Edukhabar
सोमबार, २२ बैशाख २०८२
विदेशमा शिक्षा

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षामा सभामुखको रुलिङ

केआईआईटीमा अध्ययनरत प्रिसा साहको मृत्युको सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन

सोमबार, २२ बैशाख २०८२

काठमाडौं - विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाको सुनिश्चित गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा गत बिहीबार मृत भेटिएकी विद्यार्थी प्रिसा साहको मृत्यु बारे आवाज उठाए पछि घिमिरेले उक्त रुलिङ गरेका हुन् । 

सांसदले उठाएको विषयमा सदनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यो विषय राष्ट्रको सम्वेदनशीलता र जिम्मेदारीसँग जोडिएको गम्भिर प्रश्न भएको उल्लेख गरेका छन् । 

'उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीको एक पछि आर्के मृत्युको घटना राष्ट्रको सम्वेदनशीलता र जिम्मेदारीसँग जोडिएको एउटा गम्भिर प्रश्न पनि हो' रुलिङ गर्दै घिमिरेले भने 'सरकारलाई यस घटना प्रति गहिरो चासो लिदैं सत्य तथ पत्ता लगाउन, सम्बन्धित पक्षसँग सम्वाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देश गर्दछु ।' 

साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न गराउन आवश्यक व्यवस्था गर्न समेत उनले सरकारलाई निर्देशन दिएका छन् ।  

केआइआइटीमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । 

उक्त विषयमा सोमबारको बैठकको आकस्मिक समयमा सांसदहरु अमरेश कुमार सिंह, देबेन्द्र पौडेल, रामकृष्ण यादव, निर्मला कोइराला लगायतले उक्त घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन संसद मार्फत् सरकारको ध्यानाकर्षण गराए पछि सभामुखले रुलिङ गरेका हुन् । 

प्रतिक्रिया