Edukhabar
शनिबार, २८ भदौ २०८२
गतिविधि

जेन - जीको विद्रोह पछि नयाँ सरकार गठन, शिक्षाको जिम्मा तत्कालका लागि कार्कीलाई नै

यो सँगै देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ । मन्त्रिपरिषद्को पहिलो निर्णयमा प्रतिनिधि सभा विघटन

शुक्रबार, २७ भदौ २०८२

काठमाडौं - भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्ध जेन जीले सुरु गरेको विद्रोहको पाँच दिन पछि देशले नयाँ प्रधानमन्त्री पाएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । यो सँगै देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ । 

शुक्रबार राती अबेर राष्ट्रपति पौडेलबाट कार्कीले सपथ ग्रहण गरे लगत्तै शिक्षा मन्त्रालयको जिम्मा पनि तत्कालका लागि उनैको भागमा राखिएको छ ।  

नवगठित सरकारलाई ६ महिना अर्थात् फागुन भित्र निर्वाचन गर्ने जिम्मेवारी तोकिएको छ ।

सामाजिक सञ्जालमाथि तत्कालिन केपी ओली सरकारले लगाएको प्रतिवन्धको विरोधबाट शुरु भएको जेन जीको अभियान माथि सरकारले चरम दमन गरे सँगै चर्किएको आन्दोलनले ओली सत्ताच्युत भएका थिए । भदौ २३ गते भएको प्रर्दशनमा सत्ताबाट भएको चरम दमनले १९ जना युवाको ज्यान गएको थियो । त्यसकै प्रतिशोधमा भोलिपल्ट युवाहरुले शुरु गरेको प्रर्दशन हुलदलंगामा बदलिएसँगै सरकारी निकाय, नेताहरुका घर, व्यापारिक भवन सहितमा अन्धाधुन्ध आक्रमण गरिएको थियो । 

प्रर्दशन बढ्दै गए पछि राजिनामा दिएका ओली सहितका मन्त्रीहरु अहिले सम्म सार्वजनिक भएका छैनन् । उनीहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा राखेको बताईएको छ । शान्ति सुरक्षा कायम गर्ने जिम्मा नेपाली सेनालाई नै दिईएको छ । यस अघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलकै संयोजनमा आन्दोलनरत पक्ष र राष्ट्रपति बिचको छलफलमा कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमती भएको थियो । जेन जीको विद्रोहलाई समर्थन गरेका काठमाडौं महानगरका मेयर बालेन शाहले पनि कार्कीका नाममा सहमती जनाएका थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । २०७२ सालमा जारी नेपालको संविधानमा धारा ७६ अनुसार सरकार गठन हुने प्रवन्ध छ ।  तर जेन–जी विद्रोहका कारण सृजित विशिष्ट अवस्थाका आधारमा संविधानले राष्ट्रपतिलाई दिएको अधिकार प्रयोग गरि नयाँ सरकार गठन गरिएको हो । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । उक्त उपधारामा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख सहित  ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने उल्लेख छ । यी दुवै धारालाई आधार बनाउँदै कार्कीको नियुक्ति गरिएको हो । 

नवनियुक्त प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयमा प्रतिनिधि सभा विघटन गरेकी छन् । शपथ पछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको मागलाई सरकारले सम्बोधन गरेको हो । अन्तरिम मन्त्रिपरिषद्मा अन्य सदस्य नियुक्त हुनै बाँकी भएकाले उनी एक्लैको बैठकले गरेको संसद विघटन गर्ने निर्णयको सिफारिसमा राष्ट्रपतिले हस्ताक्षर गरेका छन् ।  

संसद विघटनको निर्णय प्रति समकालिन मुख्य दल र नेताहरुले विरोध जनाएका छन् । 

पहिलो महिला प्रधानन्याधीशका रुपमा न्याय पालिकाको नेतृत्व गरेकी कार्की अवकासको आठ बर्ष पछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला भएकी छन् । 

न्यायपालिकामा रहँदा उनले प्रभावकारी कार्य सम्पादन र इमान्दार छवि बनाएकी थिईन् । 

२००९ साल जेठ २५ गते किसान परिवारमा जन्मिएकी कार्कीका श्रीमान् प्रजातान्त्रिक आन्दोलनका सक्रिय पुराना नेता दुर्गा सुवेदी २०३० सालमा नेपाली काँग्रेसले गरेको विमान अपहरणको घटनामा संलग्न थिए ।

प्रतिक्रिया