Edukhabar
बुधबार, २७ साउन २०८३
विचार / विमर्श

बालमैत्री शिक्षण, खुसी विद्यार्थी, अब्बल  सिकाइ

हाम्रो शिक्षण शैली परम्परागत, शिक्षक केन्द्रीत तथा परीक्षा उन्मुख छ । यो शैली डिवेको भाषामा 'हिजोको शैली' हो । यसले विद्यार्थीको भविष्य निर्माण गर्न सक्दैन ।

बुधबार, २७ साउन २०८३

शिक्षण भनेको विद्यार्थी भित्र रहेको सम्भावनालाई मनोवैज्ञानिक, प्रेरणादायी तथा प्राविधिक कार्य द्वारा बाहिर ल्याउने कला हो । यो कलाले विद्यार्थीलाई उत्तर मात्र सुनाउँदैन, उत्तर खोज्ने प्रेरणा जाग्रित गराउँछ । सिर्जनशील क्षमता हासिल गराउँछ । शिक्षण किताबी ज्ञान हस्तान्तरण गर्ने शास्त्रीय प्रवचन होइन, बरु विद्यार्थीमा रहेको सम्भावनालाई उजागर गर्ने कार्य हो । बालमैत्री शिक्षणले उत्तर रटाउँदैन,  उत्तर खोज्ने क्षमताको विकास गराउँछ । विद्यार्थीमा परीक्षा उत्तीर्ण गर्ने क्षमता मात्र होइन, जीवनमा आइपर्ने चुनौतिहरु सामना गर्न सक्ने विवेक, असल चरित्र र आत्मविश्वास निर्माण गर्नु पर्दछ । यस अर्थमा बालमैत्री शिक्षणले विद्यार्थी खुसी हुन्छन्,  खुसीका साथ हने सिकाइ अब्बल हुन्छ । चीरस्थायी हुन्छ । 

अमेरिकी शिक्षाविद् जोन डिवेले भनेका छन् ‘यदि हामीले आजका बालबालिकाहरुलाई हिजोको शैलीले पढायौं भने उनीहरुको भविष्य खोसिरहेका हुन्छौं ।’ 

हाम्रो देशको शिक्षण संस्कृति विद्यार्थीलाई सिर्जनशील, मौलिक प्रतिभाको विकास तथा अनुसन्धानमुखी बनाउनु भन्दा बढि परीक्षामा अङ्कको दवाव, गल्ती गर्दा हुने अपमान, दण्ड, सजाय तथा शिक्षक प्राध्यापकका विचारहरु निष्कृयरुपमा सुन्नु पर्ने पद्दतीमा आधारित छ ।

डिवेको भनाईलाई आधार मानेर हेर्दा शिक्षण सिकाइलाई आधुनिक, सिर्जनात्मक, बाालमैत्री तथा बदलिँदो समयअनुकुल बनाउनु पर्दछ भन्ने कुरा बुझ्नु पर्दछ । हाम्रो देशको शैक्षिक नीतिले बालमैत्री विद्यालय र विद्यार्थी केन्द्रित शिक्षणलाई  प्राथमिकता दिएको भएता पनि राज्यको यो नीति कक्षा कोठाहरुमा लागु भएको अवस्था छैन । हाम्रो शिक्षण शैली परम्परागत, शिक्षक केन्द्रीत तथा परीक्षा उन्मुख छ । यो शैली डिवेको भाषामा हिजोको शैली हो । यसले विद्यार्थीको भविष्य निर्माण गर्न सक्दैन । 

हाम्रो देशको शिक्षण संस्कृति विद्यार्थीलाई सिर्जनशील, मौलिक प्रतिभाको विकास तथा अनुसन्धानमुखी बनाउनु भन्दा बढि परीक्षामा अङ्कको दवाव, गल्ती गर्दा हुने अपमान, दण्ड, सजाय तथा शिक्षक प्राध्यापकका विचारहरु निष्कृयरुपमा सुन्नु पर्ने पद्दतीमा आधारित छ । यस प्रकारको शिक्षणले विद्यार्थीको मन प्रफुल्ल हुन सक्दैन । विद्यार्थी भित्र रहेको उत्साह जाग्न सक्दैन । विद्यार्थी अन्तरआत्मादेखि खुसी हुन सक्दैन । वेखुसी मनको बोझसंग आर्जन गरेको शिक्षा अन्तत प्रभावकारी हुन सक्दैन । 

वैज्ञानिक अलवर्ट आइन्सटाइनले भनेका छन् ‘मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो ।’

बालबालिकाहरुको हृदयको आवाजलाई नसुनीकन गरेको शिक्षण प्रभावकारी हुन सक्दैन । शिक्षकमुखी प्रवचन हुन्छ । दार्शनिक रुशोले, ‘विद्यार्थीलाई एउटा सिङ्गो पुस्तकको रुपमा हेरि शिक्षकले त्यो पुस्तकरुपी विद्यार्थीका प्रत्येक पेजहरु पढेको हुनु पर्दछ, भनेका थिए । 

विद्यार्थीको सिकाइको क्षमता एउटै स्तरको हुँदैन । उनीहरुको सिकाइ क्षमता, पूर्व सिकाइ, उमेर, घरयासी वातावरण, व्यक्तिगत तनाव वा अन्य कारणहरुले उनीहरु दुःखी भएका हुन्छन् । यस अर्थमा शिक्षकले बालबालिकाहरुको समस्याहरुलाई बुझ्न सक्नु पर्दछ ।

रुशोको भनाईको अर्थ के हो भने विद्यार्थीमा भएका आन्तरिक तथा वाह्य समस्याहरुको पहिचान गर्न आवश्यक हुन्छ । विद्यार्थीका समस्याहरुको ख्याल नै नगरी एकतर्फी रुपमा गरिने शिक्षण भारी बोकी रहेको व्यक्तिलाई अर्को भारी थपिदिने कार्य जस्तै हो । यस कोणबाट हेर्दा शिक्षकले विद्यार्थीलाई भारी थपिदिने कार्य गर्नु हुँदैन । शिक्षकहरु विद्यार्थीका समस्याहरु बिसाउने चौतारी बन्नु पर्दछ । 

विद्यार्थी शारिरीक तथा मानसिक रुपमा अध्ययनमा तयार नभएसम्म शिक्षण सिकाइले सार्थकता पाउँदैन । सिकाइृमा विद्याार्थी प्रफल्ल हुन सक्दैन । विद्यार्थीको भारी मन र तनावका बीच गरिने शिक्षण विद्यार्थीमैत्री हुँदैन । बालमैत्री शिक्षणको प्रमुख हिरोको रुपमा रहेका शिक्षक प्राध्यापकहरुले  विद्याार्थी खुसी तथा तयार बनाएर मात्र शिक्षण गर्नु पर्दछ । त्यसो त समग्र शैक्षिक वातावरणलाई सकारात्मक, उल्लासमय तथा विद्यार्थी केन्दिीत बनाउनको लागि शिक्षकहरुको मात्र भूमिकाले पुग्दैन । विद्यालय, शैक्षिक प्रशासन, व्यबस्थापन समिति, अभिभावक र समुदायको पनि प्रत्यक्ष वा परोक्ष्य रुपमा भूमिका हुन्छ । विद्यालयले सुरक्षित, समावेशी तथा भेदभाव रहित शैक्षिक वातावरण निर्माण गर्नु पर्दछ भने अभिभावकहरुले बालबालिकाहरुको लागि पढ्ने, लेख्ने सहज वातावरण बनाउनु पर्दछ ।

विद्यालय वा कक्षाकोठा भित्र विद्यार्थीले आफ्नो क्षमता, आत्मसम्मान, प्रसन्नता तथा जिज्ञाशाले भरिएको शैक्षक गतिविधि हुन आवश्यक ठानिन्छ । 

विद्यार्थीको सिकाइको क्षमता एउटै स्तरको हुँदैन । उनीहरुको सिकाइ क्षमता, पूर्व सिकाइ, उमेर, घरयासी वातावरण, व्यक्तिगत तनाव वा अन्य कारणहरुले उनीहरु दुःखी भएका हुन्छन् । यस अर्थमा शिक्षकले बालबालिकाहरुको समस्याहरुलाई बुझ्न सक्नु पर्दछ । शिक्षक विद्यार्थीको समस्या पैदा गर्ने व्यक्ति हुनु हुँदैन । समस्या समाधानको सहजकर्ता बन्न सक्नु पर्दछ । विद्यार्थीलाई सकारात्मक तथा प्रेरित बनाउनका लागि गुरुजनमा राम्रो चालचलन, उदाहरणीय व्यक्तित्व, सभ्य, सुशील, योग्य, मिठो बोली, स्नेहीपूर्ण व्यबहार, सहनशील, धैर्यवान, नेतृत्वसीप, पक्षपात रहित व्यबहार र सहयोगी व्यक्तित्व लगायतका प्राज्ञिक गुणहरु विद्याार्थीले अनुभव हुनेगरी अभ्यासमा लागु गर्नु पर्दछ । 

समाज परिवर्तनशील छ । समयले सान्दर्भिक शिक्षा र शिक्षण सिकाइको अपेक्षा गर्दछ । आजको शिक्षाको लक्ष्य केवल परीक्षा उत्तीर्ण गराउन वा प्रमाणपत्र दिलाउनको लागि मात्र हुनु हुँदैन । आज आर्जित शिक्षाले व्यक्ति, समाज वा राष्ट्रमा  भोलि आईपर्ने समस्याहरु समाधान गर्न सक्ने क्षमता हासिल गर्न सक्नु पर्दछ । आजको शिक्षा यो दिशामा छैन ।  

रटान गर्ने विधि र परीक्षामुखी शिक्षण शैलीले विद्यार्थीको आप्mनो क्षमता उजागर हुन सक्दैन । ब्राजिलका महान शिक्षाविद् पोउलो फ्रेईरेले ‘शिक्षा ज्ञान भर्ने प्रकृया होइन, मानव भित्र लुकेको सम्भावनालाई उजागर गर्ने प्रकृया हो, भनेका छन् ।’ पाउलोको भनाईलाई आधार मान्ने हो भने शिक्षा बालबालिकाको मष्तिष्कमा सूचना वा ज्ञान मात्र थुपार्ने माध्यम बन्नु हुँदैन । विद्यार्थीमा जिज्ञाशा, सिर्जनशीलता र आत्मविश्वासलाई उजागर गर्न सक्ने क्षमताको विकास गराउनु पर्दछ । यसो गर्दा विद्याार्थीलाई प्रश्न सोध्न, आफ्नो विचार व्यक्त गर्न र आप्mनो क्षमतालाई प्रष्फुटन गर्ने अवसर प्रदान हुन्छ । शिक्षकले एकतर्फी रुपमा बोकाई दिएको ज्ञानरुपी भारीको थकानमा विद्यार्थी सुस्ताउनु हुँदैन । उनीहरुलाई स्वतः स्पर्श उत्सुकता, जान्ने जिज्ञाशा र अध्ययन गर्ने प्रेरणा जगाउनु पर्दछ ।  

शिक्षा मनोविद बेञ्जामिन ब्लुमले, ‘हरेक बालबालिकाहरुको सिक्ने क्षमता भएता पनि उनीहरुले प्राप्त गर्ने अवसर, समय र सहयोगले सिकाइको स्तर निर्धारण हुन्छ ।’ भनेका छन् । 

सामान्यतया कुनै पनि बालबालिका जन्मजात कमजोर हुँदैनन्, भन्ने गरिन्छ । फरक क्षमता भएका बालबालिकाहरुमा पनि कुनै न कुनै क्षमता लुकेको हुन्छ । परन्तु उसले प्राप्त गर्ने वातावरण र अवसरको आधारमा सिकाइको स्तर फरक पर्दै जान्छ । विद्यार्थीलाई उनीहरुको गति, क्षमता र रुची अनुसार ज्ञान सिक्ने र सिकाउने काम गर्न पर्दछ । 

अन्त्यमा, विद्यार्थी जीवनको यात्रामा कतिपय समयमा बालबालिकाहरु पारिवारिक झमेला, अभाव, प्रेरणाको कमी, साथी संगतको प्रभाव, उमेर, आवेग, झै झगडा, प्रेम, विछोड, घृणा, असक्षमता, उदासिपन जस्ता आन्तरिक तथा बाह्य कारणहरुले उनीहरुलाई दुःखी बनाएको हुन्छ । यी र यस्ता समस्याहरुको खोज, उत्खनन् तथा समाधान गर्नको लागि विद्यालय तथा शिक्षकहरुले परिणाममूखी  भूमिका निर्वाह गर्नु पर्दछ । शिक्षण सिकाइमा खुसी विद्यार्थी, खुसी विद्यार्थीबाट अब्बल सिकाइ र अब्बल सिकाइबाट गुणस्तरीय शिक्षा । यो चक्र स्थापित गर्न विद्यार्थीलाई खुसी बनाएर सिर्जनात्मक शिक्षण गर्नु आजको अनिवार्य सर्त हो ।

प्रतिक्रिया