्यारेण्टर) खोज्नुपर्ने झण्झटबिनै विद्यार्थीले ऋण पाउन सक्ने उक्त संस्थाले जनाएको छ ।
'बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्, जसले धेरै योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ । यही समस्यालाई समाधान गर्न आफूहरुले काम शुरु गरेको हो' उक्त संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अघि बंगलादेश, पाकिस्तान र अफ्रिकी मुलुकका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ 'अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको छ । यसले विशेषगरी विज्ञान प्रविधि, ईञ्जिनियरिङ र गणित विषयका साथै, व्यवसाय र व्यावसायिक अध्ययन गर्ने विद्यार्थीलाई लागि उपयोगी हुने छ ।'
पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ । हाल ३२ हजार भन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यो संख्या एकै वर्ष ४२ प्रतिशतले वृद्धि भए पछिको हो ।
आफूहरुको मूल्याङ्कन प्रणाली परम्परागत भन्दा फरक भएको जनाउँदै उक्त संस्थाले विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्तिमाथि होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्ने जनाएको छ । संस्थाका अनुसार विद्यार्थीले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन् । जसमा ट्युसन शुल्क मात्र होइन, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ । आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको साथै स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेकाले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको दावी छ ।
संस्थाले ऋण मात्र होइन, छात्रवृत्ति, भिषा प्रकृयामा सहयोग र करिअर तयारीका लागि समेत कार्यक्रम सञ्चालन गर्छ ।
प्रतिक्रिया