काठमाडौं - त्यसो त शनिबार नै ५० भन्दा धेरै कर्मचारी जुटेर शिक्षा मन्त्रालयका केही कोठा सफा गरी बस्न लायक बनाईसकेका थिए ।
आईतबार साविककै शैलीमा कार्यालयहरु खुल्ने भए पछि मन्त्रालयमा पुग्ने कर्मचारीको संख्या उल्लेख्य देखिन्थ्यो ।
कार्यालय खुल्ने समयमै एडुखबर प्रतिनिधि मन्त्रालय पुग्दा केही कर्मचारी हातमा पोछा र झाडु लिएर सफाईमा जुटिसकेका थिए ।
शनिबारको सफाईमा नआएका अधिकाँश कर्मचारी मन्त्रालयको मूल ढोकामा गफिएर र केही भने आगलागिले ध्वस्त भएका सवारी साधनको भिडियो / फोटो खिच्दै थिए ।
प्राङ्गणमा उभिएका शिक्षा सचिव चुडामणि पौडेल मन्त्रालयको माथिल्लो तला सम्म पुगेको ध्वाँसो हेर्दै फोनमा कसैसँग कुरा गर्दै थिए । प्रधानमन्त्रीको पदवहालीमा सहभागी हुन खबर आएकोले तयार भएर आएको बताउँदै उनले भने, 'मन्त्रालयमा त जता छोयो त्यतै कालो मात्रै छ, नयाँ मन्त्री आए पछि कहाँ कसरी पदवहाली गराउने हो भन्ने पो अवस्था छ ।'
सिंहदरबार आउनु अघि शिक्षा मन्त्रालय भएको केशरमहलमा लगेर मन्त्रीको पदवहाली गराउने बारेमा छलफल भईरहेको उनले बताए ।
'त्यो पनि शिक्षा मन्त्रालयकै सम्पत्ति हो, त्यहाँ नै पदवहाली गराउने कि भन्ने सोच छ' उनले भने 'यहाँ कपडामै पनि कालो लाग्ला भन्ने छ, भित्रको ध्वाँसोले सासै फेर्न पनि पो गाह्रो हुन्छ ।'
तोडफोडले मन्त्रालयमा भएको क्षती र मन्त्रालय सार्ने तयारी पछि एडुखबरले शनिबार विहानै लेखेको यो टिप्पणी पनि पढ्नुहोस् : शिक्षा मन्त्रालय सार्ने हैन 'ध्वाँसो पुछ्दै' काम गर
त्यसो त शनिबार जुटेका कर्मचारीले मन्त्रीको कोठा बस्न लायक बनाईसकेका छन् । कर्मचारीले सफा गरे पछि मन्त्रीको कोठाको अवस्था यस्तो छ ।
'पहिला कै जस्तो चिटिक्क र मगमग वास्ना आउने नभए पनि यत्ति भए पछि बस्न मिल्ने भएको छ' आईतबार पुच्छ्दै गरेका एक कर्मचारीले भने 'अहिलेको अवस्था नै फरक हो नी, फरक अवस्थामा पनि पहिलेकै जस्तो खोज्न मिल्छ र ?
अधिकाँश कर्मचारी मन्त्रालयका कोठा - कोठा हेर्दै फर्कर्दै गरेका थिए ।
तर, सफाईमा जुट्ने मध्ये केही अधिकृत स्तरका भए पनि अधिकाँश साना तहका कर्मचारी छन् । माक्स लगाएर हातमा पञ्जा र झाडु पोछा सहित जुटेका ति कर्मचारीहरु मध्ये एक जनाले भने 'नयाँ आउने मन्त्रीलाई यहीँ पदवहाली गराउनु पर्छ ।'
किन ?
'आफू कसरी मन्त्री बनेको हो भन्ने कुरा सम्झनु परेन ?' ति महिला कर्मचारीले प्रश्न गर्दै भनिन् 'हरेक दिन यही ध्वाँसो र गन्धमा बसे पो याद होला, नत्र त बिर्सिहाल्छन् नी !'
सफाईमा जुटेका कर्मचारीहरु आफ्नो नाम बताउन चाहँदैनन् । सफाईमा नजुट्नेहरुले आफूहरुलाई 'बाठो पल्टिएको' रुपमा ब्याख्या गरिरहेकाले नाम नछाप्न उनीहरुको आग्रह छ ।
'आफूले काम गर्ने मन्त्रालयको यो हालत हुँदा मेरो त मन पोल्यो र सफाईमा लागेको हुँ' एक कर्मचारीले भने 'तर हाकिम सावहरु मन्त्रीलाई केशरमहलमा लगेर पदवहाली गराउने भन्दै हुनुहुन्छ हामीलाई चित्त बुझेको छैन, नयाँ मन्त्री यही ध्वाँसो र कालोमा बस्नु पर्छ ।'
सचिव पौडेलको कार्यकक्ष पनि सफा भईसकेको छ । साविककै जस्तो मगमग नभए पनि बस्न लायक बनाएका छन् ति कर्मचारीले ।
मन्त्रालयको प्यासेजमा उज्यालोको अस्थायी प्रवन्ध गरिएको छ ।
तत्कालका लागि ईण्टरनेट र पानीको समस्या भए पनि अन्त सार्ने समय र खर्चले त्यो यहीँ गर्न सकिने सफाईमा जुटेका ती कर्मचारीहरुको तर्क छ ।
मन्त्रालय भनेको हरेक दिन सेवाग्राही आउने ठाउँ हैन, मन्त्री र कर्मचारी बस्ने ठाउँ हो जहाँ जहाँ सफा हुन्छ त्यही त्यहीँ बसेर काम गर्दै सफा गर्दै गर्दा केहि नबित्ने ती कर्मचारीहरुको तर्क छ ।
'यस्तो बेला यताबाट उता उता बाट उता सार्नु भनेको खर्च मात्रै बढाउनु हो' सफाईमा जुटेका एक कर्मचारीले भने 'देश नै खरानी भएको बेला खर्च बढाउन किन परेको हो कुन्नि ?'
अर्का एक जनाले थपिहाले 'जतिबढी काम उति बढी कमिसन, अनि कहाँबाट हुन्छ ?'
भुईंमा लागेको कालो धुन समेत कर्मचारी जुटिरहेका छन् ।
प्रतिक्रिया