Edukhabar
शनिबार, २८ भदौ २०८२
गतिविधि

शिक्षा मन्त्रालय सार्ने हैन 'ध्वाँसो पुछ्दै' काम गर

खरानी माथि कुर्चि राखेर काम गर्न पर्ने भए पनि हिम्मत गर, शिक्षा मन्त्रालयको अवस्था बस्नै नहुने गरी खत्तम पनि छैन

शनिबार, २८ भदौ २०८२

काठमाडौं - भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध जेन - जीले सुरु गरेको विद्रोहको जगमा मुलुकमा नयाँ सरकार गठन भएको छ । विद्रोहको पाँच दिन पछि, शुक्रबार अबेर सुशीला कार्कीले प्रधानमन्त्रीको पद सम्हालेकी छन् । संसद बिघटन भएको छ । आउँदो फागुन २१ गते मध्यावधि निर्वाचनको मिति तय भएको छ । 

विद्रोहका बेला भड्किएको भिडले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि आगजनी गरेका कारण  प्रधानमन्त्री कार्कीको पदभार गृह मन्त्रालयका लागि बनाईएको नयाँ भवनमा गराउने तयारी छ । 

अब नियुक्त हुने मन्त्रीहरुले पनि पदभार ग्रहण गर्ने नै छन् । तर कहाँ ? यसै गरी नयाँ बनेका चिटिक्कका ठाउँमा कि जे जस्तो हालतमा छन् त्यहीँ सरसफाई गरेर काम चलाउने 'मोडल'मा ? 

आगजनीको चौथो दिन शुक्रबार मुख्य सचिव एकनारायण अर्याल सहितको टोलीले सिंहदरबारको निरिक्षण गर्दा शिक्षा सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति भएको यकिन गर्यो । बसेर काम गर्नै नसक्ने गरी क्षती भए पछि विकल्पमा अर्को स्थान खोजी भइरहेको मन्त्रालयका सचिव चुडामणि पौडेलले बताए ।

मन्त्रालयको नियमित काम सुरु गर्न दुई ठाउँ कि केशरमहलको केशर पुस्तकालय भएको भवन वा  सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भवनलाई विकल्पको रुपमा सोचिएको उनले बताए ।  

विद्रोहले गरेको विध्वंशको आर्थिक क्षती यकिन हुन बाँकी नै छ, तर विद्रोहको अन्तर्यमा जारी राजनीतिक र प्रशासनिक माखे साङ्लोले आजित बनाएको रोष छ । भ्रष्टाचार, अनियमितता र बेथितिका विरुद्ध भएको विद्रोहलाई सम्बोधन गर्न पनि जे जस्ता हालतमा छन् तीनै संरचनामा बसेर सरकारले काम गर्नु पर्छ । ता कि हरेक क्षण उक्त विद्रोहको स्मरण आईराखोस् । र, राजनीतिक एवं प्रशासनिक क्षेत्र, सुधारका लागि यत्नशील बनिरहोस् ।

शिक्षा मन्त्रालयकै कुरा गर्ने हो भने तल्लो तलामा रहेको सर्तकता केन्द्रमा अलिक बढि क्षती भएको देखिन्छ । तर शिक्षा मन्त्रालयका कोठाहरुमा सिसा र फर्निचर तोडफोड बाहेक बस्नै नसक्ने अवस्था छैन ।

मन्त्रीको कोठामा भएका टेवलका सिसा फुटेका छन्, कुर्चि टेवल सग्लै छन् ।

mantri kurchi

कोठाको फोहर मन्त्रालयकै कर्मचारीले एक दुई दिनमा सफा गरेर सक्ने बताएका छन् । मन्त्रीको सचिवालयमा पनि बस्नै नसक्ने हालत देखिदैंन । पार्किगंमा राखिएका गाडी र बाईकमा भएको आगलागिले निकालेको ध्वासोँले भित्ताहरु कालो भएका छन् त्यो पुछ्ने, सफा गर्ने गर्दा भईहाल्छ ।

सचिव पौडेलको कक्षको टेवुल ढालिएको छ, झ्याल र दराजका केही सीसा फुटाईएको छ । 

cm room

कालो मुस्लोको ध्वाँसो चौथो तला सम्म छ मन्त्रालयको बाहिर पनि छ भित्रबाट पनि गएको छ तर, चौथो तलामा हुल गएको देखिदैंन ।

final 4 kalo bhitta

मन्त्रीको सचिवालयसँग जोडिएको विकास सहायता समन्वय शाखामा केही भएको छैन । उच्च शिक्षा महाशाखा, योजना तथा अनुगमन महाशाखामा भुईँभरी कालो छ । भित्ता पनि कालो छ तर बसनै नसक्ने हालतको तोडफोड भएको छैन । विद्यालय शिक्षा महाशाखामा पनि खासै केही भएको छैन । विज्ञान तर्फको भर्याङ्मा क्षती भएको छ । तर, चावि लगाएका कोठा केही भएकै छैन । 

मन्त्रालयका ४० वटा गाडि मध्ये १८ वटा ध्वस्त भएका छन् तत्कालिन मन्त्री रघुजी पन्तको निवास भैंसेपाटिमा रहेका तीनवटा गाडि पनि ध्वस्त भएका छन् ।

अहिलेको विषम परिस्थितीमा मन्त्रालय सार्ने भन्ने कुरा असान्दर्भिक भएको भन्दै मन्त्रालयका केही कर्मचारीले आलोचना गरेका छन् । एकातिर राज्य कोषको यत्रो क्षती अर्कातिर वेथिती विरुद्धको विद्रोहका बिचमा सामान्य अवस्थाको जस्तो सोच गलत भएको उनीहरुको तर्क छ । मन्त्रालयका कार्यालय सहयोगी लगायतका कर्मचारीले सफाई गर्छौ भन्दा माथिल्ला तहका कर्मचारीहरुले सुनेको नसुन्यै गरेको एक कर्मचारीले गुनासो गरे ।  

'सीसा फुट्नु र टेवल पल्टनुले केही हुन्न, सर सफाई गर्ने र बस्ने काम गर्ने हो भन्ने सोच्न जरुरी 'छ मन्त्रालयका एक कर्मचारी भन्छन् 'सार्दा त फाईदै फाईदा हुन्छ, खरिद हुन्छ, कमिसन हुन्छ, फाईल कुर्चि ढुवानीमा त्यस्तै हुन्छ के के हुन्छ के के ।'

हिजोको जस्तो सामान्य अवस्था भएको भए फरक हो अहिलेको अवस्था विषम हो यस्तो अवस्थामा मन्त्रालयले फरक तरिकाले सोच्नु पर्छ । नयाँ आउने मन्त्रीलाई कालो ध्वाँसो सहितको टुटेफुटेकै कोठामा स्वागत गर्नु पर्छ । ता कि यो विद्रोहको स्मरण भईरहोस् । 

तत्कालका लागि पानीको प्रवन्ध, बिजुली र ईण्टरनेटका तारहरु जलेका कारण कार्य सम्पादनमा अप्ठ्यारो हुन सक्छ । मन्त्री आउन पनि केही समय लाग्ने नै देखिएको छ । त्यतिञ्जेलमा जोडजाड पार्न सकिन्छ । 
दैनिक सेवाग्राही आउने निकाय नभएका कारण जहाँ जहाँ सफा हुँदै जान्छ त्यहाँ त्यहाँ बसेर कर्मचारीहरुले काम गर्न सक्छन् । मुख्य कुरो सोच्ने शैली बदल्नु पर्यो, सामान्य अवस्थाकै जस्तो सोचले भएन कुरा त्यत्ति हो ।  

moest_mantri_dhoka

सर्वोच्च अदालत सफाईमा कर्मचारी जुटे, प्रहरी कार्यालय सफाईमा प्रहरी जुटे, पालिकाहरुका कार्यालय सफाईमा त्यहीँका कर्मचारी जनप्रतिनिधि जुटेका खबर आईरहेका छन् । शिक्षा मन्त्रालयको सफाई गर्न कर्मचारी जुट्नु हुँदैन ? सफाई गर्न कर्मचारी परिचालन गर । 

४० वटा गाडि जलेको निउँमा तत्काल एउटा पनि नयाँ गाडी नकिन । सचिव र मन्त्री बाहेक कसैलाई निजी गाडि सुविधा नदेउ । आफू चढेको गाडि जलेको हो भने अब नयाँ किनेर राज्य कोषलाई भार पर्छ म चढ्दिन भन्ने हिम्मत गर । कर्मचारीलाई घरबाट ल्याउने लाने गर्न चलाईएका मन्त्रालयका गाडि बाटै आवत जावत गर्दा केही बिग्रन्न, साना तहका कर्मचारी जीवन भर सार्वजनिक यातायात चढेरै काममा गईरहेकै छन् । ठूला कर्मचारीलाई बैठक तिर जान समय व्यवस्थापन गर्नु पर्ला त्यतिखेरका लागि मन्त्रालयमा २२ वटा गाडि त सग्लै छन् !  

फुटेका झ्याल र ध्वाँसो हेर्दै कार्य सम्पादन गर्न प्रतिवद्ध हुनु पर्ने समय हो यो । 

'हरेक दिन दैनिक देख्न पर्यो नी धुवाँ अनी पो कसरी आएको हो भन्ने थाहा होला' अर्का एक कर्मचारीले भने 'भित्र बस्नै सकिन्न भने कम्पाउण्डमा टेण्ट हालेर काम गर्ने हिम्मत गर्ने बेला हो यो ।' 

शिक्षाका लागि समयानुकुल नीति निर्माण गर्ने, दैनिक शासकीय शैक्षिक प्रवन्ध चुस्त गर्ने जस्ता काममा यस्तो शैलीले नैतिक तागत दिने छ । नयाँ गठित सरकारको मुख्य दायित्व अमन चयन सहित मध्यावधि निर्वाचन गर्नु हो । यो संगै संघीयता अनुकुलको शैली व्यवहारमा उतारेर संविधान जीवित गर्ने कार्यभार पनि छ । शिक्षा अधिकार कार्यान्वयन गर्ने चुनौतीको चाँङ उस्तै अजङ्गकै छ । विशिष्ट परिस्थितीमा हुन लागेको नयाँ मन्त्रीको ईण्ट्रिको शैलीले आगामी दिनको छनक दिने छ । मन्त्रालयका उच्च कर्मचारी र आउने मन्त्री यस प्रति गम्भिर बनुन् । 

प्रतिक्रिया